PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

नेपालमा कोरोना भाइरस भित्रिन नदिन यस्ता छन् सरकारका तयारी



पहिलोपोस्ट

नेपालमा कोरोना भाइरस भित्रिन नदिन यस्ता छन् सरकारका तयारी
फाइल फोटो।

काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई भित्रिन नदिने गरि आवश्यक तयारी गरेको भन्दै भयभीत नहुन सबैलाई अपिल गरेको छ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयास बारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत नबन्न सबैलाई आग्रह गरेका हुन्। उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको स्पष्ट पारे।

मन्त्री ढकालका अनुसार अहिले सम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका छन्। उनले कोरोना संक्रमणलाई मुलुकमा भित्रिन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताए।

संभावित जोखिमलाई मध्यनजर गरी सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आइसियु बेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे। हाल काठमाडौंमा १ सय ७० बेडको आइसियु सञ्चालनमा छन्। उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आइसियुको व्यवस्था तत्काल गर्ने काममा भइरहेको उनले स्पष्ट पारे।

त्यसैगरी १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रित भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरी आवश्यक व्यवस्था मिलाउने र आवश्यक औषधि र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको उनले स्पष्ट पारे।

उनले सिडिओ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिँदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थल नाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुँदै आउने तेस्रो मुलुकका नागरिक र नेपाली नागरिकलाई १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको स्पष्ट पारे।

विदेशबाट अत्यावश्यक काममा नेपाल आउनुपर्‍यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफैँ क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।

उनले भने, ‘सुख्खा खोकी, ज्वरो देखिए हामी अस्पतालमा चेक गर्छौँ। चेक गर्दा त्यसको रिपोर्ट पोजेटिभ भयो भने राज्यले सम्पूर्ण उपचारको जिम्मा लिन्छ। यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिन सम्म होम क्वारेन्टाइनमा बसेर सबैले राष्ट्रको अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौँ।’

समाजका विभिन्न निकायका स्वयंसेवकहरुलाई समेत संगठीत गरेर कोरोना संक्रमण हुन नदिने ढंगले सरकारले काम गर्ने उनले स्पष्ट पारे। सरकारका कतिपय आन्तरिक तयारी बाहिर नआएकाले समाजमा भय, त्रास फैलने किसिमको वातावरण पनि भएको भन्दै उनले सरकारले आवश्यक तयारी र व्यवस्थापन गरिरहेकाले भयभीत नहुन आग्रह गरे।

मन्त्री ढकालले कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषाहरु बैशाख १८ गते सम्मका लागि स्थगित गरिएको, अन्तर्राष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाइएपनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए।

उनले हाल छिमेकी राष्ट्रसँग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरी आवश्यक सावधानी अपनाउन भनिएको बताए।

कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गतेभित्र परीक्षा सकिने र त्यसपछि स्वतः १ महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २/४ दिनको स्थिति हेरेर एसइई परीक्षा तालिका बारे निर्णय गरिने उनले स्पष्ट पारे।

अन्तर्राष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आव्हान गरिएको स्पष्ट उनले पारे।

उनले फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा अधिकार सम्पन्न कोरोना रोग रोकथाम समन्वय समिति गठन गरको र यसले रोगसँग सम्बन्धित सम्पूर्ण काम गर्ने व्यवस्था गरिएको दोहोर्‍याए। उनले एकिकृत योजना बनाउनका लागि समन्वय समितिले आइतवार ७ वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री सहितको बैठकको आयोजना गरेको जानकारी दिए।

सूचना एकिकृत ढंगले सम्प्रेषणको व्यवस्था मिलाइएको, मुख्य सचिवको नेतृत्वको टिमको दैनिक बैठक बस्ने र नेपालसँगै विश्वभरको कोरोना संक्रमणको अवस्था समेटेर  बुटेलिन निकाल्ने काम भइरहेको उनले स्पष्ट पारे।

मन्त्री ढकालले उमेर समूह अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपात पनि जानकारी गराए। कोरोना संक्रमण भएका मध्ये ९२ प्रतिशत सामान्य र ८ प्रतिशत बिरामी जोखिम अवस्थामा रहेको देखिएको उनले उल्लेख गरे। मन्त्री ढकालका अनुसार ८० बर्ष भन्दा माथिका व्यक्तिको मृत्यु दर १४ दशमलब ८ प्रतिशत, ७० देखि ७९ उमेर समूहमा मृत्यु दर ८ प्रतिशत , ६० देखि ६९ उमेर समूहकामा ३ दशमलब ६ प्रतिशत, ५० देखि ५९ सम्म १ दशमलब ३ प्रतिशत, ४० देखि ४९ सम्म शुन्य दशमलब ४ प्रतिशत, १० देखि ३९ उमेर समुहमा शुन्य दशमलब २ प्रतिशत मृत्युको अनुपात रहेको तथा जन्मदेखि ९ बर्ष उमेर समूहमा यो संक्रमण अपवादका रुपमा देखिएको छ।

कोरोना संक्रमणबाट इरानका ५५ बर्षीय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ। क्यानडाका प्रधानमन्त्रीकी श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानका उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै मंगोलियाका राष्ट्रपति चीन भ्रमण पछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell