PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

सार्क कोभिड-१९ भिडियो कन्फ्रेन्स, खुल्ला त सार्कलाई गति दिने बाटो?



विधुर ढकाल

सार्क कोभिड-१९ भिडियो कन्फ्रेन्स, खुल्ला त सार्कलाई गति दिने बाटो?

काठमाडौं : कोभिड-१९ ले विश्वलाई प्रभावित पारिरहेको बेला सार्क देशका नेतृत्वहरु संवादमा जुटेका छन्। आज आइतवार नेपाली समयअनुसार साँझ सवा ५ बजे कन्फ्रेन्स कलमार्फत सार्कका आठ सदस्य मुलुकका राजनीतिक नेतृत्वहरु छलफल गर्दै छन्।

भारतको अनिच्छाका कारण चार वर्षदेखि सुस्त रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नेताहरु भारतकै पहलपछि भिडियो कन्फ्रेन्समा जुट्न थालेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा छलफल हुन लागेको हो। भारतीय प्रधानमन्त्री मोदीले शुक्रवार कोभिड-१९ विरुद्ध रणनीति तय गर्न सार्क सदस्य देशका नेताहरुबीच छलफलका लागि प्रस्ताव गरेका थिए।

सोही अनुरुप भारतीय विदेश मन्त्रालयले सदस्य राष्ट्रलाई कुटनीतिक च्यानलबाट पत्राचार गरेको थियो। मोदीको प्रस्तावलाई सबै देशले स्वागत गरे।

चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसका कारण भारतमा दुई जनाको मृत्यु भइसकेको छ। हालसम्म भारतमा १०७ जनामा संक्रमण देखिएको छ। सदस्य राष्ट्रमध्ये सबैभन्दा बढी भारतमा संक्रमण देखिएको छ। भारतबाहेक पाकिस्तानमा ३३, अफगानस्तानमा १६, मालदिभ्समा ११, श्रीलंकामा १०, बंगलादेशमा ५ तथा भुटान र नेपालमा एक एक जनामा संक्रमण देखिएको छ।

संक्रमितमध्ये भारतमा भएको संक्रमण 'लोकल ट्रान्समिसन' (भारत भित्रैबाट सरेका केस) धेरै छन् भने बाँकी देशमा 'इम्पोर्टेड केस' (संक्रमित व्यक्ति बाहिरबाट आएका) हुन्। नेपालमा संक्रमित निको भइसकेका छन्।

सार्क मुलुकमा सबैभन्दा बढी प्रभावित र सबै भन्दा ठूलो जनसंख्या भएको देश हो भारत। भारतकै पहलमा सार्क देशका राजनीतिक नेतृत्वहरु सहभागी हुँदै छन्। यस कन्फ्रेन्समा पाकिस्तान बाहेकका देशहरुबाट सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुने बताइएको छ।

हालसम्म १३५ देश/भौगोलिक क्षेत्रहरुमा फैलिइसकेको कोभिड-१९ का कारण ५ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ। त्यस्तै एक लाख ५७ हजार बढी मानिसमा यसको संक्रमण देखिइसकेको छ। जसमध्ये ७५ हजार बढी उपचारपछि घर फर्किसकेका छन्।

कोभिड-१९ ले सार्कलाई गति देला?

'सार्क राष्ट्रका नेतृत्वसँग कोरोना भाइरसविरुद्ध दरिलो रणनीति बनाउने विषयमा छलफलका लागि प्रस्ताव गर्दछु। हामीले हाम्रा जनतालाई कसरी स्वस्थ राख्ने विषयमा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौँ। एक साथ हामी मिलेर विश्वलाई स्वस्थ ग्रह निर्माणमा योगदान पुर्‍याउन उदाहरण दिन सक्छौँ,' भारतीय प्रधानमन्त्री मोदीले शुक्रवार ट्वीटमा भनेका थिए।

'दक्षिण एसिया विश्वको अधिक जनसंख्याको घर, हामीले सारा जनताको स्वास्थका लागि कुनै पनि कसर बाँकी राख्नु हुँदैन्,' मोदीले अगाडि लेखेका थिए।

पछिल्लो समय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क गतिहिन बनिरहेको छ। २०१६ मा पाकिस्तानको इस्लामावादमा आयोजना गर्ने भनिएको सार्कको शिखर सम्मेलन भारतको असहमतिपछि रोकिएको थियो। त्यसयता सार्क संवादहीनताको अवस्थामा रहेको छ।

२०१४ को नोभेम्बर २६ र २७ मा काठमाडौंमा १८ औं शिखर सम्मेलन भएको थियो। सोही सम्मेलनले १९ औं शिखर सम्मेलन आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिएको थियो। सोही अनुरुप १९ औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा २०१६ को नोभेम्बर १५-१९ सम्म आयोजना गरिने तय भएको थियो। तर, यो सम्मेलन हुन सकेन।

सन् २०१६ को जनवरी २ मा भारतको पठानकोट एयरफोर्स स्टेसनको वेस्टर्न एयर कमाण्डमा चार जना आक्रमणकारीले आक्रमण गरे। आक्रमणमा घटनास्थलमै दुई सैनिक जवान र चार आक्रमणकारीको मृत्यु भएको थियो। यो आक्रमणमा पाँच आक्रमणकारी एक सर्वसाधारण तथा सात जना सुरक्षा अधिकारीहरुको मृत्यु भएको थियो।

आक्रमणको भारतीय पक्षले पाकिस्तानको हात रहेको आरोप लगाएको थियो। पठानकोट आक्रमणको ९ महिना पछि पुन: भारतको उरीमा आक्रमण भयो। सेप्टेम्बर १८ मा भएको आक्रमणमा १७ भारतीय सैनिकको मृत्यु भयो। जम्मु कश्मिरको उरीमा रहेको भारतीय सैनिक क्याम्पमा पसेर आतंकवादी समूहले आक्रमण गरेको थियो। यससँगै दुई देशबीचको सम्बन्ध तनावमा छ।

यही आक्रमणपछि इस्लामावादमा आयोजना गर्न लागिएको सार्कको १९ औँ शिखर सम्मेलन स्थगित भयो। घटनाको १० दिनपछि भारतले आधिकारिक रुपमा पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा सहभागी नहुने सन्देश पठायो।

पठानकोट र उरी आक्रमणले अनिश्चित बनेको सार्कको शिखर सम्मेलन सन् २०१९ को फेब्रुअरीमा भएको पुलवामा आक्रमणले थप अनिश्चित बनायो। त्यसयता सार्कका अधिकारीहरु छलफलमा जुट्न सकेका छैनन्।

गत वर्ष न्युयोर्कमा राष्ट्रसंघीय महासभा साइड लाइनमा भएको मन्त्रिस्तरीय बैठकमा एकसाथ पाकिस्तान र भारतका समकक्षीहरु सहभागीसमेत भएनन्। अध्यक्षका हैसियतले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बैठक आह्वान गरेका थिए।

हरेक वर्ष महासभा साइड लाइनमा सार्क मन्त्रिस्तरीय बैठक हुँदै आएको छ, त्यो पनि औपचारिकता देखाउनका लागिमात्र। सो बैठकमा बैठकमा श्रीलंका र बंगलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए। कार्यव्यस्तता भन्दै भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन्।

अहिले सम्मका गतिविधिअनुसार भारत पाकिस्तान समावेश हुने कार्यक्रममा सहभागी हुन चाहेको देखिँदैन। यसपटक भारतीय प्रधानमन्त्री मोदीकै पहलमा हुन लागेको कन्फ्रेन्समा पाकिस्तानी स्वास्थ्यमन्त्री डा जाफर मिर्जा सहभागी हुँदैछन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खान भने सहभागी हुने छैनन्।

तर, आइतवार हुने संवादले सार्कलाई गति दिन सक्ने अपेक्षा राखिएको छ।

'सार्कलाई गति दिन पर्छ। क्षेत्रीय सहयोग तथा साक्षेदारीको परिकल्पना लिएर यसको स्थापना भएको हो। यसलाई अगाडि बढाउनै पर्छ,' परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले भने, 'कसैको चाहनाकै कारण यसलाई मर्न दिनु हुँदैन।'

भारतकै पहलमा हुन लागेको कन्फ्रेन्सलाई अवसरको रुपमा लिनुपर्ने उनको भनाइ छ। 'नेपाल अध्यक्ष राष्ट्र हो। यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्नपर्छ,' उनले भने। यद्यपि आजको कन्फ्रेन्समा सार्क शिखर सम्मेलनको चर्चा हुने छैन। तर पनि यसले सार्क सम्मेलन गराउन तर्फ नेपालले पहल गर्नुपर्ने श्रेष्ठले बताए।

अहिले भारतलाई पर्दामात्र होइन भोलि अन्य देशलाई पर्दा पनि एक स्थानमा उभिने वातावरण तयार गर्न अध्यक्ष राष्ट्रका हैसियतले नेपालले पहल गर्नुपर्ने आवश्यकता छ।

पाकिस्तानले पटक पटक सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको बताउँदै आएको छ। पाकिस्तानले अध्यक्ष राष्ट्रका हैसियतले नेपालले पहल गरोस् भन्ने चाहेको अवस्थामा नेपालले नै यसको अग्रसरता लिन आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell