
काठमाडौं : सेनाले काठमाडौं तराई/मधेश एक्सप्रेस वे को 'माइलस्टोन' मानिएको सुरुङमार्ग निर्माणका लागि टेण्डर निकालेको छ।
तराई मधेश द्रुतमार्ग आयोजना, जग्गी अड्डा भद्रकालीले शुक्रबार सुरुङमार्ग निर्माण अघि बढाउन आयोजनामा बन्ने तीनवटा सुरुङमार्गको दुईवटा प्याकेजमा ठेक्का निकालेको हो।
पहिलो प्याकेजमा महादेवडाडामा बन्ने सुरुङमार्गको लागि टेण्डर निकालिएको छ। यो सुरुङमार्ग छोक्रेडाडाबाट महादेव खोल्सी निस्कनेछ। जसको लम्वाई ३.३५५ किलोमिटर (चेनेज २६+३५० देखि ३०+६९५) छ।
दोस्रो प्याकेजमा धेद्रे र लेन डाडाँमा निर्माण हुने दुई वटा सुरुङमार्ग रहेका छन्। धेद्रेमा बन्ने सुरुङमार्ग सिमपानी वेसी बाट चालिसे खोल्सी निस्कनेछ। जसको लम्वाई करिव १.६३० किलोमिटर हुनेछ। तेस्रो लेनडाडामा बन्ने सुरुङमार्ग घट्टेपाखादेखि बादरेखोल्सी निस्कनेछ । जसको लम्वाई १.४३० किलोमिटर हुनेछ।
आयोजनाले प्रि क्वालिफिकेशनका लागि टेण्डर निकालेको हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार आयोजनाको माइलस्टोन भएकाले प्रि क्वालिफिकेशन गरेर मात्रै ठेक्का लगाउन लागिएको हो।
'टनेल द्रुतमार्गको कम्प्लिकेटेड काम हो। यसमा अन्तराष्ट्रिय कम्पनीहरु छनोट हुनेछन्। त्यसमा पनि राम्रा कम्पनी परुन भनेर प्रि क्वालिफिकेश गर्न लागिएको हो' उनले भने।
करिव ४५ दिनसम्म टनेल बनाउन इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन्। जसमा अरु प्याकेजमा भन्दा निर्माण कम्पनीका लागि कडा प्रावधान रहने सेनाले जनाएको छ।सुरुङमार्ग इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्न लागिएको हो।
निर्धारित समयमा नै सक्ने भन्दै सेनाले फाष्ट ट्रयाकका लागि होलिष्टिक प्लान बनाएको छ। जसमा ११ वटा प्याकेजमा काम गरिनेछ। टनेल र पुलका लागि अन्तराष्ट्रिय कम्पनी हायर गरेर निर्मानण गरिनेछ। बाँकी नेपाली निर्माण कम्पनीले नै निर्माण गर्नेछन्। आयोजनाको विशेष प्रकृतिका पुल र सुरुङमार्ग 'माईलस्टोन' का रुपमा हेरिएकाले अन्तराष्ट्रिय कम्पनी हायर गरेर निर्माण गर्न लागिएको पाण्डेले जानकारी दिए।
त्यसै गरि सेनाले अन्तराष्ट्रिय कम्पनी हायर गरिने ठेक्काका लागि परामर्शदाता कम्पनी समेत हायर गर्न लागिएको छ।आगामी बैशाख २६ गते सम्म सेनाले ठुला ठेक्काका लागि परामर्शदाता कम्पनी हायर गर्नेछ।
नियम अनुसार ठुला ठेक्कामा परामर्शदाता कम्पनी राखेर मात्रै निर्माण कम्पनीलाई दिन मिल्छ। सेनाले निकालेको टेण्डरमा पाँचवटा परामर्शदाता कम्पनीले आवेदन दिएका छन्। अहिले मुल्याङकन भैरहेको छ। हायर भएपछिअन्तराष्ट्रिय कम्पनीलाई ठेक्का दिने प्रक्रिया सुरु हुनेछ।पराशर्शदाता हायर र ठेक्का सम्झौता संग संगै गर्न लागिएको पाण्डेले जानकारी दिए।
सेनाले उपलब्ध गराएको तथ्याङक अनुसार आयोजनामा ८७ वटा पुल निर्माण हुनेछन्। जसमा ७१ वटा सामान्य मोटरेवल पुल हुनेछन्। जुन नेपाली निर्माण कम्पनीले निर्माण गर्नेछन्। बाँकी १६ वटा पुल विशेष प्रकृतिका हुनेछन्। जुन अन्तराष्ट्रिय कम्पनीले निर्माण गर्नेछ।
पुलको मात्रै १०.५९६ किलोमिटर दुरी हुनेछ। पुलको टेण्डर निकाल्न बिडिङ डकुमेन्ट तयार पारिरहेको सेनाले जनाएको छ।
डबल लेन स्ट्याण्डर्ड एक्सप्रेस वे टनेल निर्माण गर्न लागिएको हो। यो बर्ष सम्झौता सकेर आगामी आर्थिक बर्षबाट कन्ट्रयाक्टर मोविलाईज गरेर काम सुरु गर्ने सेनाले योजना बनाएको सहायकरथी पाण्डेको दाबी छ। सेनाले २०८१ असार सम्ममा फाष्ट तयार पार्ने गरी कार्यातालिका बनाएर काम गरिरहेको जनाएको छ।