PahiloPost

Jan 28, 2025 | १५ माघ २०८१

मन्त्रीहरुको विश्वास : कोरोना भाइरस चाँडै नियन्त्रणमा आउँछ, सरकारलाई सबैले सहयोग गरौं



रासस

मन्त्रीहरुको विश्वास : कोरोना भाइरस चाँडै नियन्त्रणमा आउँछ, सरकारलाई सबैले सहयोग गरौं

काठमाडौं : नेपाल सरकारका मन्त्रीहरुले कोरोना भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन्। पोखराका पर्यटन व्यवसायीको टोलीको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्ध लड्न सरकारले सबै उपाय अवलम्बन गरेको र यो चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका हुन्।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताए। उनले सरकारले देशव्यापी छलफल तथा सहकार्य अघि बढाएको स्पष्ट पारे। पोखरेलले छलफलबाट आएको निष्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए। समस्याबाट नआत्तिकन सहकार्य र समाधानको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको र आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने बताए। जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले सरकारलाई सबैको साथ र सहयोग अपरिहार्य रहेको औँल्याए।

अर्थमन्त्री खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न योजनाबद्ध रुपमा अघि बढिरहेको बताए। पर्यटन व्यवसायलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै मन्त्री खतिवडाले मुलुकको आर्थिक समृद्धिको आधार नै पर्यटन भएको बताए। पोखरा भ्रमण वर्ष २०२० का लागि मात्र नभई जहिले पनि विश्वभरबाट नेपाल आउने पर्यटकको गन्तव्यको रुपमा रहेको बताउँदै उनले व्यवसायीलाई परेको समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

कोरोना भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै मन्त्री खतिवडाले नियन्त्रण नभएको अवस्थामा प्राथमिकताको आधारमा योजना अघि बढाउनेसमेत जानकारी गराए। कोरोनाले नेपालमा कति समय प्रभाव पार्छ? भन्ने विषयमा कोही कसैले केही बताउन नसक्ने उल्लेख गर्दै उनले सरकारले १५ दिन, एक महिना, तीन महिना तथा त्योभन्दा बढी कति प्रभाव पार्छ त्यसलाई दृष्टिगतगरी गर्दै व्यवसायमुखी योजनाहरु ल्याउने तयारीमा सरकार रहेको जानकारी गराए। पर्यटन मन्त्री भट्टराई र परराष्ट्रमन्त्री ज्ञवालीले पनि कोरोनाविरुद्ध सबै मिलेर लडनुपर्ने र व्यवसायलाई सरकारले हेर्ने बताएका थिए।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको नेतृत्वमा आएको टोलीले सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउँदै टोलीले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा आपतकालीन अवस्था सिर्जना भएको उल्लेख गर्दै पर्यटन व्यवसाय धरासायी भएको स्पष्ट पारेको छ। बैंकबाट ऋण लिई लगानी गरेको जानकारी गराउँदै सो टोलीले मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा सङ्घीय सरकारले विशेष प्याकेजको घोषणा गरी व्यवसायीमा राहतको व्यवस्था गरिदिन आग्रह गरेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रतिनिधिको रुपमा आएका पहारीले ज्ञापनपत्र बुझाउँदै विश्व बजारमा नेपालले एक मात्र प्रतिस्पर्धा गर्नसक्ने व्यवसाय पर्यटन भएकाले यसलाई तीनवटै तहका सरकारले विशेष रुपमा गम्भीर रुपमा लिई सहयोग गर्नुपर्नेमा जोड दिए। कोरोनाका कारण हाल विश्वभरको पर्यटन क्षेत्र धरासायी भएको उल्लेख गर्दै उनले विश्व अर्थतन्त्रमा समेत यसले तहसनहस बनाएकाले नेपालका पर्यटन व्यवसायीलाई सरकारले विशेष प्याकेजको घोषणा गरी पर्यटन व्यवसायलाई जोगाउनु तीनवटै सरकारको जिम्मेवारी भएको उल्लेख गरे।

प्रदेशसभा सदस्य पहारीले हाल पोखरामा मात्र ४६२ वटा होटल, ३८८ ट्राभल एजेन्सी, २१२ ट्रेकिङ एजेन्सी, ६० वटा प्याराग्लाइडिङ कम्पनी, १०० वटा गार्मेन्ट सप, १०० जति ट्रेकिङ इक्युप्मेन्टलगायतका पर्यटन कार्यालयबाट इजाजत लिई २५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जानकारी गराउँदै गण्डकी प्रदेशमा गरिबी निवारणको प्रमुख आधारसमेत पर्यटन क्षेत्र भएको उल्लेख गरे।

पर्यटन व्यवसाय इतिहासकै शून्य अवस्थामा पुग्न लागेको उल्लेख गर्दै उनले पर्यटन उद्योगमा भएको लगानीलाई संरक्षण गर्नका लागि सरकारका तर्फबाट कुनै पहल नभएमा उद्योग नै धरापमा परी लगानी पलायन हुँदै राज्य नै असफल भई ठूलो आर्थिक सङ्कट हुनेतर्फ सचेत भई अघि बढ्नपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell