PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रहरीको रेकीमा रहेको बाँस्कोटाको घरमा कसरी भयो विस्फोट? विप्लव समूहका नेता पक्राउ



पहिलोपोस्ट

प्रहरीको रेकीमा रहेको बाँस्कोटाको घरमा कसरी भयो विस्फोट? विप्लव समूहका नेता पक्राउ

काठमाडौं : भक्तपुरको थिमिमा पौने ४ आना बराबरको जग्गामा केही समयदेखि एउटा घर बन्दै थियो। बन्दै गरेको घरमा धेरैको नजर परेको थियो, किनभने त्यो बन्दै गरेको घर थियो पूर्व सञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुल बाँस्कोटाको।

घुस प्रकरणमा बाँस्कोटाको अडियो सार्वजनिक भएपछि झनै त्यस घरको चर्चा चुलिएको थियो। अरु मात्र होइन केही दिनदेखि घरमा सुरक्षाकर्मीको पनि चासो बढेको थियो। घर प्रहरीको सुरक्षा नजर भित्र नै थियो। तर बुधवार बिहानै करिव ७ बजेर ४० मिनेटमा सोही घरमा विस्फोट भयो।

विस्फोटका कारण घरको पर्खालमा सामान्य क्षति हुन पुग्यो। घरमा कोही नबस्ने र मानिसको मुभमेन्ट नभएको कारण मानवीय क्षति भने भएन। तर प्रहरीको सुरक्षा हुँदा हुँदै विस्फोट भएको प्रहरीले नै दाबी गरिरहेको छ। 'हामीले पूर्वअनुमान गरेका थियौं। सुरक्षाकर्मी पनि खटाएको हो तर सुरक्षा कहाँ कमजोर भयो हामी अनुसन्धान गर्छौं,' महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले भने।

प्रहरीकै आधारमा भन्ने हो भने पहिले नै कुनै घटना हुनसक्ने प्रहरीलाई संकेत आइसकेको थियो। त्यसैले प्रहरीले केही सिभिल प्रहरीसमेत परिचालन गरेको थियो। तर, बुधबार प्रहरीको आँखा छलेर विस्फोट भयो। विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। 'अहिलेसम्म विप्लवतिर नै आशंका छ। अनुसन्धान भइरहेको छ,' एसपी प्रधानले भने।

त्यसो त प्रहरीको आशंकाको कारण विप्लवतिर हुनुमा यसअघिका 'ट्रेन्ड सेट' घटनालाई पनि लिन सकिन्छ। किनकी भ्रष्टाचार तथा अनियमितताका घटनामा मुछिएका हाइप्रोफाइल व्यक्तिका सम्पतिमा विप्लवले विस्फोट गर्दै आएको देखिन्छ।

यसअघि विप्लव समूहले अख्तियार दूरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त लोकमानसिंह कार्कीदेखि पछिल्लो समय ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरसम्मको विस्फोटमा विप्लवकै संलग्नता देखिएको छ। यस घटनामा पनि विप्लवले जिम्मा लिइसकेको छ। प्रहरीले अनुसन्धानको लागि एक जना विप्लव कार्यकर्ता देव गुरुङसमेत नियन्त्रणमा लिइसकेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वादबाहिर आएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रेसर कुकर बम विस्फोट भएको खुलेको छ। रिमोटको सहयोगमा विस्फोट गराएको देखिन्छ। प्रहरीले घटनास्थलबाट कुकरको टुक्रा र रिमोटसमेत बरामद गरेको दावी गरेको छ। 'रिमोट जस्तो देखिन्छ तर रिमोट नै भन्न सकिने अवस्था भने छैन। तर प्रेसर कुकरमा विस्फोटक पदार्थ राखिएको देखिन्छ,' एसपी प्रधानले भने।

बाक्लो बस्ती र नजिकै पार्क भए पनि घरमा मानिस आएर कुकर राखेको अहिलेसम्म देख्ने कोही भेटिएका छैनन्। घटनास्थल वरपर सिसि क्यामरासमेत जोडिएको देखिएको छैन।

विप्लव समूहको गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको छ। यस अवधिमा प्रहरीले समूहका १५ सयभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell