PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोनाको त्रासका कारण वीरगंज नाका सुनसान, आयातमा आयो गिरावट



राधेश्याम पटेल

कोरोनाको त्रासका कारण वीरगंज नाका सुनसान, आयातमा आयो गिरावट

वीरगंज : वीरगंज भन्सार नाकाबाट विभिन्न मालसामानको पैठारीमा गिरावट आएको छ। कोरोना भाइरसको त्रास र होलीका कारण सातादेखि भन्सार नाकाबाट भित्रिने मालवस्तुको संख्यामा निकै गिरावट आएको भन्सार अधिकारीहरुको अनुमान छ।

वीरगंज भन्सारको तथ्यांक अनुसार फागुन २९ र ३० गते जम्मा १३ करोड रुपैयाँ राजस्व असुली भएको छ भने २८ गते १९ करोड ८१ लाख, २७ गते ३ लाख, २६ गते ९ करोड ७१ लाख रुपैयाँसहित महिनाभरी ४२ अर्ब रुपैयाँको हाराहारीमा राजस्व असुली भएको छ।

वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार पहिलेको तुलनामा मालसामान बोकेका सवारी साधनमा आंशिक रुपमा कमी आएको तर आगामी सोमवारदेखि वृद्धि हुने अनुमान गरिएको छ।

‘निकासी कम देखिएको छ, १२ महिनाको लागि १ खर्ब ८८ अर्ब वीरगंज भन्सारले लक्ष्य पाएकोमा अहिले करीब १ खर्बको हाराहारीमा राजस्व असुली भइसकेको छ’, उनले भने, ‘यो लक्ष्यको ७२ प्रतिशत हो। तर, कोरोनाले गर्दा आगामी दुई महिना निकै कम राजस्व उठ्ने विश्लेषण गरिदैछ।’

होलीले गर्दा पनि आयातकर्ता, व्यवसायी, क्लियरिङ एजेन्ट, सवारी चालकलगायत बिदामा घर गएकोले जति सामान छुट्नु पर्ने हो त्यति नछुटेको उनको भनाइ छ। मुख्यतया भारत, चीन, मलेशिया, थाइल्यान्ड, अमेरिका, क्यानडालगायत मुलुकबाट मालवस्तुहरु वीरगंज नाका हुँदै भित्रिने गरेको छ। पानीजहाजबाट कोलकाता र विशाखापट्टनम वा भारतको अन्य प्रान्तबाट मालवस्तु बोकेको ट्रकहरु पनि वीरगंज नाका हुँदै नेपाल भित्रिन्छ। होली अगाडि दैनिक ६/७ सय गाडीहरु आउँथ्यो भने अहिले सयभन्दा पनि कम गाडी आएको वीरगंज भन्सारले जनाएको छ।

यसैगरी वीरगंज भन्सारको सीमावर्ती रक्सौल भन्सारको पनि अवस्था उस्तै छ। होली यता मालवस्तु र सर्वसाधारणको आवागमनमा पनि कमी आएको रक्सौल भन्सारका अधिकारीहरुले बताएका छन्। रक्सौल भन्सारका एकजना अधिकारीले कोरोना महामारीले विश्व त्रसित भए तापनि रक्सौल-वीरगंज नाका भएर आउजाउ गर्ने सवारीसाधन तथा मालवस्तुको गाडीहरुमा केही मात्रामा असर गरेको बताए।

पूर्णरुपले रक्सौल भएर निकासी गरिने मालसामान बीस प्रतिशतले कमी भए तापनि कोरोनाकै कारणले रक्सौल नाकाबाट आपूर्ति नैं ठप्प हुने अवस्था नरहेको उनको दावी छ। होलीले गर्दा दुवै भन्सारको चहलपहल कम भएको हुनसक्ने उनको भनाइ थियो।

यसैबीच पशु सेवा विभागको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन २८ गते भन्सार बिन्दुबाट भित्रिने खाद्य वस्तुको क्वारेन्टाइन जाँच गरेर मात्र नेपाल प्रवेश गराउनुपर्ने निर्देशन जारी गरेपछि नेपालका व्यवसायीहरु त्रसित छन्।

वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैदका अनुसार चीनसँगै विश्वका अधिकांश मुलुकमा कोरोनाको कहरको कारण सबै देशको व्यापार प्रभावित भएकोले नेपाल सरकारको यस्तो निर्देशनले गर्दा पनि आयातमा कमी आएको हुनसक्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell