PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आफ्नै बाबुसित अपहरणको अभिनय : फिरौती माग्ने छोरा रकमसहित पक्राउ



अनन्तराज न्यौपाने

आफ्नै बाबुसित अपहरणको अभिनय : फिरौती माग्ने छोरा रकमसहित पक्राउ

विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ३ बाँसबारी बस्ने शिवनारायण महतोका २४ वर्षीय छोरा मुकेशकुमार महतो फागुन २३ गते अन्दाजी १० बजे बिहान घरबाट निस्किए।

मुकेश घरबाट हिँडेको करिब एक घण्टापछि अर्थात् ११ बजेतिर बाबु शिवनारायणको मोबाइलमा फोन आयो। फोन छोरा मुकेशले नै गरेका थिए। तर, फोन यस पटक पहिलेको झै सामान्य भने थिएन।

‘म अपहरणमा परेको छु। अपहरणकारीले ३० लाख रुपैयाँ फिरौती मागेका छन् र नदिए ज्यान मार्ने धम्की दिइरहेका छन्,’ फोनमा छोराको आवाज सुनेपछि बुबाको होसहवास नै उड्यो।

के गर्ने?

कसलाई भन्ने?

तत्काल कुनै निर्णय नै गर्न सकेनन्।

शिवनारायणले घटनाको भोलिपल्टमात्र प्रहरीलाई यसबारे जानकारी गराए।

अपहरणमा परेका भनिएका मुकेशले २३ र २४ गते आफूलाई सिराहाको लाहानमा राखिएको जानकारी आफ्ना बाबुलाई दिएका थिए। त्यस्तै, २५ गते धनुषाको जनकपुर र २६ गते कोशी ब्यारेको बोर्डर छेउमा राखेको मोबाइलबाटै बाबुलाई जानकारी गराए।

फागुन २६ गते बिहान मुकेशले बाबुलाई फोनमा भनेका थिए, ‘हामीले २१ लाख रुपैयाँ बुझाएमा अपहरणकारीले मलाई छाड्नेछ।’

ठेक्कापट्टा र ढुङ्गा, गिट्टी, बालुवाको काम गर्ने शिवनारायणले अपहरणकारीले भनेअनुसार नै विराटनगर ४ मा पर्ने नहरनेरको झ्याङमा १८ लाख नगद र ३ लाखको चेक राखिदिए।

यसपछि शिवनारायणकहाँ मुन्सी काम गर्ने मोरङ बुढीगङ्गा गाउँपालिका वडा नम्बर ३ बाँसबारी बस्ने २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो। कृष्ण फिरौतीको रकमसहित पक्राउ परेका हुन्।

तर, प्रहरीले घटनाको अनुसन्धान गर्दै लैजाँदा मुकेशले आफ्नै बाबुसित अपहरणको अभिनय गरेर फिरौती लिएको रहस्योद्घाटन भयो।

फिरौतीको रकमबाट उनले १ लाख १० हजार सापटी चलाएबापत् आकाश यादवलाई तिरेका रहेछन्। सुनसरीको स्यार्सेकाली आयल डिस्ट्रिब्युटर्सलाई २५ हजार तिरेका रहेछन्। त्यस्तै लाहान १ बस्ने वर्ष २० की प्रीति चौधरीलाई १० हजार दिएको देखियो। फिरौतीको रकम उठाउने कृष्णले २ हजार खर्च गरेको पाइएको छ। त्यसबाहेक १६ लाख ५३ हजार र ३ लाखको चेक वरामद भयो।

प्रहरीमा मुकेशले दिएको बयानअनुसार उनले १ वर्षअघि ५ लाख सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नुपरेको थियो र अरू ५० लाखको कागज गर्नुपरेको थियो। उक्त ५० लाख नतिरेमा साहूले ज्यान मार्ने धम्की दिएको छ।

मुकेशले घरपरिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले कृष्ण र मुकेश दुवैलाई मुलुकी अपराध संहिता अनुसार आपराधिक लाभ प्राप्त गरेको अभियोगमा मुद्दा चलाउने मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर लिम्बूले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell