
काठमाडौं : सुनको भाउ अघिल्लो दिनका तुलनामा तीन हजार रूपैयाँ घटेर शुक्रबार प्रतितोला ७८ हजार ५०० मा आइपुगेको छ। लगातार उकालो लागेको मूल्यमा यति धेरै रकमको गिरावट वर्षको यो पहिलो हो।
नेपाली बजारमा बिहीवारको कारोबार मूल्य तोलाको ८१ हजार ५०० थियो। साताको पहिलो दिन गत आइतबार तोलाको ८२ हजार ५०० पुगेको सुन मंगलबार अझ उक्लेर ८२ हजार ७०० सम्म पुगेको थियो। बुधवार दुई सय रूपैयाँमात्रै घटेको थियो भने बिहीबार आठ सय रूपैयाँले घट्दै ८१ हजार ५०० मा आइपुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको घटबढको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी पनि अघिल्लो दिनका तुलनामा ४० रूपैयाँ घटेर तोलाको ८२० मा आइपुगेको छ। साताको पहिलो दिन तोलाको ८९० सम्म पुगेको चाँदीको मूल्यमा गिरावटको दर सुन जस्तो छैन। मंगलबार र बुधबार प्रतितोला ८८० मा स्थिर थियो। २० रूपैयाँ घटेर बिहीवार ८६० भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा गत बुधबार प्रतिऔंस १६४१.४० डलर पुगेको सुन बिहीवार १५८९.३० डलरमा आइपुगेको थियो। शुक्रबार बिहान अझ घट्दै प्रतिऔंस १५८०.०८ डलरमा कारोबार भएको छ।