PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी वर्दीमा नै दैलेखमा



रासस

चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी वर्दीमा नै दैलेखमा

दौलेखः चोर पक्राउ गर्न भन्दै भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले भारिय रुपैयाँ ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्। 

आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए।  दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिए।

भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ। उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चार जनाको टोली दैलेख आएको हो।  भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहितको चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए।

भारतमा काम गर्दै आएका दैलेखका एक युवक झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन्। “उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौं,” प्रहरी निरीक्षक आचार्यले भने, “भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरु हाम्रो सम्पर्कमा आफैँ आएका हुन्।”

प्रदेश नम्वर ५ र कर्णाली प्रदेश हुँदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदूर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell