PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

इरानपछि बेलायतका स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण



पहिलोपोस्ट

इरानपछि बेलायतका स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं : बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। डोरिसलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि चिकित्सकको निगरानीमा घरमै क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ।

कन्जरवेटिभ पार्टीकी सांसद समेत रहेकी ६२ वर्षीया डोरिसले भनेकी छिन्, 'मेरो कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको छ। म आफ्नै घरमा अलग बसिरहेकी छुँ। तपाइहरु सबै सुरक्षित रहनुस्।' आफ्नी ८४ वर्षीया आमालाई समेत खोकी लागेको र परीक्षणको क्रममा रहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छिन्।

कोरोना संक्रमण हुनुअघि डोरिस प्रधानमन्त्री बोरिस जोन्सनसहित विभिन्न मानिसको सम्पर्कमा थिइन्। स्वास्थ्यमन्त्रीलाई नै संक्रमण देखिएपछि बेलायतमा यसबारे अनुसन्धान सुरु भएको छ।

बेलायतमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जना संक्रमित भएका छन्। संसारका सय देशमा पुगेको कोरोनाबाट मर्नेको संख्या ४ हजार नाघेको छ।

यसअघि इरानका उपराष्ट्रपति, उपस्वास्थ्य मन्त्री, फ्रान्सका संस्कृति मन्त्रीलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो। कोरोनाबाट इरानमा सासंदको समेत मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell