
काठमाडौं : नेपाल सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कसैलाई पनि अनअराइभल भिसा नदिने निर्णय गरेको छ।
अध्यागमन विभागद्वारा जारी विज्ञप्तिमा यसअघि भिसा लिइसकेका पर्यटकहरुले स्वाव टेस्ट गरिएको हेल्थ सर्टिफिकेट प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ। पर्यटकहरुले नेपाल आउनुभन्दा एक हप्ता अगाडि नै हेल्थ सर्टिफिकेट अध्यागमन विभागमा बुझाउनुपर्नेछ।
यस्तै, गैर आवसीय नेपालीहरुलाई प्रदान गरिएको अनअराइभल भिसा समेत स्थगित गरिएको छ। कुनै कारणवश् नेपाल आउन परेको खण्डमा गैर आवसीय नेपालीहरुले आफू बसेको राष्ट्रमा रहेको नेपाली कुटनीतिक नियोगमा सम्पर्क गर्नुपर्नेछ। यस्तै, नेपाल आउनु भन्दा ७ दिन जारी भएको हेल्थ स्वाव टेस्ट गरिएको हेल्थ सर्टिफिकेट लिएर आएर आउनुपर्नेछ।
सरकारले १४ मार्चदेखि नेपाल भित्रने पर्यटकलाई सेल्फ क्वारेन्टाइनमा र गैर आवसीयहरुलाई घरमा नै १४ दिनका लागि क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ। यस्तै, कुटनीतिक र सरकारी राहदानी बोकेर नेपाल आउने विदेशी वा नेपाली नागरिकलाई समेत १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको छ। व्यवसाय, शिक्षा र श्रम भिसा प्राप्त विदेशी नागरिकहरुमा समेत यो लागू हुनेछ।
विभागले नेपाल बाहिर रहेका सबै नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
विभागद्वारा जारी विज्ञप्तिमा चीन र भारतबाहेक तेस्रो मुलकुका नागरिककलाई स्थलमार्गमा ३० अप्रिलसम्म प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ। यस्तै, हिमाल आरोहणका लागि दिइएका सबै अनुमति समेत रद्द गरिएको छ।