
न्यूजिल्यान्डकी आन्तरिक मामिला मन्त्री ट्रेसी मार्टिनले गत साता पिटर डट्टनलाई भेटेकी थिइन्। पिटर अस्ट्रेलियाका गृहमन्त्री हुन्। उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो। खबर सार्वजनिक भएसँगै मार्टिनले आफूलाई 'सेल्फ आइसोलेसन'मा राख्ने निर्णय गरेकी छिन्।
द गार्जियनले जनाए अनुसार मार्टिनका प्रवक्ताले उनी हाल आइसोलेसनमा रहेको र शनिबार कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने बताएका छन्।
पिटर र मार्टिनको गत साता वासिङटनमा आयोजित 'फाइभ आइज'को सम्मेलनमा भेट भएको थियो। फाइभ आइज अस्ट्रेलिया, न्यूजिल्यान्ड साथै क्यानेडा, अमेरिका र बेलायतको गठबन्धन हो।
Yesterday 🇦🇺 Home Affairs @PeterDutton_MP joins @IvankaTrump, Attorney General Barr & our five eyes partners 🇺🇸🇬🇧🇨🇦🇳🇿 to fight online child exploitation. We heard from 9 brave survivors & announced principles that technology companies should implement to protect children online pic.twitter.com/3ifeJnGJPI
— Australia in the US 🇦🇺🇺🇸 (@AusintheUS) March 6, 2020
'मार्टिनले पिटरसँग हात मिलाएको सम्झिएकी छैनन्। तर ९० मिनेट लामो वार्तामा उनीहरु एकअर्काको नजिके बसेका थिए', मार्टिनका प्रवक्ताले जानकारी दिएका छन्। त्यस समय पिटरमा कुनै किसिमका लक्षण नदेखिएको समेत बताइयो।
तर, शुक्रबार उनी बिउँझदा उनमा कोभिड १९ का लक्षणहरु देखिए र अस्पताल भर्ना भए।
अस्ट्रेलिया सरकारले सोमबार नै पाँच सयभन्दा धेरै मानिसको जमघटमा रोक लगाएको छ। मेलबर्न इन्टरनेसनल कमेडी फेस्टिभल, अस्ट्रेलियन ग्रान्ड प्रिक्स, सिड्नीज रोयल एस्टर सो लगायत कार्यक्रमहरु रद्द भएका छन्।
अस्ट्रेलियामा कोरोना भाइरसका त्रासका कारण सपिङ सेन्टरहरु रित्तो र सुनसान देखिन थालेका छन्। त्यस्तै त्यहाँका शैक्षिक संस्थाहरु पनि बन्द गर्ने तयारी भइरहेको छ।