
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बारेको सार्क राष्ट्रका नेताहरुको भिडियो कन्फ्रेन्समा श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेले आफूहरुले चीन, इरान लगायतका देशहरुका नागरिकलाई श्रीलंका प्रवेशमा प्रतिबन्ध लगाएको बताएका छन्।
राष्ट्रपति राजापाक्षेले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार श्रीलंकाले काम गरिरहेको बताए। उनले त्यहाँ स्कुल तथा विश्वविद्यलयहरु बन्द गरिएको जानकारी दिएका छन्।
पहिलो केसको रुपमा श्रीलंकामा इटलीका पर्यटकसँग सम्पर्कमा रहेका एकजना नागरिकमा कोरोना पोजिटिभ देखिएको उनको भनाइ थियो। उनका अनुसार अहिले इटलीका पर्यटकहरु श्रीलंकाबाट फिर्ता भइसकेका छन्।
कोरोनाको रोकथामका लागि नेसनल टास्क फोर्सले काम गरिरहेको र भाइरस भित्रिन र फैलन नदिन उपायहरु अपनाइएको उनले बताए। मिडियाको माध्यमबाट कोरोना सम्बन्धी जानकारीहरु सर्वसाधारणसम्म पुर्याइरहेको उनले जानकारी दिए। मास्क, स्यानिटाइजर लगायतको प्रयोगमा जोड दिइएको उनले बताए।
त्यस्तै राष्ट्रपति राजापाक्षेले ३४ जना श्रीलंकन विद्यार्थीलाई वुहानबाट र ७५० जना विद्यार्थीलाई चीनको विभिन्न भागबाट ल्याएर क्वारेन्टाइनमा राखिएको बताए। श्रीलंकाले अनअराइभल भिसा समेत रद्द गरेको उनले बताए।