PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फ्याक्ट चेक : कोरोनाले मृत्यु भनी हल्ला गरिएका नेपाली २०१७ मै कोरियाबाट फर्किएका, मृत्युको कारण यस्तो



विधुर ढकाल

फ्याक्ट चेक : कोरोनाले मृत्यु भनी हल्ला गरिएका नेपाली २०१७ मै कोरियाबाट फर्किएका, मृत्युको कारण यस्तो

काठमाडौं : सामाजिक सञ्जालमा नेपाल यतिबेला कोरोना भाइरसका पोस्टहरुले भरिएका छन्। बिहान बिहानै सामाजिक सञ्जालमा यस्तै एउटा समाचार आइपुग्यो : कोरोना भाइरसका कारण दक्षिण कोरियामा एक नेपालीको मृत्यु।

केही अनलाइनले समाचार प्रकाशित गरे ‘OMG-Breaking News-……’ परिवर्तन न्यूज, अनलाइन पाना, गोरखा न्यूज, खबर कान्तिपुर नाम गरेका अनलाइनले एक एकै किसिमका समाचार प्रकाशित गरे ‘कोरोनाका कारण पहिलो पटक एक नेपालीको मृत्यु’

कोरियामा मृत्यु भएको दाबीसहित मृतकको नाम र ठेगाना उल्लेख गरेर समाचार नै प्रकाशित भए पछि सामाजिक सञ्जालमा यी समाचार सेयर भए।  कैलालीको लम्की चुहाका नवीन कार्कीको कोरोनाका कारण ज्यान गएको दाबी समाचारमा गरिएको थियो।

व्यक्तिको नाम र ठेगाना नै किटान भएपछि समाचार फेसबुकका समूह र पेजहरुमा सेयर हुन थाले। फेसबुक प्रयोगकर्ताहरुले मृत्यु भएको भन्दै ब्रेकिङ हाले। तर, थियो फेक न्यूज।

को हुन मृतक भनिएका कार्की?

समाचारमा मृतक भनिएका व्यक्ति हुन नवीन कार्की। कैलालीका उनी २०१७ मा कोरियाबाट फर्किएका हुन्। कार्की कोरिया हुँदा सुदुरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षसमेत थिए।

एकाएक उनको कोरोना भाइरसका कारण मृत्यु भन्ने समाचार आएपछि फेसबुकमा रहेको कोरियामा रहेका नेपालीहरुको समूहमा हल्लिखल्ली मच्चियो।

कार्कीको केही दिन अगाडि नेपालगंजमा निधन भएको थियो। उपचारका क्रममा बाँकेमा निधन भएका उनको मृत्युलाई कोरियासँग जोड्दै कोरोना पनि जोडियो।

तीन वर्ष अगाडि २०१७ को नोभेम्बरमा कार्की स्वदेश फर्किसकेको सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव ओम साउदले जानकारी दिए। समाजले वक्तव्य नै जारी गर्दै उनको मृत्यु कोरोनाका कारण नभएको बताएको छ।

उनको मृत्यु भएपछि सुदुरपश्चिमको दिनेश खबरले समाचार नै प्रकाशित गरेको छ।

झण्डै डेढ बर्ष अगाडि कोरियामा रोजगारीमै रहेका बेला कार्कीले एउटा दुखद खबर पाएका थिए, ‘दुई छोरा छोडेर घरबाट श्रीमती भागेको।’ त्यो खबर पाएसँगै उनी प्रक्रिया मिलाएर घर आएका थिए। उनले कोरियामा कमाएको सम्पत्ति सबै गुमाए।

उनले कमाएको एक करोड ६९ लाखको भने लेखाजोखा नै भएन। नवीनका एक आफन्तले दिनेश खबरलाई भनेका छन्, ‘भागी सकेपछि नवीनकी श्रीमतीले २६ लाख रकम लिपस्टिक मै सकिएको भनिन्। एक करोड ६९ लाखमा नवीनले कति पनि पाएनन्।’

जीवनभर कमाएको सम्पति गुमाएपछि उनी मानसिक रुपमा विक्षिप्त भएका थिए। अर्को विवाह गरेका उनले कान्छी श्रीमतीबाट छोरीको जन्म भएको ९ दिनमा अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएको भोलिपल्ट उनले एउटा स्टाटस् लेखेका थिए, ‘कस्तो जिन्दगी बिरामीको पत्तै लागेन आज के हुन्छ हेरौँ।’

कस्तो जिम्दखी बिरमा को पतै लगेन अज केहुन्छ हेरम

Posted by Nabin Karki on Thursday, March 12, 2020

फागुन ३० गते स्टाटस् लेखेको केही घण्टामै उनको निधन अस्पतालको आइसियुमा भएको थियो।

उनको मृत्यु भएसँगै कोरियामा रहेका नेपाली संघ संस्थाहरुले दु: ख तथा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

नेपाल प्रेस काउन्सिल पत्रकार आचारसंहिता २०७३ को पहिलो संशोधन २०७६ को दफा १४ को पत्रकार तथा सञ्चार माध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायतका जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निरास उत्पन्न हुने गरी अतिरञ्जित तबरमा कोही कसैका बारेमा पनि सम्प्रेषण गर्नु हैन भन्ने उल्लेख छ। तर यसलाई पालना गर्नेतर्फ कुनै यी अनलाइनहरु ध्यानाकर्षण भएको देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell