PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

कोरोना भाइरसले पुरुषको अण्डकोषमा क्षति पुर्‍याउन सक्छ : चिकित्सक



पहिलोपोस्ट

कोरोना भाइरसले पुरुषको अण्डकोषमा क्षति पुर्‍याउन सक्छ : चिकित्सक
Photo: VCG

चिनियाँ चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट निको भएका पुरुषहरुलाई आफ्नो प्रजनन क्षमता परीक्षण गर्न आग्रह गरेका छन्। भाइरसले पुरुषको अण्डकोषमा क्षति पुर्‍याउन सक्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन्।

भाइरसले पुरुषको उर्वरता वा यौन शक्तिमा असर पुर्‍याउँछ भन्ने कुनै अध्ययनले भने प्रमाणित गरेको छैन। तर, वुहानका चिकित्सकहरूले उक्त रोगले शुक्राणुको उत्पादन र पुरुषको यौन हर्मोनको उत्पादनलाई असर गर्न सक्ने सम्भावना रहेको बताएका छन्

कोरोना भाइरसले विशेषगरी संक्रमित व्यक्तिको फोक्सो र रोग प्रतिरोधात्मक क्षमतामा आक्रमण गर्ने भएपनि सैद्धान्तिक रुपमा पुरुषको प्रजनन क्षमतामा क्षति पुर्‍याउन सक्ने वुहानको टोङ्जी हस्पिटलले बताएको छ। हस्पिटलको प्रजनन औषधि केन्द्रका प्रोफेसर लि युफेङ र उनको टिमले यस्तो बताएको हो। हुआजोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा आबद्ध टोङ्जी हस्पिटल गत जनवरीमा वुहानमा कोरोनाको आउटब्रेक भएसँगै संक्रमितको उपचारका लागि चिन सरकारले तोकेका अस्पतालमध्येको एक हो।

विज्ञहरुका अनुसार नयाँ कोरोना भाइरस (जसलाई ‘एसएआरएस–सिओभी–२’ पनि भन्ने गरिन्छ) मानव कोषमा पस्छ र आफ्नो बाहिरी तहमा भएको स्पाइक प्रोटिनलाई सेल मेम्ब्रेन प्रोटिनसँग मिलाएर इन्जाइम-२ (एसिई-२)मा परिणत गर्छ। जसले तन्तुमा क्षति पुग्छ।

एसिई-२ मानव शरीरको फोक्सोबाहेकका अन्य अंगमा पाइन्छ र पुरुषको अण्डकोषमा यो प्रशस्त मात्रामा हुन्छ। यो जीवाणु कोष, सहायक कोष तथा लेडिग कोषसहित पुरुष प्रजनन क्षमताहरूसँग प्रत्यक्ष सम्बन्धित थुप्रै कोषमा केन्द्रित हुन सक्ने विज्ञ टोलीको दावी छ।

सन् २००२ र २००३ मा ‘सार्स’ आउटब्रेक हुँदा चिकित्सकहरुले केही पुरुष बिरामीहरुको अण्डकोषमा गम्भीर क्षति पुगेको पाएका थिए। बिरामीको अण्डकोषमा ‘सार्स’ कोरानाभाइरस (अर्थात ‘एसएआरएस-सिओभी’) नपाइएको भएपनि यौनाङ्गमा सूजन हुनसक्ने अध्ययनले देखाएको थियो।

नयाँ कोरोना भाइरस र सार्स कोरोना भाइरस एकै प्रकृतिको भएको र दुवै भाइरसले एसिई-२ लाई होस्ट सेल रिसेप्टरको रुपमा प्रयोग गर्ने भएकाले सैद्धान्तिक रुपमा नयाँ कोराना भाइरसले पुरुषको अण्डकोषमा क्षति पुर्‍याउन सक्ने निश्कर्ष निकालेको हो।

‘त्यसकारण, संक्रमणबाट निको भएका पुरुषहरुले छिटो भन्दा छिटो उनीहरुको प्रजनन क्षमताको परीक्षण गर्नु आवश्यक छ। विशेष गरी बच्चाको आवश्यकता भएकाहरुले शुक्रकिट परीक्षण, हर्मोनको तह परीक्षणबाट संभावित क्षतिको बारेमा जानकारी लिन जरुरी छ,’ अस्पतालको रिपोर्टमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell