काठमाडौं : गत वर्ष डिसेम्बरको अन्तिम सातातिरबाट चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को विषयलाई लिएर सुरुदेखि नै अमेरिकाले चीनलाई दोष दिँदै आएको छ। चीनले समयमा नै पारदर्शी ढंगले विश्वलाई भाइरसबारे जानकारी नदिँदै विश्वलाई त्रासमा पारेको आरोप अमेरिकाले लगाउँदै आएको छ।
अमेरिकाले एकपछि अर्को आरोप लगाउँदै गर्दा चीन आरोपलाई खण्डन गर्दै कोभिड-१९ विरुद्ध होमियो। जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको चीनले कोभिड-१९ विरुद्ध आफ्ना सम्पूर्ण शक्ति केन्द्रित गर्यो।
अहिले चीनमा कोभिड-१९ नियन्त्रणतर्फ अगाडि बढेको छ। यसैको पछिल्लो संकेत हो चिनियाँ राष्ट्रपति सि जिङफिनको कोभिड-१९ 'आउटब्रेक इपिसेन्टर' वुहानको भ्रमण। मंगलवार वुहान पुगेर चिनियाँ राष्ट्रपतिले चीनमा कोभिड-१९ नियन्त्रणतर्फ गएको संकेत गर्दै गर्दा बाँकी विश्वमा भने यसको प्रभाव बढ्दै गएको छ।
शुक्रवारसम्म आइपुग्दा एक लाख ३४ हजार ८ सय ४ जनामा यसको संक्रमण देखिसकेको छ। जसमध्ये चार हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ भने ७० हजार तीन सय ९४ जना संक्रमितको उपचार भइसकेको छ।
बिहीवार मध्यरातसम्मको रिपोर्टअनुसार चीनमा मात्र ८० हजार ८ सय १४ जनामा यसको संक्रमण देखापर्दा तीन हजार एक सय ७७ जनाको मृत्यु भएको छ। जसमध्ये शुक्रवार मध्यरातसम्म पछिल्लो २४ घण्टामा मृत्यु हुने जम्मा ८ जना छन् भने नयाँ संक्रमित २१ जना मात्र छन्। त्यस्तै ६४ हजार एक सय १८ जना उपचार पछि घर फर्किइसकेका छन्। ५३ हजार छ सय ६८ संक्रमित अझै अस्पतालमा छन्। जसमध्ये चीनमा १३ हजार ५१९ जना संक्रमित छन् उनीहरुको उपचार भइरहेको छ। ४५ हजार ९ सय ७ बाँकी विश्वमा छन्।
इटालीमा सबैभन्दा बढी एक हजार १६ जनाको मृत्यु भइसकेको छ। यहाँ १५ हजार १ सय १३ जना संक्रमित छन्। त्यस्तै इरानमा १० हजार ७५ जना संक्रमित हुँदा ४ सय २९ जनाको मृत्यु भइसकेको छ। त्यस्तै स्पेनमा ६८, दक्षिण कोरियामा ६७, फ्रान्समा ६१ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा ४१ जनाको मृत्यु कोभिड-१९ बाट भएको छ। यहाँ एक हजार सात सय ६२ जना संक्रमित फेला परेका छन्।
कोभिड-१९ विरुद्ध सुरुवातदेखि नै चीनलाई आरोप लगाउँदै आएको अमेरिका आफैमा रोग नियन्त्रणमा सजग नभएको अमेरिका भित्रैबाट आवाज उठिरहेको छ।
त्यस्तै मा चीनले पनि 'पलटवार' गरेको छ। चिनियाँ विदेश मन्त्रालयले अमेरिकी सैनिकले कोरोना भाइरस चीनको वुहानमा ल्याइपुर्याएको हुन सक्ने बताएको छ। वुहान कोभिड-१९ बाट सबैभन्दा प्रभावित स्थान हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता मार्फत् आएको अभिव्यक्तिले वासिङटनसँगको वाकयुद्ध बढाउने संकेत गर्छ।
हालसम्म चीनले कोभिड-१९ को उत्पत्तीको विषयमा कसैलाई आक्षेप लगाएको थिएन। चीनमा भाइरस नियन्त्रणतर्फ जाँदैगर्दा पहिलो पटक अमेरिका विरुद्ध प्रहार गरेको हो।
बुधवारमात्र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्ट ओ व्राइनले कोरोना भाइरसको उत्पत्तीका बारेमा चीनले समयमै जानकारी नदिँदा बाँकी विश्वले यसको मूल्य दुई महिनामा चुकाउनु परेको अभिव्यक्ति दिएका थिए। उनले चीनले समयमै जानकारी नदिँदा बाँकी विश्व तयार हुन नसकेको बताएका थिए।
'दुर्भाग्यवस चीनले उत्तम अभ्यास प्रयोग गर्नुको साटो वुहानमा भएको आउटब्रेकलाई लुकाइयो। वुहानबाट चिनियाँ नागरिकहरुले स्वतन्त्र रुपमा रिपोर्टिङ गरिरहेका छन् कि चिकित्सकहरु जो संलग्न छन् उनीहरुको मुख बन्द गराइयो वा आइसोलेसनमा राखियो। त्यसैले भाइरस भन्ने कुरा बाहिर आउन सकेन्,' सुरक्षा सल्लाहकारले भनेका थिए।
उनको यस्तो अभिव्यक्ति आएको भोलिपल्ट बिहीवार अवेर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिआनले सामाजिक सञ्जाल ट्विटर मार्फत् वुहानमा अमेरिकी सैनिकले भाइरस ल्याएको हुनसक्ने अभिव्यक्ति दिएका हुन्।
प्रवक्ता चाओ सामाजिक सञ्जालन ट्विटरमा सक्रिय छन्। यसअघि पाकिस्तानका लागि नियोग प्रमुखको रुपमा काम गरेका उनी हालै मात्र विदेश मन्त्रालयको प्रवक्तामा नियुक्त भएका हुन्। उनै चाओले नेपालीमा ट्वीट गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी बीचको टेलिफोन संवादबारे जानकारी गराएका थिए।
भेरिफाइड ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटमा अमेरिका नै पारदर्शी नभएको आरोप लगाएका छन्।
2/2 CDC was caught on the spot. When did patient zero begin in US? How many people are infected? What are the names of the hospitals? It might be US army who brought the epidemic to Wuhan. Be transparent! Make public your data! US owe us an explanation! pic.twitter.com/vYNZRFPWo3
— Lijian Zhao 赵立坚 (@zlj517) March 12, 2020
'अमेरिकामा कहिलेदेखि संक्रमण देखियो? कति जना संक्रमित भए?' अस्पतालहरुको नाम के हुन्?' उनले प्रश्न गर्दै अगाडि लेखेका छन्, 'वुहानमा महामारी ल्याउने अमेरिकी सैनिक हुन सक्छन्। पारदर्शी हुनुपर्यो! तिमीहरुको तथ्यांक सार्वजनिक गर। हामीलाई अमेरिकाले स्पष्टिकरण दिओस्।'
ट्विटरमा सक्रिय चाओले अमेरिकी सैनिकको संलग्नताबारे प्रमाण दिएका भने छैनन्।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका रोवर्ट रेडफिल्डले संसदको कमिटीमा इन्फ्ल्युन्जाको कारण मृत्यु भएका अमेरिकीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। समितिमा उनलाई मृत्युको कारण इन्फ्लुएन्जामा गलत वर्गीकरण गरिएको र कोभिड-१९ को संक्रमण भएको हुने सम्भावना कति छन् भनेर प्रश्न सोधिएको थियो।
जवाफमा उनले समितिमा संक्रमितहरुको पहिलो चरणमा इन्फ्युएन्जा परीक्षण हुने बताएसँगै उनलाई सांसले पुन प्रश्न गरे- त्यसो भए अमेरिकामा इन्फ्लुएन्जाबाट मरेका भनिएका विरामीहरु पनि कोभिड-१९ बाट मरेको हुन सक्छन्?
निर्देशक रेडफिल्डले यसलाई स्वीकार गर्दै इन्फ्युएन्जाबाट मृत्यु भएका केहीमा कोभिड-१९ को संक्रमण देखिएको बताएका थिए।
उनको यस्तो अभिव्यक्तिले चिनियाँ आरोपलाई बल पुगेको छ। प्रवक्ता चाओले अमेरिकामा ३४ मिलियन इन्फ्लुएन्जाका केस भएको र २० हजार मारिको भन्दै तीमध्ये कति कोभिड-१९ बाट मरेका हुन जानकारी दिन माग गरेका छन्।
Some #influenza deaths were actually infected with #COVID-19, Robert Redfield from US #CDC admitted at the House of Representatives. US reported 34 million cases of influenza and 20,000 deaths. Please tell us how many are related to COVID-19? @CDCDirector pic.twitter.com/vYNZRFPWo3
— Lijian Zhao 赵立坚 (@zlj517) March 12, 2020
चिनियाँ विदेश मन्त्रालयकी अर्की प्रवक्ता हुवा चुनयिङले पनि निर्देशक रेडफिल्डको अभिव्यक्तिलाई कोट गर्दै कोभिड-१९ लाई चिनियाँ कोरोना भाइरस भन्नु गलत र असान्दार्भिक भएको बताएकी छिन्।
@CDCDirector Dr. Robert Redfield: Some cases that were previously diagnosed as Flu in the US were actually #COVID19. It is absolutely WRONG and INAPPROPRIATE to call this the Chinese coronavirus. https://t.co/Mk4RB7XYq0
— Hua Chunying 华春莹 (@SpokespersonCHN) March 12, 2020
यसअघि बिहीवार नै चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता कङ सुआङले कोरोना भाइरसलाई लिएर चीनलाई आरोप लगाउनु अनैतिक र गैर जिम्मेवार भएको बताएका थिए। उनले अमेरिकी अधिकारीहरुलाई चीनलाई आक्षेप लगाउनभन्दा पनि आफ्नो देशको अवस्थामा ध्यान दिन र अन्तर्राष्ट्रिय साझेदारीमा ध्यान दिन सुझाव दिएका थिए।
'अमेरिकी अधिकारीले चीनलाई रोग लुकाएको आरोप लगाएका छन्। यस विषयमा विश्वलाई जानकारी नै छ कि चीनले सबै सूचनाहरु खुला र पारदर्शी ढंगले सार्वजनिक गरेको छ,' उनले भनेका छन्, 'धेरै अगाडि पनि होइन्, अमेरिकी विज्ञसहितको विश्व स्वास्थ्य संगठनको विशेष टोली ९ दिन चीनमा बसेर अध्ययन गरेर फर्किएको छ। उनीहरुले पनि चीनको प्रशंसा गरेर फर्किएका छन्। अमेरिका कति खुला र पारदर्शी छ भन्ने प्रतिक्रिया आज म यहाँ दिन चाँहदिन तर, केही अमेरिकी अधिकारीहरु चीनको विश्वले प्रशंसा गरिरहँदा कान थुनिरहेका छन्।'