
काठमाडौं : सात वर्षअघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थप्पड हान्ने एक युवक फेरि पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले बाग्लुङ राजकुटका पदम कुँवरलाई शनिवार नियन्त्रणमा लिएको थियो।
यसपटक भने उनलाई कसैलाई थप्पड हानेको अभियोगमा नभएर संसद भवन भित्र अनुमती बीना प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएको हो। तर उनी किन संसद भवनभित्र छिरे भन्ने खुल्न सकेको छैन।
'छिर्न मन लागेर छिरेको भन्ने बयान दिएको छ। अरु कारण केही पनि देखिँदैन। थप अनुसन्धान गरिरहेका छै', महानगरीय प्रहरी वृतका डिएसपी दुर्गा रेग्मीले भने।
प्रहरीको बयानमा कुँवरले 'देशका ठुला मान्छे यही बस्छन्। दर्शन गर्न पाइन्छ कि भनेर छिर्न खोजेको' मौखिक बयान दिएका छन्। कुँवरले २०६९ मंसीरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएको बेला प्रचण्डलाई थप्पड हानेका थिए। सात वर्षअघि नेत्रविक्रम चन्द सयोजक रहेको वैद्य माओवादीको जन स्वयंसेवक ब्युरोका जिल्ला सदस्य रहेको खुलेको थियो।