PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

राप्रपा एकताका  ७ रोचक दृष्य

राप्रपा एकताका  ७ रोचक दृष्य

प्रकाश भण्डारी/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता घोषणा भयो, सभागृहमा। समारोहमा सहभागी हुने निम्तोमा लेखिएको थियो- कार्यक्रमको समय-दिउँसो १२ बजेर ४५ मिनेट। साढे १२ बजे नै त्यहाँ पुग्दा कार्यक्रम स्थल भरिभराउ थियो। सहभागीलाई सिट पाउन मुस्किल। मञ्चका तीन पङ्ति र सबैभन्दा अघिल्तिरको कुर्सीहरु खाली। आधा घण्टा ढिलो गरी सुरु भएको कार्यक्रम तनावपूर्ण र केही रोचक रह्यो।

कमल थापा र पशुपति शम्शेरको टोपीको एकै रङ

निमन्त्रणा पत्रमा थियो- दिउसो सबा एक बजे कार्यक्रम सुरु हुने। तर, राप्रपाका शीर्ष नेता नै देखिएनन् त्यति बेलासम्त त। मन्चमा उनीहरुलाई बस्न राखिएको कुर्सी रित्ता थिए। सब १ बजे नेता आउने क्रम सुरु भयो।

तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी सँगै झुल्किए दिउँसो १ बजेर १८ मिनेटमा। दायाँ पशुपति र बायाँ प्रकाशचन्द्रलाई राखेर बीचमा बसे कमल थापा। थापा र जबरको टोपीको रङ उस्तैउस्तै देखिन्थ्यो तर लोहनीको भने फरक।

राजेन्द्रको आक्रोश, कमलको उमेर व्यङ्ग्य

राप्रपाका नेता दीपक बोहोरा पछि बोलेका राप्रपाका नेता राजेन्द्र लिङदेनले नेतृत्वको चर्को आलोचना गरे। उनले त्यसैक्रममा तीनै अध्यक्षको नाम लिएर पार्टी तहसनहस बनाएको आरोप लगाए।

'म एक जना राजेन्द्र लिङदेनलाई बचाउनु भएको छ। साथीहरु कहाँ पुगे? तपाईँहरुले पार्टी फुटाउने आफ्नो स्वार्थका लागि? तपाईँहरुको स्वार्थको जाँतोमा हामी पिसिएका छौं।'

आक्रोशपूर्ण तरिकाले प्रस्तुत भएका उनले भाषण गर्दा तीन अध्यक्ष भने निराश मुद्रामा देखिन्थे। तीनै जनाले टाउको निहुराएर बसे उनी बोलुन्जेल। उनी पछि बोल्ने पालो पाएका कमल थापाले उमेरलाई लिएर व्यङ्ग्य गरे।

'मेरो सबै कुरामा प्रतिस्पर्धा भए पनि एउटा कुरामा प्रतिस्पर्धा छैन। उहाँहरुले मेरोभन्दा धेरै भोटो फटाउनु भएको छ। म यस हिसाबले उहाँहरुसँग प्रतिस्पर्धा गर्दिन,' उनले भने।

थापाले यसो भन्दा बाँकी दुई अध्यक्ष हासिरहेका थिए। र, सभास्थल पनि हाँसोले गुन्जिएको थियो।

दायाँतिर पृथ्वीनारायणको फोटो र राजतन्त्रको नारा

राजसंस्थाको वकालत गर्दै आएको राप्रपाले आज पनि राजतन्त्रवादी देखाउन भरपुर प्रयास गर्‍यो। कमल थापाले आफ्नो भाषणमा आक्कलझुक्कल राजसंस्था भने पनि पशुपति शम्शेर राणाले पटकपटक राजसंस्थाको नाम दोहोर्‍याए। उनले राजसंस्था नै पार्टीको लाइने भएको भन्न समेत भ्याए। अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले त तर्क नै गरे, 'बेलायतमा के छ? अहिलेको परिवेशमा के राजसंस्था चाहिँदैन। माफ गर्नुहोला मैले राजतन्त्र भनेको छैन।'

उनीहरुले राजतन्त्रवादी देखाउन दायाँतिर पृथ्वीनारायण शाहको पूर्ण कदको तस्विर राखेका थिए। वाग्मती प्रदेश सभा सदस्य रिना गुरुङले त जय राजतन्त्र भनेर नारा नै लगाइन्। उनले नारा लगाइरहदा कमल थापा र पशुपति शम्शेर खासखुस गरिरहेको देखिन्थ्यो।

डिस्प्ले बोर्डको माग र भुईँमै कार्यकर्ता

तीन अध्यक्ष नआउँदै सभागृह खचाखच थियो। भित्र भरिएर बाहिरसम्म उभिएका थिए, कार्यकर्ता। हलको बीचमा हिँड्न छाडिएका दुई बाटोमा समेत बसेका थिए धेरै। सञ्चालिकाले कार्यक्रमको औपचारिक रुपमा सुरुवात भएको घोषणा गरेपछि पछाडिबाट नारा लाग्यो - बाहिर डिस्प्ले बोर्ड हाल।'

केहीबेर सभाहल कोलाहल भयो।

र, प्रदेश सभा सदस्य रिना गुरुङ बोल्न थालेपछि मात्रै शान्त भयो, माहोल। यतिन्जेलसम्म कार्यक्रमस्थल गञ्जागोल भइसकेको थियो।

कुर्सीका पछाडि नामका स्टिकर

भाषणका क्रममा राप्रपाका नेता राजेन्द्र लिङदेनले नेताहरुलाइ आक्रोश पोख्दै भने, 'तपाईँहरुले कार्यक्रम सकिएपछि कसलाई कहा राखिको थियो भनेर टर्चर दिने होइन, कार्यकर्तालाई पार्टी बलियो बनाउनेतिर लाग्नुस्।'

सायद्, त्यही भएरै होला कार्यक्रममा मन्चका सबै कुर्सीका माथि नाम लेखेको स्टिकर टासिएको थियो। सबैले त्यही राखिएको स्टिकरकै आधारमा आशनग्रहण गरे।

कोरोनाको चर्चा तर गर्लाम गुर्लुम अँगालो

सभा हलमा पस्ने बित्तिकै धेरैले भन्थे- 'आ मामा... कति मान्छे।' अनि कार्यकर्ताले जवाफ दिन्थे- हाम्रा मान्छे नि टन्न छन् नि।

भेट भएपछि 'ए कोरोना छ है' भन्दै हाँस्ने अनि हात मिलाउने र अंगालो हाल्नेक्रम भने कसैले छाडेनन्। सरकारले ठूला सभा सम्मेलन नगर्नु भन्दै जारी गरेको उर्दी राप्रपाले पूरै नजरअन्दाज गर्‍यो। त्यसैगरी संक्रमणको जोखिमबाट बच्न हात नमिलाउ भन्ने आग्रह पनि कसले मान्ने?

कमलले उचाले गीता, प्रकाशले छोए र पशुपतिलै छुनै बिर्सिए

कार्यक्रमको सुरुमै काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले गीता छुन नेताहरुलाइ चुनौती दिएका थिए। त्यसपछि भाषण गर्न आएका कमल थापाले कोटको खल्तीबाटै निकालेर भने, 'तपाईँहरुले पत्याउनुहुन्न होला। मैले गीता नै ल्याएको छु। म गीता छोएर भन्छु अब म पार्टी कहिल्यै फुटाउने छैन।'

यति भन्दै उनले पछि पनि काम लाग्ला भनेर गीता पोडिएममै राखे।

त्यसपछि भाषण गर्न आएका डा प्रकाशचन्द्र लोहनीले भाषण सक्ने बेलामा हास्दै 'यहाँ गीता पनि रहेछ' भन्दै गीतालाई छोए र पार्टी नफुट्ने उद्घोष गरे।

कार्यक्रममा तीन अध्यक्षमध्ये अन्त्यमा आएका पशुपतिले भाषण गर्दागर्दै बिट मारे। र, पडियमबाट जान खोज्दा अरुले 'गीता गीता...' भनेपछि उनले फर्केर छोए।



ट्रेन्डिङ पोस्ट

Ncell