
धादिङ : महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई वटा बालविवाह रोकिएका छन्। गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती मंगलबार बेहुली नलिई फर्केको हो।
अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए।
उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए। आमा समूहमा आवद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन्।
यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ। बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ।
उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।