PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

चीनपछि रुसमा पनि राष्ट्रपतिको कार्यकाल थप्न संविधान संशोधन, पुटिन अझै शक्तिशाली



रासस

चीनपछि रुसमा पनि राष्ट्रपतिको कार्यकाल थप्न संविधान संशोधन, पुटिन अझै शक्तिशाली
PHOTO : REUTERS

मस्को : चीनमा दुई कार्यकालमात्रै राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था हटाएको २ वर्षपछि रुसमा संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल थपिएको छ। त्यहाँको संसदले बुधबार संविधान संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेसँगै वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अझै १२ वर्ष थप्न बाटो खुलेको छ।

राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ। नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउनेछन्।

राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो। सदनमा ४३ जना अनुपस्थित थिए।

संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ।

उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भर्त्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने बताएका छन्।

पूर्व केजीबी अधिकारी ६७ वर्षीय पुटिनले रसियामा सत्ता सम्हालेको २० वर्षभन्दा बढी भइसकेको छ। दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उनी सन् २००८ मा प्रधानमन्त्री बनेका थिए। पुटिनको स्थानमा उनकै विश्वासपात्र डिमित्री मेडभेडेभ राष्ट्रपतिमा छानिएका थिए।

तत्कालीन राष्ट्रपति मेडभेडेभको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो। सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बने। सन् २०१८ मा पुनः ६ वर्षका लागि राष्ट्रपति चयन भए।

ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन्। राष्ट्रिय मतदान हुनुअघि रसियाको संवैधानिक अदालतले ड्युमाको प्रस्तावमाथि विचार गर्नेछ।

ड्युमाले गरेको संशोधन प्रस्तावले रसिया सरकारको कार्यकारी शक्ति अरु मजबुत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउने छ।

यसअघि चीनको राष्ट्रिय जनकंग्रेसले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था फेर्न सन् २०१८ मा संविधान संशोधन गरेको थियो। संशोधनसँगै दोस्रो कार्यकाल सन् २०२३ मा सकिन लागेका राष्ट्रपति सी चिनफिङलाई अनिश्चितकालसम्म पदमा रहिरहन बाटो खोलिदिएको छ। एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell