काठमाडौं : राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था आवश्यक भएको बताएका छन्। बुधवार राष्ट्रिय सभा गृहमा भएको एकीकरण घोषणा कार्यक्रममा उनले राष्ट्रपतिको पद कुनै पार्टीको गुटले उपयोग गर्ने पद बनेको बताए।
डा लोहनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप समेत लगाए। जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको उनको आरोप थियो।
‘अहिलेको सरकारले त्यसलाई दुरुपयोग गरेर त्यसमा शोषण गर्ने त्यो आर्थिक प्रतिगमन हो। त्यसको विरुद्धमा आवाज उठाउन खोज्यो भने बन्देज गरेर मान्छेलाई बोल्न नदिने प्रयास भएको छ, त्यो राजनीतिक प्रतिगमन हो’, उनले भने।
अध्यक्ष लोहनीले नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको बताए।
हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको अध्यक्ष लोहनी बताए। हिन्दु धर्मका नाममा जात, छुवाछुत, को तल को माथि भन्ने विकृतिहरु फैलिएको भन्दै त्यसलाई निर्मुल पार्न पार्टी एकता भएको उनले बताए।
नेपाली कांग्रेसले पनि प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको उनले आरोप लगाए। पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न आफूहरु तयार रहेको उनले बताए।