लामो सहकार्य तोड्दै जब मोटरसाइकलको नामी ब्राण्ड हिरो-होण्डाले छुट्टिने निर्णय गरे, त्यसको प्रत्यक्ष असर नेपालको एक पुरानो ब्यापारिक घरानामा पनि पर्यो। भारतमा जब हिरो र होण्डा डी-मर्जरमा जाँदै थिए, नेपालको ज्योति ग्रुप अफ कम्पनिजभित्र दुई ब्राण्डको बिक्रीवितरणलाई नेपालमा कसरी अघि बढाउने भन्ने चिन्ता हुँदै थियो।
नेपालमा ज्योति ग्रुप अफ कम्पनीज अन्तर्गतको स्याकार कम्पनी लिमिटेडले सन् १९८६ देखि हिरोहोण्डा ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको थियो। सन् २०१० मा जब हिरो र होण्डा छुट्टिए त्यसको सीधा असर कान्तिपथस्थित ज्योति भवनमा पनि पर्यो।
ज्योति भवनमा दायाँ होण्डा र बाँया हिरोको शोरुम खडा भयो। कर्मचारी छुट्याइए, मेकानिक छुट्याइए, वेयरहाउस छुट्टियो, प्रोक्योरमेन्ट छुट्टाछुट्टै हुन थाल्यो। स्याकर कम्पनीले होण्डाको वितरण गर्ने, अनि नेपाल जनरल मार्केटिङ प्रालि (एनजिएम) ले हिरो ब्राण्डको बिक्रीवितरण गर्ने निर्णय भयो। यसरी एकै परिवारभित्रको ब्यापार दुई भागमा बाँडियो। कुनै बेला एउटै ब्राण्डका लागि काम गरिरहेका दाजुभाई अब प्रतिस्पर्धीका रूपमा दुई छुट्टाछुट्टै ब्राण्डको बजार विस्तारमा लागे। हिरो ब्राण्डका मोटरसाइकलको कारोबारका लागि सन् २०१२ मा स्थापित कम्पनी एनजिएमलाई त्यसैबेलादेखि डोर्याइरहेका छन् अध्यक्ष अभिक ज्योतिले।
उनका अनुसार सुरुमा हिरो ब्राण्डलाई नेपाली बजारमा स्थापित गर्न धेरै गाह्रो भएको थियो। त्यो 'क्रुसियल टाइम म्यानेज' गर्न अभिकले धेरै कुरा सिक्नु पर्यो। हिरो-होण्डा एउटै भएको समयमा काम गरेका अभिक अब आफ्नै दाजुले बिक्रीवितरण गर्ने ब्राण्ड 'होण्डा' को प्रतिष्पर्धी ! बडा अनौठोगरी भएको थियो त्यो बाँडफाँट।
कम्पनी छुट्टिँदा भारतमा हिरोले केही वर्ष निर्यात गर्न नपाउने सम्झौता भएको थियो, त्यसकारण तीन/चार वर्षसम्म हिरोले पुरानै मोडलमा मात्र बस्नुपर्यो। सर्वसाधारणको दिमागमा पनि हिरो-होण्डा एउटै ब्राण्ड हो भन्ने छाप लामो समयसम्म रहिरह्यो। एक त धेरै प्रोडक्ट थिएन । छुट्टिँदा हिरोले स्प्लेण्डर प्लस, आइ स्मार्ट १००, इम्पल्स, प्यासन एक्स-प्रो जस्ता सीमित प्रोडक्टहरुलाई बजारमा उभ्याउनु कम चुनौतीपूर्ण भएन।
तर अभिक हिरोको ब्यापार अघि बढाउन हजुरबुवा मणिहर्ष ज्योतिको सिद्धान्त अनुसरण गरेको बताउँछन्। 'हजुरबुवाले ज्योति ग्रुप सुरु गर्दा, अझ भनौं हिमाल आइरन सुरु गर्दादेखि नै ग्राहकलाई उच्च गुणस्तरको सामाग्री इकोनोमिकल प्राइसमा दिने नीति लिनुभएको थियो। त्यही हिसाबमा हिरो पनि अघि बढ्यो। हामीले ग्राहकलाई हेर्ने दृष्टिकोण नै बदल्यौं,' उनी भन्छन्, 'पहिले पुस र पुल मार्केटमात्र थियो। हिरो बन्नासाथ हामीले कस्टमर सर्भिसमा ध्यान दिन थाल्यौं। त्यहाँबाट नै हिरोको बजार धेरै विस्तार भयो। शाखाहरु त पहिलेदेखि नै थिए। पछि नेटवर्क बढाइयो। लगानी नै ठूलो गर्नुपर्यो।'
जतिबेला हिरो र होण्डा छुट्टियो, त्यो बेला अन्य ब्राण्डहरु पनि प्रतिस्पर्धामा थिए। हिरो भन्ने कम्पनी होण्डाको टेक्नोलोजीमा डिपेन्डेन्ट छ, त्यसैले अब बजारमा हिरोको कुनै नयाँ मोडल आउँदैन भन्ने हल्ला पनि ब्यापक भयो। हिरोलाई कसरी बजारमा अस्तित्व कायम गर्ने भन्ने चुनौती ठूलो थियो। सबैभन्दा पहिले त हिरो र होण्डा छुट्टै हो भन्ने बनाउन र 'हिरो' नामलाई मात्र बजारमा स्थापित गर्न कम्पनी ब्राण्डिङमा एग्रेसिभ भयो। जति बेला स्याकारबाट छुट्टिएर नेपाल जनरल मार्केटिङ भनेर डिल गर्नुपर्यो, त्यसपछि त ज्योति परिवारमा घरभित्रै पनि प्रतिस्पर्धा सुरु भयो। अहिलेको अवस्थामा अभिक हिरोको बजारबाट सन्तुष्ट छन्।
कम्पनी छुट्टिँदाको समय सम्झिँदै अभिक भन्छन् -'कठिन दिनहरु पार गरिसकेका छौं। तर पनि पुरानो दिन र त्यसबेलाको टिथिङ प्रोब्लम सम्झिँदा अहिले निकै लामो समय लाग्यो जस्तो लाग्छ आजसम्म आइपुग्न। आज हामी बजारमा तेस्रो नम्बरमा छौं भन्न सक्ने अवस्थामा पुगेका छौं।'
अहिले कम्पनीले हरेक वर्ष 'माइलेज च्यालेन्ज' गर्छ। यसबाट वार्षिक झण्डै ५ सय ग्राहकहरुले आफ्नो मोटरसाइकलको माइलेज टेस्टिङ गर्छन्। रोड शो, सर्भिस क्याम्प अनि मेलाहरुमा हुने सहभागिताले पनि हिरोलाई आफ्नै परिचय बनाउन सघाउँदै गयो। 'यसबाट के भयो भने जति पनि बिक्री घट्यो सुरुमै घट्यो त्यसपछि भने त्यो मेन्टेन भइरह्यो। अझै पनि हामीलाई एउटा चुनौती बाँकी नै छ जस्तो लाग्छ कि धेरै ग्राहकको मनमा हिरो र होण्डा एउटै हो भन्ने मानसिकता अझै पनि छ। तर हामी बिस्तारै त्यसलाई बदल्दैछौं,' अभिकले सुनाए।
'हिरोको बजार स्कुटर र १५० सिसीका मोटरसाइकलमा छ। प्रिमियमभन्दा पनि स्कुटरमा नै 'पुस' भयो। प्लेजर १२५ सिसीमा गएको छ, फास्टेस्ट ग्रोइङ छ हाम्रो ब्राण्ड,' उनी भन्छन्, 'हाम्रो डेस्टिनी र प्लेजर प्लसले स्कुटरमा प्रतिस्पर्धा गर्न सक्छ।'
'सन् २००७ मा लञ्च भएको मोडलहरु नै हामीले सन् २०१५ सम्म पनि बिक्री गर्न पर्यो। अब चैं धेरै प्रोडक्ट ल्याएकाले स्पेस लिन सक्ने देखिन्छ। आउने दिन हिरोको स्ट्रेन्थ भनेको १०० र १२५ सिसीमा हो। स्कुटरको एक तिहाइ बजार छ भने १२५ सिसीको २५ प्रतिशत बाँकी सबै प्रिमियममा छ। एक्स पल्स र एक्सट्रिम २०० स्पोर्टी लुक र युथ ड्रिभन छ,'- अभिकलाई लाग्छ अहिले एक्सट्रिम आरले युथलाई तानेको छ।
बिजनेसमा इन्जिनियरको इन्ट्री
अभिकले कक्षा तीनदेखि १० सम्म खर्साङमा पढे। मसुरीको सेन्ट जोजेफ कलेजबाट प्लस टु सकेलगत्तै इलेक्ट्रिकल इन्जिनियरिङ गर्न पुगे बोस्टनको नर्थ इस्टर्न युनिभर्सिटी। त्यहीँबाट केही समय काम गर्दै केही समय पढ्दै इन्जिनियरिङ म्यानेजमेन्टमा मास्टर्ससम्मको पढाइ सके। कलेजमा पढाइका साथसाथै कोअपरेटिभ एजुकेसन हुन्थ्यो। उनले त्यहाँ पढ्दा नौ महिना बेल मोबाइलमा र नौ महिना नेपालको विद्युत प्राधिरणजस्तै बिजुली वितरण गर्ने एक कम्पनीमा काम गरेर ब्यवहारिक ज्ञान बटुले। रुचिको क्षेत्र इन्जिनियरिङ हुँदाहुँदै पनि उनी स्पष्ट थिए- पढाइ सकेर नेपाल फर्केनु नै पर्छ। सानैदेखि उनलाई थियो हजुरबुवाको त्यो ठूलो ब्यापारिक बिरासतमा इँटा थप्ने काम उनको पनि हुनेछ, जुन उनका बुवा र ठूलोबुवाका साथै ठूलोबुवाका छोराहरुले गरिरहेका थिए।
'मलाई सानैदेखि कम्प्युटरमा रुचि थियो। मैले इलेक्ट्रिकल इन्जिनियरिङ पढेँ। ठूलोबुवा मेकानिकल इन्जिनियर, बुवा केमिकल इन्जिनियर। दाइहरु इण्डष्ट्रियल इन्जिनियर। हामी सबैले इन्जिनियरिङ पढेर ब्यापारमा आउँदाको फाइदा पनि भयो। इन्जिनियरहरुको काम गर्ने तरिका एकदमै 'स्ट्रक्चर्ड' हुन्छ। अलिकति बिजनेस र म्यानेजमेन्टको जानकारी 'ब्याक अफ दि माइन्ड' राख्यो भने त भैहाल्छ,'- उनले इन्जिनियरिङ पढ्दाका फाइदा केलाए।
'इन्जिनियरिङ पनि एक्लै प्रोब्लम सल्भ गर्ने पेसा पर्यो। सानो ग्रुपमा काम गर्ने प्रणालीको विकास हुन्छ त्यहाँ पनि। नेपाल फर्किएपछि आफ्नो कम्पनीको तर्फबाट डिल गर्न सुरु गर्दा बानी नै थिएन। सुरुमा पर्सनल रिलेसन डेभलप गर्न पनि गाह्रो भयो। अब चाहिँ विस्तारै बानी पार्दैछु,'- उनी मुस्कुराए।
इन्जिनियरिङ पढेपनि ब्यापारमा 'ह्युमन इलेमेन्ट' हुनुपर्छ भन्नेमा अभिक विश्वास गर्छन्। आर्टिफिसियल इन्टेलिजेन्सले मानव संसाधनलाई बिस्थापन गर्न सम्भव नहुने उनलाई लाग्छ।
कल्पना गरौं त ! शोरुममा मानिसको सट्टा रोबोटले तपाईंसँग डिल गर्न थाल्यो भने के हुन्छ ? उनले बिजनेसमा मानिसहरुसँगको सम्बन्ध जरुरी देखेका छन्, किनभने कम्युनिकेसन र ह्युमन एलिमेन्ट बिजनेसबाट कहिल्यै अलग नहुने कुरा हो।
नेपाल फर्कनेबित्तिकै उनले आफ्नै ग्रुपअन्तर्गतको हिमाल आइरनको मार्केटिङबाट काम सुरु गरे। इलेक्ट्रिकल इन्जिनियरिङ पढेकाले कम्प्युटर सेक्सनको जिम्मा उनलाई दिइयो। विस्तारै अकाउन्टिङ, डिस्प्याच, प्रोक्योरमेन्ट हुँदै प्रोडक्सनसम्मको काम उनलाई सिकाइयो।
उनले सुरुमा स्याकारअन्तर्गत हिरो-होण्डा ब्राण्डको मोटरसाइकलको काठमाडौं भित्रको बजार हेर्ने जिम्मा पाए। जतिबेला हिरो र होण्डा छुट्टिए, ठूलो बुवाका छोराहरू सौरभ र सुहृद ज्योतिले होण्डाको ब्यापार सम्हाले। हिरो अभिक र उनकी दिदीको भागमा पर्यो। हाल दिदी-भाइले मिलेर हिरोको कारोबारका साथै कम्पनीका अरु भेन्चरहरुमा पनि काम गरिरहेका छन्।
अभिक भन्छन्-'हिरोबाहेक पनि हाम्रो ग्रुपको डाइभर्स ब्यापार छ। सबैमा हामी इन्भल्भ छौं। म हिमाल आइरन, ज्योति स्पिनिङ मिल र भाजुरत्न फर्म सबै हेरिरहेको छु। ग्राण्डी हस्पिटल र ग्राण्डीसिटी क्लिनिकमा पनि हामी लागिरहेका छौं।'
विपश्यनाले गराएको बोध
पढाइका बेला जेमा इच्छा छ त्यही पढ भनेर बुवा रूप ज्योतिले भनेपछि अभिकले रुचिकै विषय इन्जिनियरिङ पढे। बुवाले उनलाई १४ वर्षकै उमेरदेखि विपश्यनाको बाटोतर्फ पनि डोर्याएका थिए। पहिलोपटक उनले १० दिनको ध्यान शिविरमा जाँदा न ध्यान भन्ने केही बुझियो न त्यसको अर्थ। नेपालमा छँदा सुरु भएको विपश्यना तर्फको बाटो अमेरिका गएपछि अझ बढी सोझियो।
अमेरिका पढेर नेपालमा फर्किएर सेटल हुनु सजिलो काम होइन। त्यहाँ तीन दिनमा कमाउने पैसा यहाँ कमाउन एक महिना लाग्छ। हरेक दिन राजनीति बदलिन्छ, अर्थतन्त्र बदलिन्छ बजारले लय बदल्छ।
कहिलेकाहीँ त यहाँको प्रदूषण र धुलोधुँवाले पनि निराश बनाइदिन्छ। तर समस्या कहाँ छैन र ! अमेरिका यूरोप जस्ता विकसित देशमा अर्कै किसिमका समस्या छन्। त्यहाँ पैसा त छ, तर यहाँ जस्तो परिवार हुन्न। आफ्नाहरु हुन्नन्। यहाँ काम गर्नु छ भने चुनौती त लिनैपर्छ। अभिक यसरी आफ्नै चित्त बुझाउँछन्। 'अनित्य' को मन्त्रलाई याद गर्छन्।
१९९८ मा 'ब्याचलर' गर्न गएपछि उनले ६ वर्ष अमेरिकामा बिताए। अमेरिका बस्दा उनले एक साधक भेटे। उनले अभिकमा ध्यानको यस्तो चस्का लगाए कि नेपालमा नदिएको चासो अमेरिका बस्दा दिन थाले। महिनामा १० दिन त विपश्यना गर्न शिविर जान्थें। जीवनमा ध्यानले कस्तो प्रभाव पार्छ भन्ने बुझेपछि उनी मानसिक रूपमा पनि नेपाल फर्कन तयार भए। निराशा हटाउन ध्यानले धेरै मद्दत गरेको उनको बुझाई छ। जतिबेला उनलाई असहज अवस्था सिर्जना हुन्छ। जब उनी निराश हुन थाल्छन् अनि यो सबै अनित्य हो भनेर आफैंलाई बुझाउने शक्ति उनलाई ध्यानबाटै प्राप्त हुन्छ।
अभिकलाई हेर्दा लाग्दैन उनी ब्यापारमा मात्र डुबेका छन्। न त कर्पोरेट 'रवाफ' नै छ। एउटा उद्यमीको अनुहारमा सँधै शान्त मुद्रा सम्भव छ ?
'छ नि ! 'जब संसार अनित्य छ र 'हरेक कुरा बदलिन्छ' भन्ने बोध हुन्छ तब कुनै चिजले पनि मन मष्तिष्कलाई प्रभावित पार्न सक्दैन।'- साधक जस्तो सुनिए अभिक।
यसको पछाडि उनले बच्चैदेखि अनुशरण गरेको विपश्यनाले काम गरेको छ। उनी हरेक दिन २ घण्टा ध्यान गर्छन् र पञ्चशील पालना गर्छन्। फुर्सदमा उनी साइन्स फिक्सनहरु पढेर बस्न रुचाउँछन्। महात्मा गान्धीको अटोबायोग्राफी 'माइ एक्सपेरिमेन्ट विद द ट्रुथ' उनलाई सबैभन्दा बढी प्रभावित पारेको किताब हो। गान्धी महात्मा हुनुअघिको संघर्ष र संवेदनाले भरिएको किताब भएकाले पनि त्यो उनलाई असाध्यै मन परेको रहेछ। त्यसो त उनका हजुरबुवा मणिहर्ष ज्योतिले पनि महात्मा गान्धीको सत्याग्रहको आन्दोलनमा भाग लिएका थिए। अभिकलाई पार्टीहरुमा जानुभन्दा बरु बोटबिरुवा र माछासँग खेल्न मन पर्छ। घरमा एक्वेरियम छ। वर्किङ टेबल वरिपरि बोटबिरुवा राखिएका छन्। बिजनेस सर्कलमा पनि उनको उपस्थिति पातलो रहन्छ ।
'इन्ट्रोभर्ट छु म,' -अभिकले आफ्नो स्वभाव सुनाए।
अनि ब्यापार चैं कसरी चल्छ त ? जिज्ञासामा लामो हाँसोका साथ उनले भने- 'त्यसबेला त बडो एक्स्ट्रोभर्टको अभिनय गर्छु नि।'
हिमालको 'भ्यालु' बिजनेस
डण्डीको ब्यापारलाई 'अप डाउन'को बिजनेसका रूपमा अभिकले हेरेका छन्। फाइदा हुँदा धेरै फ्याक्ट्री खुल्ने, अनि 'डाउन ग्रेड' हुँदा बन्द हुने अवस्था बार बिजनेसमा देखिन्छ। तर हिमाल आइरन भने सँधै 'भ्यालु' सहित बजारमा टिकिरह्यो।
'हामीले नै पहिलोपटक कम्प्युटराइज वेट ट्याग ल्यायौं। गुणस्तर सेटअप भएकै हाम्रो कारणले हो। हामीले क्वालिटी टेस्टिङ गर्छौं। स्ट्रेन्थ डिपो सिस्टम पनि हामीले लागू गर्यौ, जसमा हाम्रो आफ्नै बिलिङ हुन्छ। डिपोहरुमा कम्प्युटराइज प्रविधि हामीले नै सुरु गरेको हो। अहिलेसम्म पनि हामी आफ्नो मूल्य अखबारमा प्रकाशित गर्छौं। हामी लङ टर्ममा बस्न सकेकै कारण ग्राहकलाई गुणस्तरीय सुविधा र प्रोडक्ट दिन सकिरहेका छौं,'- अभिकले सुनाए।
यति हुँदाहुँदै पनि ज्योति ग्रुप बिजनेसमा प्यासिभ देखिएको टिप्पणी हुने गर्छ। अभिक प्यासिभभन्दा पनि 'स्लो ग्रोथ' रहेको स्वीकार्छन्। खासमा हिमाल आइरनमा विगत ५० वर्षको इतिहासमा पनि खास प्रोडक्ट बदलिएको छैन। द्वन्द्वको समय थियो, बिजुली थिएन। कच्चा पदार्थ ल्याउनै गाह्रो। अनि त्यतिबेला आरसिसीको घर बनाउने चलन पनि धेरै नभएको। त्यसले हिमाल आइरनलाई प्रभावित बनायो। तर गुणस्तरमा सम्झौता नगरेकै कारण हिमालको 'भ्यालु' स्थापित भएको उनले बताए।
ज्योति स्पिनिङ मिलमा भने सरकारी नीतिका कारण कठिनाई भएको उनको तर्क छ। जतिबेला उद्योग स्थापना भएको थियो त्यसबेला मिलमा कटनलाई मात्र प्राथमिकता दिनुपर्ने सर्त राखिएकाले त्यसै अनुसारको मेशिनरी प्लान्ट लगाइयो। पछि पोलिस्टरका कच्चापदार्थ प्रयोग हुने कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो। त्यसले पनि मिललाई प्रभावित पार्यो। अब भने मिललाई अपग्रेड गरी प्रतिस्पर्धामा आउने सोच कम्पनीले बनाएको छ। अभिक भन्छन् -'१० वर्ष अघिसम्म पनि हामी कसरी टिक्न सक्छौं भन्ने नै थियो। अहिलेमात्रै हामीले मार्केटिङ पोसिबिलिटी देखिरहेका छौं।'
कम्पनीले बिक्रीवितरण गर्ने फिलिप्स ब्राण्डमा पनि प्यारेन्ट कम्पनीले नै प्रोडक्ट प्रोफाइल घटाउँदै लगेपछि त्यहाँ पनि एग्रेसिभ हुन मिलेन। ग्राण्डी हस्पिटल र ग्राण्डीसिटी क्लिनिकमा भने आफूहरु एग्रेसिभ रहेको उनले बताए।
पुस्तैनी भरोसा र सिद्धान्तमा अडिएको ब्यापार
पुरानो पुस्ता र नयाँ पुस्ताबीच द्वन्द्व हुन्छ भन्ने कुरा किताबमा लेखिएको मात्र होला भन्ने अभिकको बुझाइ हो। किनभने ब्यापारका हिसाबले उनका बुवा रुप ज्योति 'अहेड अफ द कर्भ' छन् जस्तो उनलाई लाग्छ। 'हामीलाई त बुवाले सिकाउनुहुन्छ। रिस्क लिनुहुन्छ, अघि बढाउनुहुन्छ हामी अपरेट गर्छौं। अहिलेसम्म त त्यस्तै भइरहेको छ,' उनी सुनाउँछन्।
हजुरबुवाकै पालादेखि सिनेमा हल मदिरा उद्योग र होटलमा लगानी नगर्ने सिद्धान्त थियो। अभिक त्यही बाटोमा अघि बढ्ने बताउँछन्।
उनले नेपालमा इन्टरनेट बिजनेसमा भविष्य देखेका छन्। पेनड्राइभमा डेटा बोकेर आउने समयदेखि अनलाइनसम्म आउँदा इन्टरनेटको स्पिडमा सुधार हुनुपर्ने टड्कारो महसुस भएको छ उनलाई। तर मोटरसाइकलको एसम्ब्ली प्लान्ट राख्दामा भने उनले फाइदा देखेका छैन। त्यसैले हिरोको एसेम्ब्ली प्लान्ट राख्ने कुरामा उनलाई उस्तो चासो पनि छैन। बरु हिमाल आइरन र ज्योति स्पिनिङ मिलको विस्तारमा एग्रेसिभली लाग्ने योजना बनेको छ। हिमाल आइरन र हिरो मोटरसाइकलको 'डिसिजन मेकिङ' गर्ने अभिकले हिमालको एक्सपान्सन गरी उत्पादनलाई तेब्बरसम्म विस्तार गर्ने योजना सुनाए। हिमाल आइरनले ग्राहकको आवश्यकता पूरा गर्न अझै उत्पादन बढाउनुपर्ने आवश्यकता भएकाले 'एग्रेसिभली एक्सपान्सन' मा लागेको उनले बताए। ग्राण्डी अस्पताल र ग्राण्डीसिटी क्लिनिक त छँदैछ। अब औषधी फ्याक्ट्री स्थापना गर्नेतर्फ पनि अभिकको ध्यान गएको छ।
अभिक दीर्घकालीन वृद्धिमा विश्वास गर्छन्। सिद्धान्तमा बाँधिएर काम गर्दा कम्पनीको ग्रोथ 'स्लो' भएपनि त्यो दीर्घकालसम्म टिकाउ हुन्छ भन्ने उनले बुझेका छन्। अभिक भन्छन्- 'हजुरबुवाले कहिल्यै ब्यापारमा सम्झौता गर्नुभएन। उहाँले होटल, सिनेमा र मदिरा ब्यापार नगर्ने अडान लिनुभएको थियो। त्यो हामी पालना गर्छौं। उहाँले परवानीपुरमा रोप्नुभएको आँपको रुखको फल जब आज हामी खान्छौं त्यसबाट पाठ पनि सिक्छौं। बुवा पनि भन्नुहुन्छ- 'फाइदा हुँदा बिल्डिङका बिल्डिङ ठड्याउने अनि घाटा हुँदा सबै बेच्दै जाने जसरी हामीले ब्यापार गर्ने होइन!' हामीले त पुस्तैनी ब्यापारको साख जोगाएर अघि बढ्ने हो।'