बालकुमारीको वाग्मती किनारमा एक हुल मानिस देखिन्छन्। ढुङ्गामा आकृति कुँदिरहेका उनीहरु धादिङबाट यहाँ आएर छिना र हम्मर चलाइरहेका छन्। दक्षिणकालीबाट ल्याइएका ठूला ढुङ्गाहरुमा उनीहरुले 'भगवान'का आकृति देख्छन् र त्यसैलाई आकार दिन्छन्। अर्थात्, यिनीहरु भगवान जन्माइरहेका छन्।
पुर्ख्यौली पेशा नभए पनि काजी लामाले ढुङ्गामा यस्तै आकृति देखिरहेका छन्। १५ वर्ष भयो उनले ढुङ्गालाई देवता बनाउन थालेको। आफूमात्र होइन, सिंगै परिवार उनीसँगै छिना र हथौडा लिएर उत्रिएका छन्। साथै केही कामदारहरु पनि उनीसँग जुटेका छन्।
उनीहरुको शिल्पीले तयार हुने मूर्तिहरु काठमाडौंमात्र होइन, देश र विदेशतिर पनि उत्तिकै जान्छ। ढुङ्गामा भगवानका आकृतिसँगै शालीक र शिलालेखहरु पनि बनाउन यो टोली खप्पिस छ। त्यसैले उनीहरुलाई कामको भ्याइ नभ्याइ छ। उनीहरु अर्डर पाएपछिमात्र ढुङ्गामा आकृति निकाल्न तयार हुन्छन्। त्यसैले एउटा मूर्ति १ हजार रुपैयाँदेखि ३० लाख रुपैयाँसम्मको तयार गरेका छन् उनीहरुले।
उनीहरुको श्रम र ढुङ्गामा प्रतिमूर्तिको खोजी देख्दा भूपी शेरचनाका 'मेरो चोक' कविताका लाइन याद आउँछ -
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ