
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउपालिका -६ खिवाङमा शनिवार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेद्वयलाई अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक पुन र गर्बुजा छिमेकी हुन्।
यसैबीच शनिवार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ। धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो।
दुई-तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन्। यो वर्षको मङ्सिरयता नौ पटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताए। बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन्। हिमपातका कारण सो गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड तथा रघुगङ्गा गाउँपालिकाको ३७.५ मेगावाट क्षमताको कुइनेमङ्गले रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भएको प्रवर्द्धकले बताएका छन्। रासस