ललितपुरको बालकुमारी बस्छन् नारायण महर्जन। ललितपुर महानगरपालिका वडा ८ को प्रतिनिधित्व गर्दै महर्जन खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (नास्ट) पुगे।
उद्देश्य – स्यानिटाइजर बनाउन सिक्ने। कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिने त्रासमा बजारमा मास्क र स्यानिटाइजरको अभाव भएसँगै ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई स्टानिटाइजर बनाउने तालिम दिइरहेको छ। आइतवारबाट नास्टको प्राविधिक सहयोगमा महानगरपालिकाले प्रत्येक वडाबाट निश्चित व्यक्तिहरुलाई स्यानिटाइजर बनाउने सिकाउन थालेको हो।
नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. सजनलाल स्याउला नेतृत्वको टोलीले महर्जनसहित विभिन्न वडाका ९ जनालाई आज स्यानिटाइजर बनाउन सिकाएका थिए।
विज्ञानको विद्यार्थी भएकाले पनि होला महर्जनमा स्यानिटाइजर बनाउने हुटहुटी थियो। त्यसैले प्रतिस्ठानकी असिस्टेन्ट रिसर्च फेलो ऋचा गुप्ताले घरेलु मदिराको प्रयोग गरेर स्यानिटाइजर बनाउने विधि भनिरहँदा उनी हरेक कुरा टिपोट गर्दै थिए। स्यानिटाइजर बनाउन चाहिने केमिकलको समिश्रणका बारेमा बारम्बार सोध्दै थिए। तालिम लिन पुगेका अरुलाई पनि सिकाउँदै थिए स्यानिटाइजर बनाउने फर्मुला।
फर्मूला त जाने। अब कहिले बनाउने त स्यानिटाइनर घरमै।
‘बनाउन निकै सजिलो रहेछ। चाहिएको बेला हामीले घरमा नै अब स्यानिटाइजर बनाउन सक्छौं। त्यसका लागि केही केमिकल र उपकरणहरु चाहिन्छ। त्यो पनि बजारमा सहजै पाइन्छ। आपतको बेलामा स्थानीयहरुमा स्यानिटाइजर बनाएर वितरण गर्न महानगरले पनि सहयोग गर्छ,’ उनले भने।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि बजारमा स्यानिटाइजर भेटाउनै गाह्रो भएको छ। जहाँ भेटाइन्छ त्यसको मूल्यले दोब्बरले वृद्धि भएको छ। त्यसैले आपतको बेलामा स्थानीय दक्ष जनशक्तिको प्रयोग गर्दै सामुदायिक हितमा काम गर्ने योजना सहित स्यानिटाइजर बनाउने तालिम दिएको बताउँछन् ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन।
‘बजारमा स्यानिटाइजरको अभाव सुरु भएसँगै हामीले त्यसको विकल्पको बारेमा छलफल गर्यौं। स्थानीय कच्चा पदार्थबाटै स्यानिटाइजर बन्न सक्छ भनेर पुष्टि भएसँगै हामीले नास्टको प्राविधिक सहयोगमा प्रत्येक वडाका स्थानीयलाई तालिम दिने निर्णय गर्यौं।’
नास्टसँग मिलेर महानगरले प्रत्येक वडाबाट निश्चित व्यक्तिलाई स्यानिटाइजर बनाउने तालिम त दियो। ती व्यक्ति र महानगरले वडावडामा स्यानिटाइजर बनाउन सकाउने योजना बनाएको छ। तर, स्यानिटाइजर बनाउन चाहिने उपकरणको अभावमा सबै जनाले घरमा नै स्यानिटाइजर बनाउन सक्ने अवस्था पनि छैन। त्यसैले स्यानिटाइजर बनाउने चाहिने उपकरण किन्ने योजना बनाएको छ। जसबाट आपतको बेलामा समुदाय मिलेर स्यानिटाइजर उत्पादन गर्न सक्नेछन्।
प्रमुख महर्जनले स्यानिटाइजरसँगै मास्क बनाउने तालिमसमेत महानगरले दिइसकेको बताए। सुतीको कपडा, सिरकको खोलले बनाइएका मास्क छिट्टै बजारमा उपलब्ध हुनेछ।
कसरी बनाउने घरेलु मदिराबाट स्यानिटाइजर
विश्व स्वास्थ्य संगठनले स्यानिटाइजर बनाउन निश्चित मापदण्ड बनाएको छ। ७५ प्रतिशत देखि ८० प्रतिशतसम्म ‘अल्कोहल’ (इथानोल) भएको मदिरा स्यानिटाइजर बनाउन प्रयोग गर्न सकिन्छ। बजारमा पाइने अधिकांश मदिराहरुमा यो मात्रा पाइँदैन। घरमा बनाइने मदिरामा समेत यति ठूलो संख्यामा अल्कोहल हुँदैन। त्यसैले घरेलु मदिरामा अल्कोहलको मात्रा बढाउन पर्छ।
गुप्ता भन्छिन्, ‘घरेलु मदिरामा ३० देखि ४५ प्रतिशतसम्म मात्रै इथानोल हुन्छ। बजारमा इथानोल पनि पाइन्छ। बजारमा इथानोलको अभावसमेत भयो भने घरमा नै भएको मदिराको प्रयोग गर्न सकिन्छ। तर घरमै उत्पादन हुने मदिरालेमै मात्रै स्यानिटाइजर बनाउन सकिँदैन। त्यसलाई डिस्टिल गरेर तताएर इथानोलको मात्रा बढाउनुपर्छ।’
घरेलु मदिरामा अल्कोहलको मात्रा बढाइसकेपछि त्यसमा हाइड्रोजन पेरो अक्साइड र ग्लिसरिन मिसाएर स्यानिटाइजर बनाउन सकिन्छ। आफूलाई चाहेको खण्डमा मिन्ट वा तेल मिसाएर त्यसमा सुगन्ध थप्न सकिन्छ।
ग्लिसरिन र हाइड्रोजन पेरोअक्साइडको मात्रा मिलाएर मात्रै स्यानिटाइजर बन्छ। पेरोअक्साइडको मात्रा बढी भएमा त्यसले छालालाई असर गर्न सक्छ। त्यसलै यसलाई परिणाम मिलाएर मात्रै घरेलु मदिरा मिलाउनु पर्छ। सकेसम्म हातमा गल्भस लगाउनुपर्छ।
१०० एमएल स्यानिटाइजर बनाउनका लागि मेजरिङ सिलिन्डरमा ५.६२ एमएल छोडेर डिस्टिल गरेको इथानोल राख्नुपर्छ। त्यसपछि ग्लिसरिन १.४५ एमएल र हाइड्रोजन पेरोअक्साइड ४.१७ एमएल राख्नुपर्छ। बजारमा ६ प्रतिशतको मात्रै हाइड्रोजन पेरोअक्साइड पाइन्छ। स्यानिटाइजर बनाउँदा त्यसको मात्रा घटाउनुपर्छ। सबैको समीश्रण पूरा भएपछि बन्छ स्यानिटाइजर।
बजारमा पाइने स्यानिटाइजर जेल जस्तै हुन्छ। तर यसरी घरेलु मदिरा प्रयोग गरेर बनाइने भने तरल हुन्छ।
गुप्ता भन्छिन्, ‘सबै स्यानिटाइजर डब्लुएचओको मापदण्ड अनुसार नै बन्ने हो। सबैको काम एउटै हो ब्याक्टेरिया र मार्ने। अहिले बजारमा स्यानिटाइजरको अभाव हुँदा घरमै भएको मदिरा प्रयोग गरेर स्यानिटाइजर बनाउन हामी सक्छौं भनेर यो तालिम दिइएको हो।’
स्यानिटाइजर राम्रो कि हात धुनु राम्रो?
डब्लुएचओले नै ‘अल्कोहल’बाट स्यानिटाइजर बनाउन सकिन्छ भनेर प्रस्ताव गरेको छ। जुनसुकै बेला जहाँ पनि स्यानिटाइजर सजिलै प्रयोग गर्न सकिने हुनाले बाहिर जाँदा मानिसको हातमा हुन सक्ने भाइरस र ब्याक्टेरिया यसले सजिलै मार्छ। तर, स्यानिटाइजरको प्रयोग गर्नुभन्दा हात धुनु नै उपयुक्त हुने तर्क पनि भएका छन्।
नास्ट र ललितपुर महानगर मिलेर आपतको बेलामा प्रयोग गर्ने गरी तालिम दिइरहँदा केहीले भने वैज्ञानिक सुपरिवेक्षण बिना समुदायले घरमा नै स्यानिटाइजर बनाउनु खतरा हुने तर्कसमेत गरिएका छन्। धेरै मात्रामा स्यानिटाइजरको प्रयोगले हातको छालामा असर गर्ने कुराहरु सार्वजनिक भएका छन्।
यसबारे नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. स्याउला भन्छन्, ‘एकैपटक स्यानिटाइजरको अति धेरै प्रयोग गर्दा केही असर गर्ला। तर थोरै प्रयोग गर्दा यसले केही असर गर्दैन। डब्लुएचओले नै प्रयोग गर्नुहुन्छ भनेर भनेको कुरालाई गलत भन्न मिल्दैन। अल्कोहल हातमा धेरै बस्दैन। त्यसलै त ग्लिसरिन हामी प्रयोग गर्छौं। ग्लिसरिन त हामी अन्य समयमा पनि प्रयोग गरिरहेका हुन्छौं। यसले असर गर्दैन। बरु बजारमा पाइने अरु स्यानिटाइजरमा अरु रसायनहरु मिलाएको हुन सक्छ।’
रिसर्च फेलो गुप्ता साबुन पानीले हात धुनु राम्रो भएपनि त्यसले सबै भाइरस समाप्त नगर्ने बताउँछिन्। भन्छिन्, ‘साबुन पानीले हात धुँदा त्यसले हातमा भएको सबै फोहोर सफा गर्छ। तर, त्यसले हातमा भएको जर्म्स वा ब्याक्टेरिया मार्छ भन्ने छैन। इथानोल भएको स्यानिटाइजर प्रयोग गर्दा भने त्यसले बढी काम गर्छ।’