PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

आचरण सुधार गर्न भन्दै हटाइए सादा पोशाकका ७४ प्रहरी



पहिलोपोस्ट

आचरण सुधार गर्न भन्दै हटाइए सादा पोशाकका ७४ प्रहरी

काठमाडौं : उल्लेखनीय काम गर्न नसकेको भन्दै सादा पोसाकमा खटाइएका प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहतका कार्यालयमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानलाई जिम्मेवारीबाट हटाइ महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

प्रहरीको आचरण सुधार गर्ने, प्रहरीप्रति लागेको लाञ्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको कार्यालयको भनाइ छ। आचरण सुधारको हिसाबले पठाइएका प्रहरी अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत सञ्चालन गरिने छ।

अबदेखि हरेक महिना इन्टेलिजेन्ट ग्रुपमा कार्यरत कर्मचारीहरूमा सकारात्मक आचरण र तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको मूल्याकङ्न हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए।

साथै अब सादा पोशाकमा कार्यरत प्रहरीहरू मुलत: प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell