PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

अब नियम उल्लंघन गर्नेलाई समेत ट्राफिक प्रहरीले ‘नमस्कार’ गर्ने



पहिलोपोस्ट

अब नियम उल्लंघन गर्नेलाई समेत ट्राफिक प्रहरीले ‘नमस्कार’ गर्ने

काठमाडौं : ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिट्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भुमिकामा देख्न पाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ।

अबदेखि सवारी नियम उल्लंघन गर्ने चालकलाई सडकमा तैनाथ ट्राफिक प्रहरीले कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् अथवा सम्झाइ बुझाइ गर्नेछन्। त्यस्तै ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न समेत सुझाउने छन्।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार अभियान सुरूवात गरका हौं’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’

यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ।

यसैबीच, महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको बताएको छ।

‘गल्ती रियलाइज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन भनेर यो अभियान शुरु गरेका हौँ’, महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एक-आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व-अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell