PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि अस्पतालले आफैँ शुरु गर्‍यो उत्पादन



रासस

बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि अस्पतालले आफैँ शुरु गर्‍यो उत्पादन

विराटनगर : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आजदेखि स्यानिटाइजर र मास्कको उत्पादन शुरु गरेको छ। स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैँ उत्पादन शुुरु गरेको हो।

उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चापदार्थ बजारबाट खरिद गरी स्यानिटाइजर र मास्क बनाउन शुुरु गरेको अस्पतलका मेडिकल प्रमुख डा संगीता मिश्राले जानकारी दिइन्। अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानिटाइजर उत्पादन गरिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुुसार विभिन्न रसायन मिसाएर स्यानिटाइजर उत्पादन गर्नाका साथै एक हजार थान डबल लेयरको माक्ससमेत बनाइएको प्रमुख डा मिश्राले बताइन्। अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानिटाइजर उत्पादन गरेको र आगामी दिन आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ। अस्पताल प्रमुख डा मिश्राले उत्पादन गरिएको स्यानिटाइजर र माक्स सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुुख डा सुुरेश मेहतालाई हस्तान्तरण गरिन्।

अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ। स्यानिटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ।

यसैगरी अस्पतालले कोभिड-१९ बाट संक्रमितका लागि तीन श्ययाको फिभर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालले कोभिड–१९ संक्रमण बिरामीको जाँचका लागि प्रयोशालासमेत सञ्चालनमा ल्याएको छ। अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी चारदेखि पाँच सय प्रतिशत मूल्य वृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए। प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ। अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन्।

३३ हजार फर्म दर्ता

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न व्यावसायिक कार्यका लागि हालसम्म ३३ हजार ६० प्राइभेट फर्म दर्ता गरेको छ। ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता’ नाराका साथ यही चैत २ गते विश्व उपभोक्ता अधिकार दिवस मनाइने सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोही अवधिमा ९८० साझेदारी र ४२ वटा कम्पनी दर्ता गरेको कार्यालयका निमित्त प्रमुख हिमालय बरालले जानकारी गराए। कार्यालयले आव २०७६÷७७ को माघ मसान्तसम्ममा ६२१ प्राइभेट, ४२ साझेदारी र ३० वटा कम्पनी फर्म दर्ता गरी ५६ लाख पाँच हजार ६५० रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयले गत वर्ष उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत कार्य गर्ने विराटनगरका पाँच फर्मलाई कारबाही गरी पाँच हजारदेखि २० हजार रुपैयाँ जरिबाना गरेको छ। कारबाहीमा पर्ने फर्ममा वंशल भेराइटी, पाल भेराइटी, न्यू नीलकण्ड वाच, न्यू श्याम इम्पेक्स र नेशनल सर्जिकेम सप्लायर्स रहेको प्रमुख बरालले जानकारी गराए।

कार्यालयले गत आर्थिक वर्षमा मोरङ जिल्लामा रहेको १८२ फर्मको अनुगमन गरेको छ। यस वर्षको माघ मसान्तसम्मका ६८ फर्मको अनुगमन गरेको छ।

दिवसका अवसरमा उद्योगी, व्यापारी तथा उपभोक्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ का विषयमा सचेतना कार्यक्रम आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। ऐनअनुसार बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा व्यापारी उपभोक्ता हितविरुद्ध अनुचित क्रियाकलाप गरेको पाइएमा तत्काल पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने अधिकार रहेको प्रमुख बरालले बताए।

कार्यालयले उपभोक्ता संरक्षण ऐन तथा बजार अनुगमनसम्बन्धी विषयमा गत आव विराटनगर, लेटाङ, केराबारी, उर्लाबारी तथा यस वर्ष बेलबारी, विराटनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यालयले बजार अनुगमनका कार्यका लागि कर्मचारी अभाव, स्थानीय, प्रदेशसँग समन्वय र साझेदारीमा कठिनाइ, अन्तरनिकाय समन्वय अभाव, सुरक्षाको प्रत्याभूति र संस्थागत दायित्व बोध तथा संस्थागत प्रयास नभएका जस्ता समस्या रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell