PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

बरामद भएका मास्क बेच्न प्रहरीलाई खुल्यो बाटो



पहिलोपोस्ट

बरामद भएका मास्क बेच्न प्रहरीलाई खुल्यो बाटो

काठमाडौं : प्रहरीले बरामद गरेको मास्क बिक्री गर्ने भएको छ। महान्यायाधीवक्ताको कार्यालयले सोमवार प्रहरी प्रधान कार्याललाई पत्र लेख्दै बरामद गरिएका मास्क बिक्री वितरण गर्न निर्देशन दिएको हो। महान्यायाधीवक्ता अग्नी खरेलको हस्ताक्षर भएको पत्रमा बजार मूल्यमा साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थानमार्फत् बिक्री गर्न निर्देशन दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको ८ लाख ४० हजार सर्जिकल मास्क बरामद गरेको थियो। बजारमा मास्कको अभाव भएकाले तत्कालै बरामद गरिएको मास्क के गर्ने भन्ने प्रश्न उठेपछि प्रहरीले महान्यायाधीवक्ताको कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर बिक्री गर्ने प्रकृया अघि बढाएको हो।

प्रहरीले चितवनको टाँडी नगरपालिका वडा नम्बर १ घर भई स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, बाराको गढीमाई उपमहानगरपालिका घर भइ हाल कपन बस्ने प्लाष्टिक सप्लायर सञ्जयकुमार रेग्मी, आरडिजी इन्टरनेसनल सप्लायर्सका सञ्चालक २४ वर्षीय सुरज गोयल, भारतीय नागरिक सुभाष महेश्वरी र ओखलढुंगा घर भइ हाल ललितपुरको इमाडोल बस्ने टेकराज श्रेषठलाई नियन्त्रणमा लिएको हो।

करिब ३ रुपैयाँ २५ पैसा पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

अब प्रहरीले बरामद मास्कको मूल्य, नमूना सहितको अभिलेख, फोटोऽ डिजिटल अभिलेखमा राख्ने छ। त्यसपछि बजार मूल्य अनुसार सरकारी संस्थानबाट रकम लिएर प्रहरीको धरौटी खातामा राखी बिक्री प्रकृया सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell