
काठमाडौं : नेपाल आयल निगमले डिजलमा मिसावट गरेर ल्याएको चार वटा ट्यांकर फेला पारेको छ।
निगमको थानकोट डिपोले बरौनीबाट डिजल ल्याएका चार वटा ट्यांकरमा तोकिएको भन्दा कम ‘डेन्सिटी’ भेटिएपछि गुणस्तर परीक्षणका लागि केन्द्रीय कार्यालयलाई पत्र पठाएको छ।
दिलप्रित कौर, प्रसादकुमार श्रेष्ठ, केशव उप्रेती र विश्व अर्यालको ग्रेट हिमालय ढुवानी सेवाले बोकेको ट्यांकरमा मिसावट गरिएको भेटिएको हो। धेरै वर्षपछि निगमले मिसावट गरिएको तेल भेटेको हो। केही वर्षअघिसम्म मिसावट गरिएको तेल ल्याउने प्रवृत्ति बढी थियो। तर, पछिल्लो समयमा यो विस्तारै कम हुँदै गएको थियो।
डिपो प्रमुख विनितमणि उपाध्यायले डिजलमा मिसावट गरेर ल्याएको आशंकामा थप परीक्षणका लागि पत्र पठाएको जानकारी दिए।
‘चार वटा ट्यांकरमा मिसावट गरेर डिजल ल्याएको भेटिएपछि थप परीक्षणका लागि पठाएका छौं’, उनले भने, ‘केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा मिसावट भेटिएमा ढुवानी र गुणस्तर नियमावली अनुसार कारबाही हुनेछ।’
उनका अनुसार डिजलमा मट्टितेल मिसाएको आशंका गरिएको छ।
‘डेन्सिटी कम हुनु भनेको मट्टितेल मिसाएर हुनसक्छ। भारतमा अनुदानको मट्टितेल सस्तोमा पाइन्छ। उनीहरुले डिजल बिक्री गरेर त्यो मिसाएको हुनसक्छ,’ उपाध्यायले भने।
उनका अनुसार फिटिङमै छेडखानी गरेर डिजल छिकेर मट्टितेल मिसावट गरिएको हुनसक्ने देखिएको छ। ट्यांकरमा लकिङ सिस्टम लगाएपनि पछिल्लो समयमा तेल चोरी निरन्तर भइरहेको थियो। मिसावटको घटना पनि धेरै पछि मात्रै पाइएको हो। निगमले यसलाई गम्भीर अपराध भएको भन्दै कडा कारबाही गर्ने संकेत गरेको छ।
‘यो गम्भीर अपराध भएकाले हामीले सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नेछौं’, निगमका एक अधिकारीले भने, ‘चोरी हुँदै तेलमा मिसावट समेत गर्न थालेपछि हामीले व्यवसायीलाई समेत अनुसन्धानको दायरामा ल्याउँछौं।’
विगतमा यस्तो थियो
नेपालले झण्डै १८ वर्ष अघि डिजल र मट्टितेलमा मिसावट भएको भन्दै मूल्य समान बनाएको थियो। विगतमा डिजल भन्दै धेरै पम्पले मट्टितेल बिक्री गरेर ठूलो नाफा कमाएका थिए।
मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ सस्तो हुँदा धेरै पेट्रोलियम व्यवसायी करोडपति बनेका थिए भने यो मूल्यकै कारण आपराधिक क्रियाकलाप समेत बढेको थियो। त्यो बेलामा कमाएको पैसाले धेरैले ग्यास बोटलिङ प्लान्टमा लगानी गरे।
डिजल र मट्टितेलको मूल्य समान भएपछि मिसावटको समस्या अन्त्य भयो। पेट्रोलियम क्षेत्रमा डिजल र मट्टितेल समान गर्ने वित्तिकै यो व्यवसाय विस्तारै सिस्टममा पनि चल्न थालेको थियो।