
काठमाडौं : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण धमाधम नेपाली फिल्मको प्रदर्शनदेखि छायांकनसम्म स्थगित भइरहेका छन्। जसले गर्दा फिल्मकर्मीहरु मारमा परेका छन्।
सरकारले सार्वजनिक भेला, समारोह तथा कार्यक्रमहरु नगर्न आव्हान गरेपछि फिल्मकर्मीहरुले छायांकनदेखि प्रदर्शनसम्म स्थगित गरेका हुन्।
हालसम्म कोरोना त्रासका कारण फिल्म ‘नीरफूल’ र ‘म यस्तो गीत गाँउछु २’ गरी दुईवटा फिल्मको प्रदर्शन स्थगित भइसकेको छ। प्रदर्शनको संघारमा दुवै फिल्मको प्रदर्शन मिति स्थगित भएको हो।
‘निरफूल’को प्रदर्शन मिति पहिलो पटक परिवर्तन भएको भने होइन। यसअघि फागुन ३० गते प्रदर्शन हुने भनिएको फिल्म आगामी चैत ७ गते प्रदर्शनमा ल्याउने भनिएको थियो। तर, अब उक्त मितिमा पनि फिल्म प्रदर्शन नहुने भएको छ। सर्वसाधरणको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदर्शन पछि सारिएको फिल्मका निर्देशक फूलमान बलले बताए।
त्यसैगरी कोरोनाका कारण केही छायांकनरत फिल्महरुको सुटिङ पनि रोकिएका छन्। तर, फिल्म ‘ए मेरो हजुर ४’को निर्माण टिमलाई भने कोरोनाको कुनै प्रभाव देखिएको छैन। हाल काठमाडौं उपत्यका बाहिर फिल्मको सुटिङ चलिरहेको छ। झरना थापा निर्देशित यस फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहनेछन्।
नेफ्टा अवार्ड स्थगित
कोरोनाको त्रासले गर्दा चैतको लागि तय भएको नेफ्टा अवार्ड अनिश्चित भएको छ। आयोजक चलचित्र प्राविधिक संध नेफ्टाले केही दिनअघि विज्ञप्ति जारी गर्दै फागुन २७ लाई तय भएको मनोनयन सार्वजनिक कार्यक्रम पनि यथास्थितिमा गर्न असमर्थ रहेको उल्लेख गरेको थियो।
उक्त अवार्ड नेफ्टा र ड्रिम हाई नेपाल प्रालिको संयुक्त आयोजनामा भ्रमण वर्षलाई लक्षित गर्दै नेपालमा नै अवार्ड कार्यक्रम हुने तय भएको थियो।