अत्तरिया : कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका-६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना ४ ख ४५२८ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको से १ ह २११४ नम्बरको अटो एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा अटोचालक मानबहादुर बिक, अटोमा सवार गोदावरीकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन्।
बस चालक डडेल्धुरा परशुराम नगरपालिका-६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।