PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

उत्तर प्रदेशमा पहिलोपटक देखियो कोरोनाको संक्रमण, नेपालतर्फ सतर्कता



पहिलोपोस्ट

उत्तर प्रदेशमा पहिलोपटक देखियो कोरोनाको संक्रमण, नेपालतर्फ सतर्कता
PHOTO : GETTY IMAGES

काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको छ। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको राजधानी लउनऊमा एक महिलालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

किंङ जर्ज मेडिकल विश्वविद्यालय (केजीएमयू)का अनुसार क्यानडाबाट आफन्त भेट्न लखनऊ आएकी महिलामा जाँचका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। ती महिलालाई केजीएमयूको आइसोलेशन वार्डमा राखिएको छ। जाँचका क्रममा ती महिलाका श्रीमानमा भने कोरोना नेगेटिभ पाइएको छ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६२ जना पुगेको छ। कोरोनाबाट बच्न भारतले अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका सबै भिसा रद्द गरेको छ।

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारत सरकारले अप्रिल १५ सम्म जारी गरेका सबै भिसा रद्द गरेको छ। 

नेपालतर्फ सतर्कता

सीमा जोडिएको छिमेकी भारतको राज्यमा कोरोना संक्रमित देखिएका बेला नेपालतर्फ पनि सतर्कता अपनाइएको छ। उत्तर प्रदेश सुदूरपश्चिमको कैलाली जिल्लासँग सीमा जोडिएको राज्य हो।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो।

प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता हेमराज खड्काले पश्चिमी सिमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। 'दार्चुला र बैतडीमा नेपाल–भारत 'सिमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ,' प्रवक्ता खड्काले रासससँग भने, 'गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ।'

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शङ्कास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ। सुदूरपश्चिममा हालसम्म कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell