PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

मदिरा सेवनबाट मृत्यु भएको घटनामा ‘सप्लायर’सहित ७ जना पक्राउ



पहिलोपोस्ट

मदिरा सेवनबाट मृत्यु भएको घटनामा ‘सप्लायर’सहित ७ जना पक्राउ

काठमाडौं : धनुषामा मदिरा सेवनबाट आधा दर्जन बढीको मृत्यु भएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। अवैध घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको घटनामा मदिरा सप्लायर्स सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

फागुन २९ देखि चैत १ गतेसम्म अवैध घरेलु मदिरा सेवनबाट जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ को रमदैयामा मदिरा सेवनबाट मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मदिरा सप्लायर्स महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ सखरी टोलका जगतनारायण मण्डल, विक्रेताहरु लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाका तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका १४ रजौलका शितल देवी यादव रहेका छन्।

प्रहरीका अनुसार महोत्तरीको भंगहामा बनेको अवैध घरेलु मदिरा जगतनारायण मार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी बिक्री गरिँदै आएको थियो। सोही मदिरा सेवनबाट यति ठूलो संख्यामा व्यक्तिहरुको मृत्यु हुन गएको हो। भंगहामा बनाइएको सो मदिरा ब्राण्डेड मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरी बिक्री गरिदै आएको बताइएको छ।

अहिलेसम्म मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रमदैया १ का रामनारायण महरा वडा नम्बर २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल, श्रीदेव यादवको मृत्यु भएको हो। यसैगरी रामईश्वर महरा, प्रदीप सादा, भरत मण्डल, मनिर नादाफ, भरत सादा र सीताराम यादवको अवस्था गम्भीर रहेको छ। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell