PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

व्यापारीहरुकै अगाडि महिला सिडिओले भनिन् : कालोबजारी गर्नेलाई थुन्छु, भनसुन चल्दैन



रासस

व्यापारीहरुकै अगाडि महिला सिडिओले भनिन् : कालोबजारी गर्नेलाई थुन्छु, भनसुन चल्दैन
PHOTO : facebook

भक्तपुर : भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुन्ने चेतावनी दिएकी छिन्।

भक्तपुर उद्योग वाणिज्य सङ्घले व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारवाही गरेको बताए।

प्रजिअ पाण्डेले भनिन्, 'कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनौं, त्यस्तो भेट्ने बित्तिकै थुनेर कारवाही गर्छौं, जहाँसुकैबाट दबाब आए पनि छाड्दैनौं।' अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव, कालोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले कालोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर गर्नसमेत सबैमा आग्रह गरे।

सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले सङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताए।

अन्तरक्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अभाव हुने हल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अभाव भएको बताए। कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरु नआएर रोकिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अभाव भएको उनीहरुको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell