काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलनबाट रोक्ने सतर्कताअन्तर्गत सरकारले वसन्त ऋतुमा हुने सबै हिमालका आरोहण इजाजत बन्द गरेको छ। सर्वाधिक आरोहण हुने याममै सगरमाथासहितका हिमाल आरोहणबाट अनुमति बन्द गर्ने निर्णय गरिएको हो।
आरोहण स्थगन हुँदा वार्षिक करिब ६० करोड राजस्व गुम्ने भएको छ। वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै ५० करोड नोक्सानी हुने देखिन्छ।
पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट ४९ करोड ६८ लाख सलामीस्वरुप जम्मा भएको थियो। सगरमाथाबाट मात्रै ४४ करोड २३ लाख राजस्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो।
विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट रु ५६ करोड राजस्व उठेको थियो। यस वर्ष रु ६० करोड सलामी उठाउने लक्ष्य थियो। विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ। यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ।
यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० सलामी तिर्नुपर्ने व्यवस्था छ। सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ ले सफल आरोहण गरेको विभागले जनाएको छ। अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो।
सन् २०१८ को वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए।
त्यस्तै सन् २०१७ मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही समूहले आरोहण अनुमति लिएका थिए। सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ। कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै यस वर्ष वसन्त ऋतुको सबै आरोहण स्थगन गर्ने बिहीवारको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पर्यटन विभागले जरुरी सूचना जारी गर्दै आरोहण स्थगन गरिएको जनाएको छ।