PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोनाले इटालीमा ४८ घण्टामा ७१७ जनाको मृत्यु, क्यानडा, स्पेन र रूसमा प्रवेश प्रतिबन्ध



पहिलोपोस्ट

कोरोनाले इटालीमा ४८ घण्टामा ७१७ जनाको मृत्यु, क्यानडा, स्पेन र रूसमा प्रवेश प्रतिबन्ध
PHOTO : Anadolu Agency

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इटालीमा पछिल्लो ४८ घण्टामा ७ सय १७ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोरोना संक्रमित संख्या २७ हजार ९ सय ८० पुगेको छ। २ हजार ७ सय ४९ जना उपचारपछि घर फर्किएका छन्।

यसअघि आइतबार ३ सय ६८ जनाको मृत्यु भएकोमा सोमबार थप ३ सय ४९ जनाको मृत्यु भएर पछिल्लो ४८ घण्टामा मर्नेको संख्या ७ सय १७ पुगको हो। कोरोनाबाट कुल मृत्यु हुनेको संख्या भने २ हजार १ सय ५८ पुगेको छ।

इरानमा थप १२९ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ८५३ पुगेको रोयटर्सले जनाएको छ। करिब १५ हजार संक्रमित छन्। चीनमा सबैभन्दा बढी ३ हजार २ सय १३ जनाको मृत्यु भएको छ। यद्यपी चीनमा मृत्युदर घट्दो छ।

जोहन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट विश्वभर ७ हजार १ सय २६ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८१ हजार ५ सय ४६ जना संक्रमित छन्। ७८ हजार मानिस उपचारपछि घर फर्किएका छन्।

कोरोनाको संक्रमण बढ्दै जाँदा क्यानडाले विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कोरोना भाइरसको संक्रमण रोक्न तत्कालका लागि आफ्ना नागरिक तथा क्यानडाका स्थायी बासिन्दाबाहेक अन्यलाई प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। यसका लागि नाका बन्द गरिने उनले जानकारी दिए। तर, यो प्रतिबन्ध अमेरिकी नागरिहरुमा भने लागु हुनेछैन।

त्यसैगरी स्पेन र रूसले पनि सीमा शिल गरेको छ। जर्मनीले पनि प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell