
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको रोकथाक र नियन्त्रणका लागि सार्क राष्ट्रबीच कोभिड-१९ एमर्जेन्सी कोष स्थापनाको पहल गरेका छन्।
दक्षिण एसियामा कोरोना भाइरस (कोभिड-१९)को रोकथामलाई लिएर सार्क राष्ट्रका नेताबीच भएको भिडियो कन्फ्रेन्समा उनले एमर्जेन्सी कोष स्थापनाको पहल गर्दै भारतले त्यस कोषमा १० मिलियन (एक करोड) अमेरिकी डलर सहयोग गर्ने घोषणा गर्ने समेत बताएका छन्।
उनले अन्य राष्ट्रहरुले समेत यसमा सहयोग गर्नेमा आशा व्यक्त गरे।
यस्तै भारतले भाइरसविरुद्ध लड्न र्यापिड रेसपोन्स टिम स्थापना गरी चिकित्सकहरु तयारी अवस्थामा राखेको मोदीले बताए। यसका साथै भाइरस परीक्षण गर्ने किट र अन्य स्वास्थ्य उपकरणहरु समेत तयारी अवस्थामा रहेको उनले सार्क नेताहरुलाई ब्रिफ गरेका छन्।
‘आवश्यक परेमा चिकित्सकको टोली सार्क राष्ट्रमा परिचालन गर्न स्टयान्ड बाइ छ,’ मोदीले भने।
यस्तै उनले कोभिडका साथै अन्य भाइरसको रोकथामका लागि संयुक्त रिसर्च ‘प्ल्याटफर्म’ स्थापना गर्न सकिने प्रस्ताव समेत पेश गरेका छन्।