
कलाकारहरु रामचंद्रन, करुणानिधि र जयललिताको निधनपछि अस्थिर बनेको तमिलनाडु राज्य सम्हाल्न सुपरस्टार रजनीकान्तले परिवर्तित राजनीतिक प्रणाली अबलम्वन गर्ने भएका छन्।
तमिलनाडुमा कलाकारहरु राजनीतिको नेतृत्वमा सफल बनिरहेका बेला रजनीकान्त पनि यही लाइनमा उभिएका छन्। अहिलेको नेतृत्वविहीन शून्य समय परिवर्तनका लागि उपयुक्त भएको उनको भनाई छ। रजनीकान्तले अहिलेको भ्रष्ट शासनलाई भंग गर्न नसकिएमा भगवानले पनि तमिलनाडुलाई बचाउन नसक्ने बताउँदै आएका छन्।
तमिलनाडुमा अर्को वर्ष सन् २०२१ मा २ सय ४४ सदस्यका लागि अर्को वर्ष विधानसभा निर्वाचन हुँदैछ। सन् २०१७ मा राजनीतिमा प्रवेशको घोषणा गरेका रजनीकान्तले अहिलेसम्म पार्टी खोलिसकेका छैनन्।
चुनाव नजिकिँदै गर्दा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रजनीकान्तले शून्य भ्रष्टाचार र स्वच्छ राजनीतिक प्रणालीका लागि राजनीतिमा होमिएको र आफ्नो पार्टीले परिवर्तित राजनीतिका लागि नयाँ आन्दोलनको सिर्जना गर्ने बताए। शासन प्रणाली तथा पार्टी पारदर्शी र बलियो हुनुपर्ने भन्दै उनले संगठनात्मक संरचनामा युवाले प्राथमिकता पाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री नबन्ने घोषणा
अभिनेता रजनीकान्तले मुख्यमन्त्री नबन्ने घोषणा समेत गरे। आफूले पार्टीको नेतृत्व लिने तर मुख्यमन्त्रीका रुपमा तमिलनाडु विधानसभामा उपस्थित हुने कल्पना समेत नगरेको स्पष्ट पारे। आफू पार्टी नेतृत्व मात्रै गर्ने उनको भनाइ थियो। पार्टीबाट कस्लाई मुख्यमन्त्री बनाउने भन्नेबारे छलफल भइरहेको र शिक्षित, इमान्दार, आत्मविश्वास भएका युवालाई छनौट गरिने तथा त्यसमा महिला पनि हुनसक्ने उनको भनाइ छ। उनले आफ्नो दलको नाम भने खुलाएनन्।
तमिलनाडुमा रहेका दुई दल एआईएडीएमके र डीएमके भ्रष्टाचारमा लिप्त हुँदा सरकार र समाजले क्षति व्यहोरेको भन्दै रजनीकान्तले चुनावका बेला मात्रै काम गर्ने नेतृत्वलाई निरुत्साहित गर्नुपर्ने बताए।
रजनीकान्तको आगामी दलमा ५० बर्ष भन्दा कम उमेरका युवालाई पर्याप्त मात्रामा समावेश गरिने छ भने अवकाशप्राप्त न्यायाधीशहरु, आइएएस र आईपीएस अधिकारीहरु लगायत हुनेछन्।