PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युरोपमा रहेका नेपालीमा कोरोनाको त्रास : ५१ देशलाई ५ दूतावास, हाम्रो अभिभावक को?



पहिलोपोस्ट

युरोपमा रहेका नेपालीमा कोरोनाको त्रास : ५१ देशलाई ५ दूतावास, हाम्रो अभिभावक को?

  • दीपक देवकोटा -

चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिन सुरु भएको नोवेल कोरोना भाइरस(कोभिड–१९) को संक्रमण हालसम्म आइपुग्दा विश्वका १ सय ४३ देश/क्षेत्रमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनको आइतवार मध्यरातसम्मको तथ्याङ्क हेर्दा १लाख ५३ जहार ५ सय १७ जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ५ हजार ७ सय ३५ पुगिसकेको छ।

यससँगै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई 'पान्डेमिक' घोषणा गरिसकेको छ। सुरुमा चीनमा देखिएको यो रोगको फैलावट जुन गतिमा अघि बढिरहेको थियो, त्यसले विश्वभरिका मानिसमा एक किसिमको त्रास त पैदा गरेको थियो। तै पनि अन्य देशमा फैलिनसकेकाले कसैमा पनि त्यसको पूर्व तयारी भने देखिएको थिएन।

अझ, अमेरिका लगाएतका कतिपय पश्चिमा देशले चीनमा देखिएको समस्यालाई कसरी नियन्त्रणमा सहयोग पुर्‍याउने भन्दा पनि चीनलाई गाली गर्नमा समय खर्चिएका थिए। जसको परिणाम आज चीनइतरका पश्चिमा मुलुकहरुले त्यसको परिणाम भोग्न परिरहेको छ। चीनले समयमा नै भाइरसबारे जानकारी नदिएर विश्वलाई त्रासमा पारेको आरोप अमेरिकाले एकपछि अर्को गर्दै लगायो। त्यतिखेर चीन भने आरोपको खण्डन गर्दै एक्लै कोरोना विरुद्धको महायुद्धमा होमियो। चीनले यस लडाईमा सफलता हात पार्दै कोरोना नियन्त्रणतर्फ अगाडि बढिरहेको छ।

विश्व स्वास्थ्य संगठनले आइतवार सार्वजनिक गरेको तथ्यांकमा हालसम्म चीनमा ८१ हजार २१ संक्रमित मध्ये २७ जना मात्र नयाँ छन्। मृत्यु हुनेको संख्या ३ हजार २ सय ४ पुगेको छ जसमा १० जना मात्र नयाँ हुन्।

यससँगै चीन बाहिर संक्रमितको संख्या ७२ हजार ४ सय ६९ छ। जसमध्ये १० हजार ९ सय ५५ जनामा आइतवारमात्र संक्रमणको पुष्टि भएको हो। चीनबाहेकका बाँकी विश्वमा मृत्यु हुनेको संख्या २ हजार ५ सय ३१ पुगिसकेको छ। जसमध्ये आइतवार मात्र ३३३ जनाको मृत्यु भएको हो।

यसले के जनाउँछ भने, चीन बिस्तारै नियन्त्रणतर्फ जाँदैछ भने बाँकी विश्व यसको भूमरीमा फस्दै छन्।

अहिले चीन बाहिरका मुलुकमध्ये इटलीमा संक्रमितको संख्या सबैभन्दा उच्च देखिएको छ। इटलीमा उक्त रोग जुन गतिमा फैलिरहेको छ, त्यसले युरोपका अन्य मुलुकमा पनि त्रासका साथै जोखिम पैदा गरेको छ। इटलीका साथसाथै युरोपका प्रमुख देशमा कोरोना भाइरसको दर तीब्र गतिमा बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार इटलीमा मात्रै संक्रमितको संख्या २१ हजार १ सय ५७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ४ सय ४१। जसमध्ये आइतवारमात्र १ सय ७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।

इटलीसँगै स्पेन, बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम कारोना भाइरस संक्रमणको उच्च सूचीमा छन्। स्पेनमा सात हजार ८ सय ४५ जना संक्रमित हुँदा मृत्यु हुनेको संख्या २ सय ९२ पुगेको छ।

त्यस्तै, बेलायतमा १ हजार ३ सय ९१ जना संक्रमित मध्ये ३५ जनको मृत्यु भइसकेको छ। फ्रान्समा पाँच हजार ४ सय २३ जना संक्रमित मध्ये १ सय २७ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा ५ हजार ८ सय १३ जना संक्रमित मध्ये १३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै बेल्जियममा ८ सय ८६ जना संक्रमितमध्ये ४ जनाको मृत्यु भइसकेको छ। नेदरल्याण्डमा पनि २० जनाको मृत्यु भइसकेको छ।

युरोपका अधिकांश देशमा यसको दर तीब्र गतिमा फैलिएपछि अधिकांश देशले स्कुल, कलेज, होटल,रेष्टुरेन्टहरु बन्द गर्नुका साथै हवाई उडानहरुमा समेत प्रतिबन्ध लगाएका छन्।

सबैभन्दा धेरै रोग फैलिएको भनिएको देश इटलीमा नेपालीहरु १५ हजारको हाराहारीमा रहेको बताइन्छ। इटलीमा नेपाली दूतावास नरहेकाले स्वीट्जरल्याण्डको दूतावासले नै त्यहाँको मामिला हेर्ने भएकोले पनि त्यहाँ नेपालीको अवस्था कस्तो छ? एकिन तथ्याङ्क आउन सकेको छैन।

नेपालीहरु धेरै रहेको युरोपको अर्को देश हो, पोर्चुगल। यहाँ एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँ रहेका एक जना नेपाली पत्रकारले सामाजिक सञ्जालमा जनाएका छन्।

फरोमा रहेका ती नेपालीमा संक्रमण देखा परेपछि नेपालीहरु पनि त्रासमा रहेका छन्। फारोका मेयरले स्थानीयहरुलाई 'घरमै रहन र धेरै मानिसहरू भएको ठाउँमा नजान, क्याफेमा जान र भेला नहुन' र सरकार र सरकारी अधिकारीहरूको निर्देशनलाई पालना गर्न अपील गरेका छन्।पोर्चुगलमा अहिलेसम्म २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ।

अहिले जर्मनीमा बसेर यो आलेख तयार गर्दै गर्दा युरोपमा रहेका आम नेपालीहरुमा पनि यसले एक किसिमको मनोवैज्ञानिक त्रास पैदा गरेको छ। नेपाली बजारमा कोरोना भाइरसको त्रासकै कारण माक्सको अभाव रहेको, कालो बजारी भएका समाचार आइरहँदा यहाँ युरोपमा यस रोगले यो गति लिइसक्दा पनि कोही मानिसले माक्सको प्रयोग गरेको भने देखिँदैन।

स्वयम् म आफैं पनि काममा जाँदा डराई डराई मान्छेको भिड छलेर हिँडिरहनु परेको छ। आफू मात्रै माक्स लगाएर हिँडू उल्टै कोरोनाको संक्रमित रहेछ भनेर आशंकाको दृष्टिले हेर्लान् भन्ने डर। भलै केही दिनयता मान्छेको आवातजावतमा भने पूरै कमी आएको छ। सधैं जसो भिडभाड हुने मुख्य ट्रेन स्टेसनहरु पूरै खालीजस्तो देखिन थालेको छ।

बेल्जियम लगायत केही देशले स्कुल कलेजका साथै होटल रेष्टुरेन्टहरु पनि बन्द गराएपछि जर्मनीमा पनि बन्द हुने हल्ला चलिरहेको छ। यही हल्लालाई मध्यनजर गर्दै केही दिनका लागि भए पनि दैनिक उपभोग्य सामानहरु किन्न भनेर सुपरमार्केट जाँदा अचम्मको दृष्य देखियो। साँझ ७ नबज्दै सुपरमार्केट पूरै रित्तोजस्तो देखिन्थ्यो।

जे किन्न गएको थिएँ, त्यहाँ केही थिएन। न चामल, न तरकारी, न ट्वाइलेट पेपर, न अरु केही। खानेकुराको जोहो त जसरी पनि गर्नु नै थियो। त्यसैलै त्यहाँ नभेटेपछि अर्को मार्केट चहारेँ। त्यहाँ पनि हालत उस्तै रहेछ। धन्न त्यहाँ चामल चाहिँ बाँकी रहेछ। त्यही बोकेर हिँडे।

युरोपमा यस किसिमको हाहाकार फैलिरहँदा कतिपय नेपाली नेपाल जाने सोचमा पनि थिए। कतिले केही महिना अघिदेखि नै टिकट काटेर बसेका थिए। तर, यही बीचमा नेपाल सरकारले ७ दिन नकटेको स्वास्थ्य परीक्षणको प्रमाणपत्र बोकेरमात्र आउन अनुमति दियो। यसैबीच टिकट काटेर नेपाल जाने तरखरमा रहेका केही नेपालीलाई सम्पर्क गर्दा उक्त स्वास्थ्य परीक्षणको प्रमाणपत्र प्राप्त गर्न कठिन रहेको थाहा भयो।

प्राइभेट डक्टरकोमा गएर स्वास्थ्य परीक्षणको प्रमाणपत्र माग गर्दा ३००/४०० युरोसम्म लाग्ने कुरा डाक्टरले बताएको अनि सरकारी हस्पिटलमा जाँदा केही नभएको मान्छेलाई उनीहरुले चेक नै नगरेर फर्काए।

नेपाली दूतावासले केही व्यवस्था गरेको छ कि?

उनीहरुलाई नेपाली दूतावासमा सम्पर्क गर्न सुझाएको थिएँ। तर, दूतावास पूरै गैरजिम्मेवार पारामा उत्रिएको उनीहरुको अनुभव रह्यो। कि त फोन नै नउठाउने, उठाइहालेमा डक्टरकोमा गएर रिपोर्ट बनाउनु भन्नेखालको मात्र प्रतिक्रिया पाएपछि उनीहरु टिकट रद्द गरेर बस्न बाध्य भएका छन्।

टिकट त रद्द भयो तर त्यत्रो ८००/९०० युरो तिरेर काटेको टिकट एयरलाइन्सले पनि उक्त टिकटको रकम फिर्ता नहुने बताएपछि उनीहरुमा अरु चिन्ता थपिएको छ। त्यसैले यसमा नेपाल सरकारको विशेष ध्यान जानुपर्ने देखिन्छ। स्वास्थ्य परीक्षणका लागि दूतावासमार्फत् नेपाल सरकारले केही व्यवस्था गर्नुपर्ने देखिन्छ।

कोरोना भाइरसलाई लिएर विश्वभरिका मानिसहरु एक किसिमले आतंकित भइरहेका र त्यसले नराम्रो मानसिक असर पारिरहेको छ। संक्रमणको जोखिम र फैलावटको सम्भावना विश्वभर यथावत छ। तर, हामी शतर्क रहन जरुरी छ। भाइरसभन्दा बढी त्रास फैलनुले निकै समस्या देखिएको छ।

युरोपका अधिकांश देशमा नेपालीहरु पुगेका छन्। उनीहरु त्यहाँ जोखिममा छन्। तर, त्यहाँ रहेका नेपालीको एकीन तथ्यांक भने आधिकारिक रुपमा कसैसँग छैन। न त युरोपका सबै देशमा नेपाली दूतावास नै छ। युरोपमा सबैभन्दा बढी प्रभावित रहेको इटालीलाई जेनेभाले हेर्छ। त्यस्तै, यहाँ रहेका अधिकांश देशहरुमा भियना, पेरिस, वर्लिन, कोपनहेगन, ब्रसेल्स, मड्रिड र लण्डनमा मात्र दूतावास छन्। ५१ वटा देश रहेको युरोपमा सात वटा दूतावासले हेर्दै आएका छन्। यी सबै ५१ देश तथा क्षेत्रमा कोभिड-१९ को संक्रमण पुगिसकेको छ। युरोपमा रहेका नेपालीहरुलाई नेपाल सरकारले के गर्ला?

झिनो आशा मात्र हो। बेइजिङमा दूतावास हुँदा पनि वुहानमा रहेका नेपालीहरुको उद्धार गर्न महिना दिन लागेको हामीले बुझेका छौँ। दूतावास नै नरहेका देशमा रहेका नेपालीहरुको अभिभावक को त? अर्को त्रास युरोपमा एसियाली मुलका नागरिकहरु माथि सिनोफोविक आक्रमण पनि भइरहेका छन्। यस्तोमा हामी नेपाली एक अर्कालाई सहयोग गरौँ। स्वस्थ रहौँ। सुरक्षित रहौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell