काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलिय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताए।
उनले भने, ‘अहिलेको सरकार बहुदलिय परिपाटीको इतिहासमा सबैभन्दा शक्तिशाली छ। नेपाली जनताले सरकारलाई भारी बहुमत दिए। त्यो सरह अरु कसैले बहुमत बहुदलिय कालमा प्राप्त गरेको थिएन। त्यो बहुमत प्राप्त सरकारले ठूलो काम गर्छ, विकासको क्षेत्रमा कायापलट गर्छ भन्ने नेपाली जनताको आश र भरोसा थियो। तर, त्यसको प्रतिकुल सरकारले २ वर्षको अवधिमा जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चियो।’
सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने नारा दिएपनि अहिलेको सरकार भ्रष्टाचारले ‘डुङडुङ’ गन्हाएको उनले बताए।
अध्यक्ष राणाले न्यायालयलाई पार्टीको भर्तिकेन्द्र बनाएर जनतालाई कानुनी शासन पाउनु भनेको ‘कागले बेल पाकेको हेर्या जस्तै भयो’, भन्दै टिप्पणी गरे। उनले पार्टी एक भएर अगाडी बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले एकता सम्भव भएको समेत बताए। पार्टी एकता गरेर लामो यात्राको सुरुवात भएको उल्लेख गर्दै उनले अहिलेका पार्टीहरुले गर्न नसकेका काम राप्रपाले गर्ने बताए।