PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनःसंरचना गर्ने



पहिलोपोस्ट

सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनःसंरचना गर्ने
फोटो : रासस।

काठमाडौं : सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनःसंरचना गर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे उनले भ्रमण वर्षलाई सरकारले नयाँ ढंगले पुनःसंरचना गरेको स्पष्ट पारेका हुन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाई भ्रमण वर्षको कार्यक्रम पुनःसंरचना गरिएको बताए।

उनले भने, ‘१० वर्षमा मुलतः पर्यटन सम्बन्धी पूर्वाधारहरुको विकास गर्ने, हवाई पूर्वाधार, सडक पुर्वाधार र नयाँ गन्तव्यहरु निर्माण गर्ने लगायतका कुरामा दश वर्षको विशेष योजना बनाउन खोजिरहेका छौँ। र, प्रत्येक वर्ष विशेष योजनाको नाममा एउटा खास एजेण्डाको रुपमा १० वर्षलाई लक्ष्य बनाई जाने भन्ने हाम्रो सोचाइ रहेको छ।’

मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पारे। उनले भुकम्पले क्षति पुर्‍याएका तारागाउँ विकास समिति अन्तर्गत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुनर्निर्माण भई संञ्चालनमा आएको जानकारी दिए। समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशमलब ६७ प्रतिशत शेयर भएको भन्ने प्रतिवेदनमा उल्लेख भएपनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उनले बताए। समितिको यथार्थ सम्पत्तिको अडिट गर्ने भन्ने सम्बन्धमा पनि मन्त्रालयले तदारुकता देखाएको उनले बताए।

उनले नेपाल वायुसेवा निगमका सम्बन्धमा समितिले दिएको निर्देशन र विभिन्न समयका कार्यदलले दिएको प्रतिवेदनका आधारमा सुधारको प्रक्रिया अघि बढाउनका लागि केही प्राविधिक काम अघि बढेको स्पष्ट पारे। विशेष गरेर निगमलाई सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्ने गरी काम भइरहेको उनले जानकारी दिए।

उनले भने, ‘विशेष गरेर निगमलाई सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेको छ। त्यसका लागि प्रारम्भिक डकुमेन्टेसनको काम शुरु भएको छ।’

उनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने प्रक्रिया शुरु भइसकेको र काठगाउँ, टाँगीया बस्तीका बासिन्दालाई आवश्यक मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको स्पष्ट पारे। ती बस्तीका झण्डै ८५ प्रतिशतले मुआब्जा लिइसकेको र बाँकीको मुआब्जा वितरण पनि छिटै हुने बताए। उनले टाँगीया वस्तीलाई अन्यत्र सार्ने सम्बन्धमा सरोकारित मन्त्रालय र निकाय तथा स्थानीय सरकारसँग पनि समन्वय गर्दे केही स्थानहरुको पहिचान गर्ने काम भएको, वातावरण मन्त्रालयले रुख संख्या किटान गर्ने काम गरिरहेको र त्यसका लागि आवश्यक बजेट पठाईसकेकाले सो काम पनि केही समय भित्रै सम्पन्न हुने बताए। उनले विमान खरिदसँग सम्बन्धित निर्देशनका सम्बन्धमा मन्त्रालयबाट आन्तरिक रुपमा सूचना लिने काम भएको र त्यस सम्बन्धमा भएका प्रगतिलाई यथाशिघ्र जानकारी गराउने बताए।

उनले सरकारले कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा सांस्कृति संग्रालय बनाउने निर्णय अनुसार मन्त्रालयले कार्यदल बनाएर प्रक्रिया अघि बढाएको, कार्यदलको सुझावका आधारमा वायुसेवा सञ्चालकसँग छलफल र परामर्श पछि स्वदेशी तथा विदेशी हवाई यात्रुहरुको भाडा दर निर्धारण गर्ने तयारी भईरहेको, भुकम्पबाट क्षतिग्रस्त ९ सय २० वटा सम्पदाहरु मध्ये ४ सयको पुननिर्माण सम्पन्न भएको र बाँकी सम्पदा २ वर्षभित्र पुनर्निर्माण सम्पन्न गरिने स्पष्ट पारे।

समितिको विभिन्न समयमा समितिबाट भएका निर्देशन तथा सुझावहरुको कार्यान्वयनको प्रगति बारे मन्त्री भट्टराईसँग छलफल गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell