PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

मन्त्री र विभागको क्रियाशीलताको नतिजा, यसरी सुधार हुँदैछन् काठमाडौंका सडक



पहिलोपोस्ट

मन्त्री र विभागको क्रियाशीलताको नतिजा, यसरी सुधार हुँदैछन् काठमाडौंका सडक

काठमाडौं : धुलो र हिलोले आक्रान्त बनेको काठमाडौंका सडकको स्वरुप फेरिन थालेको छ। बितेका वर्षहरुमा स्रोत र साधन हुँदाहुँदै पनि सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतका कामले प्राथमिकता पाउँदैनथे।

घाम चर्केका दिन धुलो र वर्षामा हिलाम्मे हुँदा आवतजावतमा नै कठिनाइ हुन्थ्यो। एउटै सडकमा सयौँ खाल्डाखुल्डी हुन्थे।

तर यो वर्ष अधिकांश खाल्डाखुल्डी पुरिएको छ।

हिलो र धुलो समस्या हट्दै गएको छ। असोजयता काठमाडौँका सडकहरु विस्तारै विकसित राष्ट्रका सहरका सडकहरु जस्तै देखिन लागेका छन्। पेन्टिङ र मार्किङ तथा जेब्राक्रसहरु देखिन थालेका छन्। ट्राफिक लाइटहरु बन्न थालेको छ। बितेको तीन महिनामा काठमाडौँका मुख्य-मुख्य सडकमा साढे नौ हजार खाल्डाखुल्डी परिएका छन्।

https://bizmandu.com/assets/upload/images/b244thUzuYQg.jpg

कसरी भयो त काम ?

करिब ११ महिनाअघि सडक विभागको नेतृत्व सम्हाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आइपुगे।

शर्माले विभागको जिम्मेवारी सम्हाल्दा अरुले जस्तो कुनै आयोजनाको फाइलमा हतात-हतार हस्ताक्षर गरेनन्। बरु कलंकी-नागढुंगा सडकलाई 'प्रेस्टिज' बनाए। त्यही वर्ष काम पूरा गर्ने अठोट गरे, र पदभार ग्रहण गरेकै दिन अनुगमनमा निस्किए।

शर्मा सम्झन्छन् 'भेरिफिकेशन अर्डर नगरेको अवस्था रैछ। कन्ट्रयाक्टरलाई पनि केही समस्या परेको रहेछ। पहिले त्यो सल्टाएँ।'

पाँच वर्षदेखि पूरा हुन नसकेको आयोजना त्यही वर्ष पूरा भयो।

ठूलो उपलब्धि हासिल गर्न नसके पनि उपत्यकाका सबै सडक हिँड्न लायक बनाउने अठोट शर्माले लिए। सडक विभागको क्षेत्राधिकारभित्र पर्ने सबै सडक मर्मतको योजनामा काम सुरू भयो। उपत्यकामा करिब ९ सय किलोमिटर सडक छ। जसमा करिब ४ सय किमी सडक विभाग र बाँकी प्रदेश तथा स्थानीय तहले हेर्छन्।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सडक विभागको टोलीले मर्मत सम्भारको बजेट बढाउनुपर्ने ब्रिफिङ गरेको थियो। तर मन्त्रीले वास्ता नगरेपछि सडक विभागको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै भेट्यो।

https://bizmandu.com/assets/upload/images/pizap%20(15)(9).jpg

'मैले अर्थमन्त्रीज्यूसँग म केही सडक गेस्ट आउँदा मात्र बनाउनुपर्ने हो भने बनाउँदिन, भोलि आउँछन् भन्दा पनि रेडी हुनेगरि मेन्टेन गरेर राख्छु' उनले भने, 'अर्थमन्त्रीज्यूले आइ ट्रस्ट यु भन्नुभयो। बजेट भाषणको दिनसम्म उहाँलाई भेट्न गइरहेँ' शर्माले भने।

गत वर्षसम्म करिब चार अर्ब विनियोजन गरिने ठाउँमा ८ अर्ब विनियोजन भयो। काठमाडौंका सडक मर्मत गर्न छुट्टै बजेट समेत छुट्याइयो।

सडक बोर्डका लागि करिब ८ अर्ब रुपैयाँ बजेट विनियोजन भयो। सडक विभागले ६ अर्ब देशभरका सडकहरु मर्मतका लागि बोर्डबाट पायो। काठमाडौँका लागि बढी चाहिन्छ भनेर डेढ अर्ब रुपैयाँ छुट्याइयो।

सडक विभागले साउन १ गते सबै आयोजना र कार्यालयहरुलाई चिठ्ठी लेख्दै दोस्रो हप्ताभित्र मर्मत सम्भारका लागि 'बिड डकुमेन्ट' तयार पारेर टेण्डर निकाल्न निर्देशन दियो।

'भदौभित्र सम्झौता गरेर दशैँ अगावै काम सुरु गर्न निर्देशन दिए,' शर्माले भने 'बजेटका लागि कुनै चिन्ता छैन यो डिजीको अर्डर हो भनेर लेखेर पठाएको थिए।'

अधिकांश सडक मर्मत, खाल्डाखुल्डी पुर्ने, ओभर लिएर गर्ने काम धमाधम भयो। यो अवधिमा २४ हजार ३ सय वर्ग किलोमिटर सडकको करिब ९ हजार ५ सय खाल्डाखुल्डी पुरिए। ३७ किमी सडक कालोपत्रे भयो भने ८५ किलोमिटर गर्ने लक्ष्य छ।

विभागका अनुसार कतिपय काम छिटो हुन्थ्यो। धेरैपटक टेण्डर निकाल्दा पनि ठेक्का नै लागेन। ग्राण्डी हस्पिटल जाने सडकमा अझै ठेक्का लागेको छैन्। तीन/ चार पटकसम्म पनि ठेक्का नलागेपछि विभागले आफ्नै तरिकाले काम गर्न लागेको छ।

'हामीले काम गरिरहेका थियौँ, त्यसमा पनि नयाँ मन्त्रीको साथ र क्रियाशीलताले थप तीब्रता पायो' शर्माले भने।

काठमाडौं चक्रपथ दोस्रो खण्ड कलंकी-चावहिल (गोपीकृष्ण हल छेउ) खण्ड ८ लेनमा विस्तार गर्न चिनियाँसँग द्धिपक्षीय सम्झौता (एमओयु) भइसकेको थियो। तर चक्रपथ भने ठाउँ–ठाउँमा खाल्डाखुल्डी थियो भने अधिकांश चर्किएको थियो।

'एक टोलीलाई खटाएँ। म विशेष हेर्छु भनेर दिउँसो काम गर्न सकिने अवस्था थिएन, राति-राति काम गर्‍यौँ,' शर्माले भने, 'चिनियाँले बनाइदिने भए पनि हिँड्न लायक अवस्थामा मेन्टेन गरेर त राख्न पर्‍यो नि।'

सडक विभागका अनुसार यो खण्डमा अत्यन्तै प्रविधिक तवरले ध्यान पुर्‍याइएको छ। 'स्याण्ड सिल' मार्फत 'ओभर-ले' र खाल्डाखुल्डी पुर्ने काम गरिएको छ। जसअनुसार अलकत्रा छर्कने र त्यसमाथि 'मेटेरियल' राखेर सिल गरिन्छ। जुन न्युनतम एक वर्ष टिक्छ। उपत्यकाबाट धेरै सवारीसाधन बाहिर जाने सबैभन्दा ठूलो बसपार्क अघिल्तिर सधैं खाल्डाखुल्डी हुन्थ्यो, यो वर्ष भने सुध्रिएको छ।

https://bizmandu.com/assets/upload/images/timthumb.jpg

'ट्रम्प, पुटिन भोलि नै झरे कुनै चिन्ता छैन'

सडक विभागले विदेशी पाहुनाहरु हिड्ने सडकलाई सधैं मेन्टेन गरेर तयारी अवस्थामा राखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलहरु जाने सडक तयार छ। विमानस्थलबाट बानेश्वर हुँदै त्रिपुरेश्वर र कालीमाटी भएर सोल्टी होटल पुग्ने सडक राम्रो बनाइएको अवस्थामा छ।

त्रिपुरेश्वरबाट राष्ट्रपति कार्यालय शीतलनिवास जाने सडक नारायणगोपाल चोकसम्म सडक तयार छ। शीतलनिवासबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने सडक मेन्टेन गरिएको छ।

पुतलीसडकमा भने बाँकी नै छ। त्यहाँ खानेपानी र ढलको लिकेजका कारण काम गर्न नसकिएको सडक विभागका इन्जिनियरहरुको भनाइ छ। 'भोलि नै डोनाल्ड ट्रम्प र पुटिन आए भने पनि अस्तिको जस्तो रातारात काम त गर्न पर्दैन,' शर्मा भन्छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा रातारात काम गरेर सडक तयार पारिएको थियो। अब त्यसरी आत्तिएर काम गर्नुपर्ने अवस्था नभएको उनको दाबी छ।

यो वर्ष जाडोमा पनि पीच

यो वर्ष जाडोयाममा समेत कालोपत्रेको काम रोकिएन। बितेका वर्षहरुमा जाडोयाममा तापक्रम नपुग्ने र नटिक्ने भन्दै पीच गर्न रोकिन्थ्यो।

'मालको तापक्रम १८० पुर्‍याएर ल्याउ। त्रिपालले छोपेर ल्याउ। १०० डिग्रीमा हाले मज्जाले टिक्छ भनेर निर्देशन दिएँ,' उनले भने, 'जाडो महिनामा पनि दिउँसो दिउँसो सधैंजसो काम भयो।'

साथै सडक विभागले अनुगमनमा समेत कडाइ गरेको छ। विभागका महानिर्देशक आफैं नियमितजसो साइटमा जान्छन्।

'म साइटमा जानुको अर्थ डिजी आउँछ भनेर काम गर्ने हौसला बढ्छ भने कमसल निर्माण सामाग्री प्रयोग गर्न डराउँछन्,' शर्माले भने, 'म प्राय एकपटक साइटमा पुग्छु।'

https://bizmandu.com/assets/upload/images/23(3).jpg

नयाँ मन्त्रीको साथ

मन्त्रीहरुको कामप्रति विभिन्न क्षेत्रबाट आलोचना हुन थालेपछि केहीअघि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल फेरबदल गर्ने निर्णयमा पुगेका थिए।

फेरबदलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि परे। महासेठलाई मन्त्रीको जिम्मेवारीबाट हटाउँदै वसन्तकुमार नेम्वाङलाई दिइयो।

मंसिर ५ गते कार्यभार सम्हालेका नेम्वाङले कर्मचारीलाई निर्देशन दिएनन्। बरु कर्मचारीको सहयोग नभए आफू असफल हुने भन्दै सहयोग मागे। आफूले कर्मचारीसँग कामको मात्रै अपेक्षा गर्ने उनले बताएका थिए।

विभागका एक इन्जिनियरका अनुसार अघिल्ला मन्त्री महासेठसँग सानो काम गर्दा पनि सोध्नुपर्थ्यो भने सरुवामा, कुनै आयोजना सम्झौदा होस् वा ठेक्कापट्टामा समेत सिधा हस्तक्षेप गर्थे। जसका कारण कतिपय आयोजनाहरुमा ढिलाइ हुन्थ्यो। त्यसैले उनीसँग काम गर्न कर्मचारी हच्किन्थे।

नेम्वाङले जिम्मेवारी सम्हालेलगत्तै होटल हिमालयमा मातहतका कर्मचारीलाई दुई दिन राखेर 'रिजल्ट ओरियन्टेड' हुन भने। आफूले कहीँ कतै सरुवा,बढुवा, ठेक्कापट्टामा कुनै हस्तक्षेप नगर्ने, तर काम हुनुपर्ने बताएका थिए।

'अहिले काम गर्न एकदमै सजिलो वातावरण छ। पहिले जस्तो छैन। काम त हुने नै भयो,' एक इन्जिनियरले भने। मन्त्री आफैं पनि अनुगमन जाने गरेका छन्। अहिले उनले 'राम्रो काम गरेको' भन्दै जनस्तरमा समेत चर्चा बटुलेका छन्।

उपत्यका बाहिरका आयोजनाहरुमा समेत विगतको तुलनामा कामले गति लिएको विभागको दाबी छ।

'ब्रुमर' को बल

एकातिर जहाँ सडक विभाग खाल्डाखुल्डी पुरेर सडक चिल्लो पार्न लागिपर्‍यो, त्यही सरकारले झिकाएका 'ब्रुमर' ले पनि सघाए। राति-राति मुख्य सडकहरूको धूलो सफा गर्दै जाँदा हिजोआज माइतीघर, पुतलीसडक, बानेश्वर र दरवारमार्ग क्षेत्रमा पहिले जस्तो धुलाम्य अवस्था छैन।

ब्रुमर ल्याएयता काठमाडौँ महानगरपालिकाले वर्षदिनमा साढे पाँच हजार टन धुलो संकलन गरेको छ। कामनपा ब्रुमरलाई अब महानगरका भित्री सडकमा पनि परिचालनको तयारीमा छ। भित्री सडकका खाल्डाखुल्डी परिएसँगै ब्रुमर त्यता पनि धुलो उठाउन गुडिरहेको देखिने छन्।

यही अवधिमा मेलम्ची आयोजनाले पनि खनेका ठाउँमा पाइप बिच्छ्याएर पुर्ने काम गरिसकेको छ।

यतिबेला पोलका तार व्यवस्थित गर्न महाराजगञ्ज एरियामा विद्युत प्राधिकरणले काम गरिरहेको छ। तार भूमिगत बनाउन सडक जथाभावी खन्नुको साटो उपकरण झिकाएर निश्चित क्षेत्रमा घेरा बनाइ काम गर्न थालेकाले पनि सडक पहिले पहिलेका यस्ता कामको तुलनामा धुलाम्य हुन पाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell