PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यात्रु नहुँदा आपतमा एयरलाइन्स : ६० प्रतिशत आयो गिरावट



वसन्तराज उप्रेती

यात्रु नहुँदा आपतमा एयरलाइन्स : ६० प्रतिशत आयो गिरावट

काठमाडौं : काठमाडौंबाट यतिबेला आन्तरिक गन्तव्यका उडानमा हवाइ भाडा घटेको भए पनि यात्रु संख्या नपुगेर हवाई सेवा कम्पनीका सञ्चालकहरू हैरान छन्। त्यसैले आन्तरिक यात्रुलाई मात्र सेवा दिँदै आएका कम्पनीहरू अब के गर्ने भन्दै अन्योलमा छन्। 

धमाधम आफ्नो फ्लाइट मुभमेन्ट घटाउनुपर्ने अवस्था आएको एयरलाइन्स अपरेटर एशोसिएसनले जनाएको छ। पर्यटकीय सिजन सुरु भइसक्दा पनि कोरोनाको प्रभावका कारण पर्यटक आवागमन न्यून भएपछि हवाई सेवा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। 

यतिखेर मुलुकको 'स्टल रुट' विदेशी पर्यटकको उपस्थिति निकै न्युन छ। 'विकट गन्तब्यमा प्राय कार्गो उडान मात्र भइरहेको छ। ट्रंक रुटमा आन्तरिक पर्यटकले गर्दा जेनतेन चलिरहेको अवस्था छ,' उनले भने, 'हेलिकप्टर कम्पनीहरूले प्याकेज सार्वजनिक गर्दा पनि यात्रुहरुले सेवा लिन चाहिरेका छैनन्।'  

हाल हवाई सेवा उपभोग गर्ने यात्रुको संख्यामा ६० प्रतिशतले गिरावट आएको उनले बताए। 'विभिन्न मुलुकले आफ्ना जनतालाई भ्रमणमा ननिस्कन अनुरोधसहित ट्राभल एडभाइजरी जारी गरिसकेका छन,' उनले भने, 'भर्खरै छिमेकी मुलुक भारतले पनि आफ्नो जनतालाई भ्रमणमा ननिस्कन आग्रह गरिसकेको छ। अब हामीले कसरी व्यवसाय गर्ने ? यस्तै अवस्था हो भने जहाज ग्राउण्डेड गर्नु बाहेक अन्य विकल्प देखिँदैन।' 

अन्तर्राष्ट्रिय स्तरमा हवाई इन्धन प्रति ब्यारल १४ डलरले घटेपछि संघले आपूर्ति मन्त्रालयलाई हवाई इन्धनको मूल्य घटाउनका लागि अनुरोध गरेको छ। आगामी दिनमा इन्धनको मूल्य प्रति ब्यारल २८ डलरमा घट्न सक्ने प्रक्षेपण छ। तर नेपाल सरकारले मूल्य घटाएको छैन। इन्धनको मूल्य घटाएका अवस्थामा हवाई सेवाले भाडा दर कटौती गरेर पनि यात्रुलाई सोही अनुसार सेवा दिन सक्ने उनी बताउँछन्।  

'इन्धनको मूल्य घटेको अवस्थामा हामीले पनि हवाई यात्रुलाई कम फेयर लिएर सेवा दिन सक्नेथियौं र यसले गर्दा हामीलाई सेवा दिन पनि सहज हुन्थ्यो,' उनले भने, 'यो विषयमा नेपाल आयल निगमसँग छलफल गर्दैछौं।' साढे १० खर्ब लगानीमा सञ्चालित आन्तरिक उड्डयन क्षेत्र कोभिड-१९ को विश्वव्यापी त्राससँगै एक महिनादेखि अस्तव्यस्तमा गुज्रिएको छ। पर्यटक आवागमन पूरै ओरालो लागेपछि नेपाली उड्डयन क्षेत्र थला पर्ने स्थिति आएको उनले बताए।

'हाम्रो समग्र हवाई सेवा उद्योग ६० प्रतिशत बैंकको लोनमा निर्भर रहेर चलेको छ,' उनी भन्छन्, 'आन्तरिक उडान प्रभावित भएका कारण यतिखेर व्यवसायीहरुलाई बैंकको ब्याज तिर्नै मुश्किल भएको छ।' आत्तिएका हवाइ सेवा व्यवसायीले अर्थमन्त्री युवराज खतिवडासँग यो विषयमा छलफल पनि भएको बताएका छन्। 'रिफाइनान्स, ब्याजलाई साँवामा गाभेर पछि एकमुष्ठ तिर्ने लगायत केही माग प्रस्ताव गरेका छौं। उहाँ यो विषयमा सकारात्मक हुनुहुन्छ,' कँडेलले भने। 

यात्रुको आवागमन घटेर आन्तरिक उडान पनि प्रभावित भएपछि संघले सबै हवाई व्यवसायीको सहभागितामा कर्मचारी व्यवस्थापनको विषयमा छलफल गर्न लागेको छ। कर्मचारीलाई 'फोर्स लिभ' र 'एयर लिभ' दिने विषयमा छलफलको तयारी भइरहेको संघले जनाएको छ। संघको तथ्यांकअनुसार हाल आवद्ध ११ वटा 'फिक्स्ड विङ' कम्पनीमा मात्र करिब ६ हजार जनशक्ति कार्यरत छन्।

'रोटर विङ' तर्फ विभिन्न कम्पनीका ३० वटा हेलिकप्‍टरले गत वर्ष यो समयमा दैनिक ९० घण्टा उडान गरेका थिए। यतिखेर प्रतिदिन समग्र ६ घण्टामात्र उडान भइरहेको छ। 'ट्रंक रुट' को तुलनामा यात्रु संख्या नपुगेर 'स्टल रुट' मा उडान प्रभावित भएको छ।  

बसको टिकट बराबर हवाई भाडा निर्धारण
यात्रु घट्दा काठमाडौंबाट यतिबेला सरदर बसमा आउजाउ गर्दा लाग्ने खर्च जतिकै हवाइ सेवाको टिकट दर भइसकेको छ। हवाई सेवा कम्पनीहरू सस्तो दरका टिकट उपलब्ध गराएर पनि सञ्चालन खर्च जुटाउने कसरतमा रहँदा उडान टिकट पहिलेभन्दा करिब ५० प्रतिशतले घटेको छ। 

दुई सातायता नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको नेपाल अध्यागमन विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार पछिल्लो १४ दिनमा ३३ हजार सात सय ८३ विदेशी नागरिक हवाईमार्ग हुँदै नेपाल भित्रिएका छन् भने २४ हजार एक  सय ९० नेपालबाट आफ्नो मुलुक फर्किएका छन्। 

पर्यटकको संख्या नै ९० प्रतिशतले घटेपछि यतिखेर मुलुकका आन्तरिक वायुसेवा कम्पनीले भाडा दरमा ५० प्रतिशत घटाएर काम चलाउन थालेका छन्। 

'आम्दानी घट्दो छ, बैंकको ब्याज बढ्दो छ। यो अवस्थामा कर्मचारीलाई तलब कसरी दिने, ब्याज कसरी तिर्ने, विमानस्थलको सेवा शुल्क लगायत विविध कुराहरुलाई मध्यनजर गर्दै हामीले सर्भाइभका लागि भएपनि हवाई भाडादर घटाएका हौं,' हवाई सेवासम्बद्ध एक व्यवसायीले भने, 'यसअघि डलर फेयरले धानिरहेको यो उद्योगमा विदेशी पर्यटक नै नआएपछि वर्तमान अवस्था हाम्रो लागि नाजुक बनेको छ। अब सरकारको सहयोगको अपेक्षामा छौं।'    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell