
काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाका विषयमा निर्णय गर्न ‘इफ, बट’ लाउन नखोजिकएको प्रष्ट पारेका छन्।
पर्यटन तथा हवाई क्षेत्रमा कोरोनाले पारेको असरबारे सरकारलाई सहयोग गर्न माग गर्दै मन्त्रालय पुगेका व्यवसायीलाई उनले भावनाका आधारमा समस्या नल्याउन आग्रह गरे।
‘ठ्याक्कै कुरा केहो हुनुपर्यो। भावनामा मात्रै हुँदैन। पर्यटन मन्त्रालयको समन्वयमा समस्या ल्याउनुस्। अन्दाजमा दिनु भएन। के गर्नुपर्ने हो हामी गर्छौँ,’ उनले भने।
कोरोनाले हवाई र पर्यटन व्यवसायी धरासायी बनेको भन्दै सरकारलाई गुहार्न गएका व्यवसायीलाई सम्झाउँदै उनले भने, ‘निर्णय गर्न इफ बट लाउन खोजेको होकी भन्ने लाग्यो होला, त्यसो होइन।’
कोरोनाले व्यवसायमा पारेको प्रभाव बारे समन्वय समितिमा छलफल हुने र आवश्यक परे मन्त्रिपरिषद्मार्फत निर्णय गरिने उनले जानकारी दिए। उनले व्यवसायीलाई अनुमानका भरमा समस्या नल्याउन आग्रह गरे।
‘कसका परे कसका परेनन् भन्ने होइन यस्तो बेलामा प्रायोरिटीका आधारमा एक-दुई-तीन भनेर ल्याउनुस् समाधान हुन्छ,’ उनले भने।
मन्त्री पोख्रेलले व्यवसायलाई आफ्नो व्यवसायमा मात्रै असर पारेको भनेर नसोच्न आग्रह गरे। उनले कोरोनाले देशको सबै क्षेत्रमा असर पारेको भन्दै व्यवसायीलाई आफ्नो चिन्ता मात्र नगर्न सुझाएका छन्।
कोरोनाका रोकथामका लागि समन्वय गर्न गठित उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले समितिले कोरोनाका विषयमा आवश्यक निर्णय गर्न थालेको जानकारी दिए। उनले आवश्यक पर्ने औषधिका बारेमा औषधि व्यवसायीसँग छलफल भइरहेको बताए।
मन्त्री पोखरेलले सरकारले कोरोनाबारे आवश्यक तयारी गरिरहेकाले कसैलाई पनि नआत्तिन आग्रह गरेका छन्।