PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

मन्दिर पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको आशमा रातो मछिन्द्रनाथ!



सहयोग रञ्जित

मन्दिर पुनर्निर्माणका लागि उपभोक्ता समिति गठनको आशमा रातो मछिन्द्रनाथ!

वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) अहिले पाटनस्थित त: बहा (मछिन्द्र बहाल) मा छन्। ६ महिना बुंगमतीमा र ६ महिना त:बहा:मा बस्ने मछिन्द्रनाथको जात्रा सुरु हुन अब केही महिना बाँकी छ।  नेपालको सबैभन्दा लामो जात्रा सकिएपछि रातो मछिन्द्रनाथलाई फेरि बुंगमती लगिन्छ।

२०७२ को भूकम्पपछि बुंगमतीमा रहेको करुणामयको मन्दिर पूर्ण रुपमा भत्किएको थियो। बाह्र वर्षे जात्रा चलेकोले बुंगमतीबाटै रातो मछिन्द्रनाथको रथ यात्रा चलेको थियो। त्यसवर्ष जसोतसो जात्रा सम्पन्न गरियो र मछिन्द्रनाथलाई बुंगमती फर्काइयो।

मन्दिर त भत्किएको थियो। त्यसैले मछिन्द्रनाथलाई अस्थायी टहरा बनाएर राखियो। चार वर्ष भयो हरेक वर्ष बुंगमतीको अस्थायी टहराबाट मछिन्द्रनाथ ६ महिनाका लागि पाटन आउँछन्। जात्रा सकिएपछि बुंगमती फर्किन्छन् अस्थायी टहरामा नै। यो वर्ष पनि जावलाखेलमा भोटो देखाएसँगै रातो मछिन्द्रनाथ टहरामा फर्किनेछन्।

ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको रातो मछिन्द्रनाथको मन्दिरको पुर्ननिर्माण हालसम्म हुन सकेको छैन। भूकम्पले मन्दिर भत्किएपछि मन्दिर पुनर्निर्माणमा सहयोग गर्न श्रीलंकाली सरकारले इच्छा देखायो। सरकारले पनि मन्दिर पुनर्निर्माणमा सहयोगी हातहरुको स्वागत गर्‍यो। मन्दिर बनाउन टेन्डर आह्वान गरियो। करिब ५ करोडको लागतमा पुरातत्व विभागमार्फत ठेक्का प्रक्रिया अघि बढ्यो। तीन कम्पनीले (प्रेरा,थेगिम,तुलसी जेभी धनगढी) संयुक्त रूपमा रूपमा ठेक्का पाएका थिए।

स्थानीय मन्दिर पुनर्निर्माणमा आफ्नो सहभागी खोजिरहेका थिए। तर ठेकेदारबाट भए पनि मन्दिर पुनर्निर्माण हुने भएपछि उनीहरु ढुक्क थिए, ‘अब मन्दिर बन्ने भयो।’

तर, दुई वर्षमा मन्दिर पुनर्निर्माण गर्ने भनिए पनि त्यो कागजमा मात्रै सीमित भयो। अन्तत: ठेक्का प्रक्रिया नै रद्द भयो।

ठेक्का रद्द हुनुमा ठेकेदारी प्रथा सबैभन्दा ठूलो समस्या बन्यो बुंगमतीमा। ठेकेदारले मन्दिरको जगमा पुराना प्रकारका इँटा (मा अप्पा, दाँची अप्पा) को प्रयोग नगरी तराईबाट इँटा ल्याएर पुनर्निमाणको काम अघि बढायो थियो। त्यसबाट स्थानीयहरू सशंकित भए। आक्रोशित स्थानीयले ठेकेदारले बनाएको जग भत्काइदिए। त्यसपछि विभिन्न चरणहरूमा मन्दिर पुनर्निर्माणबारे छलफल भयो। पछि केही सहमतिपछि ठेकेदार कम्पनीले पुन: मन्दिर पुनर्निमाण प्रक्रिया अघि बढायो। तर, स्थानीय र श्रीलङ्कन सरकारलाई ठेकेदारको काम मन नपरेन। ठेकेदार उल्टैले अदालतमा मुद्दा दायर गर्‍यो। अन्तत: ठेकेदारले पाएको टेन्डर रद्द गरियो। मन्दिर पुनर्निर्माणमा श्रीलंकाली सरकारले आर्थिक सहयोग गरेकोमा ठेकेदारले काम नगरिदिँदा श्रीलंकाली राजदूतले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई असन्तुष्टि समेत पोखेका थिए।

ठेकेदारबाट आजित श्रीलंकाले गत डिसेम्बरमा पुनर्निर्माणबाट हात झिक्यो। त्यसपछि अब नयाँ ढाँचाबाट मन्दिर पुनर्निर्माण गर्ने योजनामा छन् स्थानीय र सरोकारवालहरु।

अब रातो मछिन्द्रनाथको मन्दिर ठेकेदारबाट नभइ उपभोक्ता समितिबाट हुने भएको छ। त्यसको तयारीमा जुटेको छ ललितपुर महानगरपालिका र बुंगमतीका स्थानीय।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन भन्छन्, ‘मन्दिर पुनर्निर्माणका बारेमा उपभोक्ता समिति गठन गर्ने बारेमा फागुन १९ मा मैले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पत्र पाएको छु। त्यसलगतै वडा २२ का अध्यक्षसँग छलफल गरें। गएको शनिवार हामीले मन्दिर परिसरमा नै उपभोक्ता समिति गठन गर्ने बारेमा छलफल गरेका थियौं। अब भोलि उपभोक्ता समिति गठन गर्ने बारेमा त्यहाँ ठूलो भेला बोलाउने निर्णय भएको छ। त्यस भेला पछि नै हामी चाँडै उपभोक्ता समिति गठन गर्नेछौं।’

अहिले रातो मछिन्द्रनाथको मन्दिरलाई जस्तापाताले घेरेर राखिएको छ। मछिन्द्रनाथको मूर्ति राख्न पहिलाको मन्दिर रहेको पछाडि अस्थायी मन्दिर बनाइएको छ। ठेकेदारमार्फत करिब ३० प्रतिशत काम भइसकेको छ। तर त्यो काममा मन्दिरका पानेजु (पुजारी) र स्थानीयलाई सन्तोक छैन।  

मन्दिरका पानेजु शान्तमान शाक्य भन्छन्, 'मन्दिरको भित्री भाग पहिलाको भन्दा साँघुरो छ। मन्दिरमा पानेजु बस्ने ठाउँ नै छैन। मन्दिरभित्र बसेर कसरी पूजा गर्ने?  यसरी त भएन नि। त्यसैले सबैलाई सजिलो हुने गरी पुनर्निर्माण गर्नुपर्छ।'

ठेकेदारलाई मन्दिरको भित्रको भाग साँघुरो भयो भन्दा काम गर्न दिएन भन्दा स्थानीयले काम गर्न दिएन भनेर आरोप लगाएको बताउँछन् अर्का पानेजु मदन शाक्य। त्यसलै अब उपभोक्ता समितिमार्फत काम हुने भएपछि पहिलाको कमजोरीलाई सच्याएर मात्रै पुनर्निर्माण गर्न उनले माग गरेका छन्।

भूकम्पपछि प्रधानमन्त्री केपी शर्मा ओली आफै बुंगमती पुगेर मन्दिर बनाउन शिलान्यास गरेका थिए। उनले त्यहाँ मन्दिर बन्छ भनेर गएको याद पानेजुहरुलाई अहिलेसम्म याद छ। तर, प्रधानमन्त्री ओली फेरि फर्केर बुंगमती कहिल्यै पुगेनन्।

शान्तमान प्रश्न गर्छन्,  ‘कहिलेसम्म बुंगद्यलाई अस्थायी टहरामा राखेर पूजा गर्ने?'

भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दा बुंगमतीको मछिन्द्र बहा: मा धेरै घरहरु ठडिए। तर जसले बुंगमतीलाई जीवन्त बनायो तिनको मन्दिर ठडिएन। अब शनिवारको भेलाले चाँडै उपभोक्ता समिति गठन हुनेमा स्थानीय विश्वस्त छन्।

महानगर प्रमुख चिरिबाबु भन्छन्, ‘मन्दिर पुनर्निर्माणमा लाग्ने खर्च सबै पुनर्निर्माण प्राधिकरणले बेहोर्ने भन्ने कुरा छ। चाहेको खण्डमा महानगर आफै अघि बढेर मन्दिर पुनर्निर्माणको खर्च बेहोर्न तयार छ। हामी सबै मिलेर चाँडै नै मन्दिर पुनर्निर्माणको काम सम्पन्न गर्नेछौं। केही वर्षपछि मछिन्द्रनाथ अस्थायी टहरामा बस्नु पर्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell