PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महाधिवेशनका लागि सिटौलाको 'मोटिभेसन क्याम्प', गगन र प्रदीपले दिए साथ दिने वचन : उमाकान्त नआउँदा यस्तो स्पष्टीकरण



नेत्र तामाङ

महाधिवेशनका लागि सिटौलाको 'मोटिभेसन क्याम्प', गगन र प्रदीपले दिए साथ दिने वचन : उमाकान्त नआउँदा यस्तो स्पष्टीकरण

काठमाडौं : अर्को वर्षको फागुनमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। विश्वभर कोरोना महामारीको त्रास फैलिए पनि कांग्रेस पार्टीमा भने यतिबेला महाधिवेशनकै रन्को लाग्न थालेको छ।

आगामी नेतृत्वमा दाबी गर्ने उद्देश्यका साथ कांग्रेसका नेताहरु यतिबेला आफ्नो पक्षलाई बलियो बनाउने अभियानमा लागेका छन्। कांग्रेसको महाधिवेशन प्रक्रिय सुस्त भए पनि नेताहरुको अभियान तीव्र छ।

यही सिलसिलामा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार राजधानीमा आफ्ना पक्षकालाई बलियो देखाउन र इँटा थप्ने उद्देश्यका साथ भेला आयोजना गर्‍यो।

कार्यक्रममा सिटौलाले अघिल्लो महाधिवेशनमा आफ्ना पक्षबाट निर्वाचनमा उत्रिएकालाई आफ्नो दायाँबायाँ राखे। दहिनेतिर गगन थापा र देब्रेतिर प्रदीप पौडेललाई राख्दै उनले कार्यक्रम शुरुवात गरे। कार्यक्रममा अधिकांश समय सिटौलाले 'मोटिभेस्नल स्पिच' दिएका थिए।

कार्यक्रमको शुरुमा भीमसेनदास प्रधानले मन्तव्य राखे भने कार्यक्रम राष्ट्रिय सभाकी पूर्व सांसद मुक्ताकुमारी यादवले टुंगाइन्।

उमाकान्त नआउँदा स्पष्टीकरण

उमाकान्त चौधरी अघिल्लो अधिवेशनमा सिटौला टिमबाट कोषाध्यक्षका उम्मेद्वार थिए। आज उनी कार्यक्रममा देखिएनन्। त्यसबारे सिटौलाले आफ्नो मन्तव्यको शुरुमै स्पष्टीकरण दिए।

'उमाकान्तजी आइपुग्नु भएन भनेर सोध्नुहोला। उहाँ जिल्ला जानुभएको छ। सल्लाहमै जानुभएको हो,' सिटौलाले भने, 'उहाँ हामीसँगै हुनुहुन्छ।'

पछिल्लोपटक उमाकान्तले सिटौला क्याम्प छोडेको चर्चा पनि चलेको छ। भेलामा उनको उपस्थिति नदेखिनाले आशंका झनै बढ्ला भन्ने डर सिटौलालाई हुन सक्छ। त्यसैले उनले स्पष्टीकरणमात्र दिएनन्, उमाकान्तको पछिल्लो राजीनामा प्रकरणको पनि चर्चा गरे।

उमाकान्तलाई आफ्नै गुटबाट अनुशासन समितिमा पठाएको र राजीनामा पनि आएको जानकारी उनले दिए। सिटौलाले चाँडै नै राजीनामा फिर्ता हुने पनि बताए। भने, 'अनुशासन समितिमा पाँच जना छन्। हाम्रो तर्फबाट उमाकान्तजीलाई पठाएको हो। उहाँका केही कुरा थिए। उहाँलाई कठिनाई पनि छ। उहाँले मलाई राजीनामा दिनुभयो। उहाँको राजीनामा फिर्ता गर्दिन्छु। राजीनामा शेरबहादुरजी कहाँ पुगेको छैन।'

यही मौकामा धेरैले चौधरीलाई धेरैले प्रहार गरेको दुखेसो पनि पोखे सिटौलाले। भने, 'उहाँलाई सबैतिरबाट ट्वाक्क ट्वाक्क हिर्काउने रहेछ। केही लेख्न मन छ भने उहाँलाई नै सोधेर लेख्दा हुन्छ नि।'

अरुको आश्रयमा नजानुस्, मिलेर केन्द्रीय सदस्यमा उठौं

सिटौलाले आफ्ना गुटका नेता कार्यकर्तालाइ अरुको आश्रयमा नजान आग्रह गरे।

'आफ्नो क्षमता विकास गर्नुस्। अरुको आश्रयमा जाने होइन। बरु आफू आश्रय दिने बन्नुस्', उनले भने।

सिटौलाले माहाधिवेशन पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी दिन आग्रहसमेत गरे। भने,'आउनुस महाधिवेशनमा सदस्यमा लडनुस् र जित्नुस्। महाधिवशेनमा अहिले बढी अवसर छ।'

क्रियाशील सदस्यता बाँड्ने समय भएकाले अहिले कार्यकर्तालाई विषेश परिस्थितिमा वाहेक जिल्लामै बस्न् सुझाव दिए सिटौलाले।

'आफ्नो जिल्लामा मात्रै ध्यान दिनुस्। तपाई आवश्यक परेको बेलामा जिल्लामा नहुने अरु बेलामा गुनासो गरेर केही काम छैन', उनले भने।

उनले आफ्नो गुटमा कांग्रेसको नेतृत्व गर्ने क्षमता भएको बताए।

'तपाइहरु जे भन्नुस, वैकल्पिक समूह भन्नुस् तेस्रो समूह भन्नुस् यो एकदमै विस्तारित छ। हामीसँग कांग्रेसलाई नेतृत्व दिएर देशको परिस्थितति बुझ्नसक्ने क्षमता छ', उनले भने।

उनले बदलिँदो परिस्थितिलाइ बुझेर अघि बढने क्षमता आफ्नो समूह सक्षम भएको दाबी गरे। आफ्नो टिम विस्तारित र स्वतस्फुर्त टिम भएको पनि उल्लेख गरे। पार्टीलाई नेतृत्व दिनसक्ने तागत यही समूहमा भएको दाबी सिटौलाको थियो।

महिला नेतृत्वको खोजी, सबै म भन्दा बुढा देखिए

भेलामा सिटौलाले आफ्नो गुटमा महिला नेतृत्वको कमी भएको धारणा राखे। धन खतिवडा र मुक्ताकुमारी यादवतिर देखाउँदै उनले सोधे, 'खै ३३ प्रतिशत?'

कांग्रेसमा झिंगे प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले मौरी स्वभाव बनाएर अघि बढ्न सुझाव दिए। प्रेरणात्मक मन्तव्यमा बढी समय लगाउँदै सिटौलाले भने, 'दोष लगाउने बानी छाडौं। केही न केही क्षमता सबैसँग छ। यो बुझेर अघि बढौं। मौरी स्वभाव समातौ। मौरी र झिंगा उस्तै हुन्छ नि। एउटा फोहोर टिप्दै हिँड्ने अर्को रस बटुल्दै हिँड्ने।'

नेतृत्वका लागि सबै अघि बढ्न आग्रह गर्दै उनले भने, 'यहाँ म भन्दा बुढो देख्छु। मेरो गुनासो छ। उमेरले मेरो भाई सरह छोरी बहिनीजस्तो। पार्टी हाँक्न अघि बढ्नुस्। आफै दब्नुहुन्छ भने जनता दबाउने सरकारसँग लड्नुहुन्छ कसरी?'

गगनले दिए साथ दिने वचन

अघिल्लो महाधिवेशनमा सिटौलको समूहबाट महामन्त्रीका उम्मेद्वार रहेका सिटौलालाई साथ दिएर अघि बढ्ने बताए।

भेलामा थापाले सिटौलाको नेतृत्वमा शक्ति बढाएर परिर्वतनको पक्षमा उभिने बताए।

'शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने हो,' उनले भने। नेपाली कांग्रेसले विधान मिचेर विभाग गठन गरेको भन्दै उनले सभापति शेरबहादुर देउवाको आलोचना गरे।

'पार्टीमा एकपछि अर्को निर्णय हुँदा हामीले ताली बजाएर हो मा हो भनिदिनपर्ने?' थापाले प्रश्न गर्दै भने, 'अहिले विभाग बनाउनु गलत।'

उनले सभापतिको सबैभन्दा मुख्य जिम्मेवारी महाधिवेशन गराउने भएको बताए। 'सभापतिको सफलता असफलता महाधिवेशन समायमा गराउन सक्नु हो,' उनले भने, 'इन्तु परन्तु केही नभनेर महाधिवेशन गर्नुपर्छ।'

विधान मिच्ने काम बन्द गर्न उनले देउवालाई चेतावनी दिए। उनले पार्टीलाई ठिक ठाउँमा राख्न आफ्ना समूहका नेता कार्यकर्ताको महत्वपूर्ण भुमिका भएको बताए।

'प्रतिपक्षको भुमिकामा हामी चुकिरहेका छौँ। पार्टीभित्र हाम्रो अर्को जिम्मेवारी छ, पार्टीलाई ठीक ठाउँमा राख्ने। कोही नेता अलमिलिनु जरुरी छैन। विधानको पालना गराउने पक्षमा हामी कृष्ण सिटौलाको नेतृत्वमा अघि बढ्छौ।'

सिटौलाकै पक्षमा उभिने प्रदीपको प्रतिवद्धता

युवा नेता प्रदीप पौडेलले आफू सिटौलाकै पक्षमा रहेको बताए। भने, 'हामी जहाँ थियौं त्यही छौ। पहिलो पनि होइन। दोस्रो पनि हैन। थर्ड पोल हो।'

पार्टी मुद्दाबाट विमुख भएको आरोप लगाउँदै उनले सभापति गुट बलियो बनाउनमात्र लागिपरेको दाबी गरे। भने, 'कहिलेकाही मुद्दाबाट विमुख भएको भन्ने पनि देखिन्छ। प्रतिपक्ष नै हैन जस्तो गरी बोलिरहेको छ काँग्रेस। कुमार पौडेलका पक्षमा ६-७ दिन संसद अवरुद्ध हुन्छ। तर मन्त्रीको अडियो प्रकरणमा बोल्दैन। पार्टीको नेतृत्व के विषयमा केन्द्रित हुनुपर्ने हो? भएको छैन। गुट बलियो बनाउनमात्र लागिपरेको छ।'

महाधिवेशनको प्रक्रिय अवरुद्ध भएको उल्लेख गर्दै उनले तोकिएको समयमा महाधिवेशन हुनेमा शंका व्यक्त गरे। 'पार्टीको नेतृत्व जनताको बीचमा उपस्थिति जनाउन गम्भीर भएन। चार वर्षसम्म अधिवेशनको लागि केही काम भएन। समायोजन आधी पनि भएको छैन। तीन पटक म्याद थप्दा पनि। अधिवेशन जोखिममा पर्ने देखिन्छ। तोकिएको समयमा महाधिवेशन नभए पार्टी जोखिममा पर्छ।'

कांग्रेसलाई बलियो बनाउन सिटौला समूहको सक्रियता चाहियो

नेता भीमसेनदास प्रधानले अब कांग्रेस बलियो बनाउन सिटौला समूहले नै सक्ने दाबी गरे। उनले सिटौलाको समूह वैचारिक समूह भएको उल्लेख गर्दै यसका पनि केही कमजोरी रहेको बताए।

'हामी वैचारिक समूह हो। तर, वैचारिक समूह भनेर हामी अघि बढेनौ। त्यसपछि देउवालाई स्विकार्दै आयौ,' उनले भने, 'अहिले पार्टी नेतृत्वको चर्को आलोचना छ। देउवालाई सम्झाउन सकिन्न अब।'

नेताको घरघरमा बैठक राख्न नहुने उनको तर्क रह्यो। प्रधानले भने, 'नेताको घरघरमा बैठक बसेर कांग्रेस कहाँ पुग्छ? पार्टी अफिसमा राखौ। तीन नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सँगै बसेर वृहद् छलफल होस् न। वैचारिक समूहले यो पहल गर्नुपर्नेछ अब।'

महाधिवेशनको माहोल तताउने बेला भएको छैन

सभापति देउवाले फागुन १७ गते श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख तोकेपछि सिटौला क्याम्प छाडेको आरोप लागेका नेता शिव हुमागाईले महाधिवेशनको माहोल तताउने बेला भइनसकेको बताए। उनले टिम बन्नुको कारण कमजोर व्यवस्थापन भएको तर्कसमेत गरे। भने,'कोरोनाका कारण त्रसित छ संसार। महाधिवेशनउन्मुख छ कांग्रेस।

पार्टीले महाधिवेशनलाई प्रतिस्पर्धाका रुपमा लिएको छ। यो राम्रो शुरुवात हैन। विधानको समस्या हुन सक्छ। टिम बन्नुको कारण। अहिलेको कमजोरी व्यवस्थापन हो। नेतृत्वले व्यवस्थापकीय रुपमा राम्रो गरेमात्र राम्रो हुन्छ। माहोल तताउने बेला भइसकेको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell