
बुधवार हलिउड निर्माता एवं निर्देशक हार्वे वेन्स्टन जेल चलान भए। अब उनले २३ वर्ष कारागार जीवन बिताउनु पर्नेछ। उनी यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका हुन्। अदालतले उनलाई ‘थर्ड डिग्री रेप’ र ‘फर्ट डिग्री आपराधिक यौन कार्य’मा दोषी ठहर गरेको हो।
एक साताअघि मुटुको शल्यक्रिया गराएका उनी बुधबार ह्विलचेयरमा अदालत पुगे। ६७ वर्षीय हार्वेका वकिलले उनलाई पाँच वर्षको मात्र सजाय सुनाएपनि जन्मकैद सरह हुने तर्क गरेका थिए।
तर, प्रतिवादीले भने,'उनले गरेको दुर्व्यवहार र पश्चतापको कमीलाई मध्यनजर गर्दै हदैसम्मको सजाय दिनुपर्दछ।'
हार्वेले भने आफूलाई निकै पश्चताप भएको बताएका थिए।
उनीविरुद्ध ८० बढी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। जसमा अभिनेत्री, कलाकार, डिजाइनरदेखि उनी कार्यरत् कार्यालयका महिला कर्मचारीहरु समेत रहेका छन्। आरोप लगाउनेको सूचीमा हलिउड अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोव पनि रहे।
त्यस्तै बलिउड अभिनेत्रीले ऐश्वर्या रायले पनि हार्वेले आफूलाई एकान्तमा भेट्न बोलाएको खबर सार्वजनिक गरेकी थिइन्।
कार्यालयमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध शुरु भएको मिटू मुभमेन्ट अन्तर्गत उनीविरुद्ध बोल्नेहरु देखिएका हुन्। यही घटनाका कारण हार्वेलाई उनी कार्यरत कम्पनीले निस्कासन गरेयता उनले आफू गलत नभएको दाबी गर्दै आएका थिए। तर, मुद्दाले ठूलो रुप लिनुअघि उनकी श्रीमती फेशन डिजाइनर जियार्जिना सैम्पमैनले पनि हार्वेलाई डिभोर्स दिएकी थिइन्।
सन् २०१७ को अक्टोबरमा बोर्ड अफ द एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सले वेन्सटनलाई निस्कासन नै गर्यो।
अन्तत: उनी दोषी साबित भए। उनी जेल चलान भएसँगै हलिउड कलाकारदेखि निर्माता, निर्देशक एवं अन्य फिल्मकर्मीसम्मले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाएका छन्।
भारतीय गायिका एवं कार्यक्रम प्रस्तोता चिन्माइ श्रीपादले पनि उक्त विषयमा ट्वीट गरेकी छिन्। लेखेकी छिन्,'हार्वे वेन्स्टन भारतमा जन्मिएको भए अहिलेपनि स्टार र राजनीतिज्ञहरुसँग पार्टीमा भेटिन्थे।'
Harvey Weinstein sentenced to 23 years in Prison.
— Chinmayi Sripaada (@Chinmayi) March 11, 2020
This is the time he’d wish he were born in India. Especially in Tamilnadu.
He’d have been partying with stars, politicians and have odes written.
You’d actually be supported by political parties 100% pic.twitter.com/TKfQKZxhtj
उनले बलिउडमा मिटू आन्दोलनको प्रभाव र अवस्थामाथि व्यङ्ग्य गरेकी हुन्। उनले हार्वे भारतीय भएको अवस्थामा राजनीतिज्ञ पूर्ण साथ पाउने धारणा व्यक्त गरेकी छिन्।
हार्वेले 'किल बिल', 'द करेन्ट वार', ‘गुडविल हन्टिङ’, ‘शेक्सपियर इन लभ’ लगायतका फिल्म निर्माण गरेका छन्।