
काठमाडौं : आफ्नै छोराको अपहरण भएको भन्दै प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरी डाक्कनेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने जासर मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले नियन्त्रणमा लिएको हो।
मियाँले छोरो अपहरण भएको मौखिक उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालयको सयुक्त टोली अपहरित भनिएको बालकको खोजी गरेको थियो।
तर, बालकको अपहरण नभएको थाहा पाएपछि झुटो जानकारी दिएकोमा उजुरी दिने मियाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक बाबुराम कार्कीले जानकारी दिए।
शुक्रवार करिब साढे २ बजेतिर मियाँका १२ वर्षीय छोरा ज्याउदिन खान सुतिरहेको अवस्थामा अज्ञात मानिसले घरमा आएर मोटरसाइकलमा राखेर लगेको जानकारी मियाँले प्रहरीलाई दिएका थिए। बच्चा रुन कराउन थालेपछि बाहिर निस्किएर हेर्दा मोटरसाइकलको आवाज मात्र सुनेको मियाँले प्रहरीमा मौखिक बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
त्यसपछि प्रहरीले बालकको खोजी शुरु गरेको थियो। तर, बालक आफन्त फुपु दिदीको घरमा गइ बसेको अबस्थामा प्रहरीले फेला पारेको थियो। तर, बालक आफैँ फूपुको घरमा गएर बसेको खुलेपछि प्रहरीले 'जोक' गरेको भन्दै मियाँलाई नियन्त्रणमा लिएको हो।
त्यसो त तीन दिनअघि मात्र प्रहरीले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ३ बाँसबारी बस्ने शिवनारायण महतोका २४ वर्षीय छोरा मुकेशकुमार महतोलाई आफ्नै बुबासँग रकम लिनको लागि अपहरणको नाटक गरेको अभियोगमा पक्राउ गरेको थियो।