PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

प्रदेश २ को राजधानी जनकपुर : नाम 'जानकी' कि 'मधेश'? निर्णयका लागि मतदान हुँदै



राधेश्याम पटेल

प्रदेश २ को राजधानी जनकपुर : नाम 'जानकी' कि 'मधेश'? निर्णयका लागि मतदान हुँदै

वीरगंज : प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको लागि प्रदेश सभामा चुनाव भइरहेको छ। नाम र राजधानी टुंगो लगाउन गोप्य मतदान हुने कार्यक्रम राखिएको छ। नाम र राजधानीको टुंगो गोप्य मतदानबाट गर्ने र त्यसको सबै तयारी भइसकेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।

मतदान अघि प्रदेश सांसदहरुलाई बोल्न चाहने सांसदलाई ५ मिनेटको समय दिइने कार्यक्रम रहेको उनले बताए। छलफल सकिएलगत्तै मतदान हुनेछ। प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ। यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन। प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन्। 

कांग्रेसले ‘मिथिला–भोजपुरा’ र सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन्।

यसअघि प्रदेशको नामको सवालमा सहमति गर्न धेरै पटक बेठक बस्दा पनि सहमति हुन सकेको थिएन। राजनीतिक सहमति भए पनि मतदान गराउनैपर्ने भएका कारण चुनाव गराउन लागिएको प्रदेश सचिवालयको तयारी छ।

कुल १ सय ७ सांसद रहेको प्रदेश २ मा सत्ता साझेदार राजपासँग २५, समाजवादी पार्टीसँग ३०,प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र नेपा संघीय समाजवादी पार्टीसँग १ जना प्रदेश सांसद छन्। नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन। 

यसअघि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो। विशेष समितिमा पनि दलहरुबीच स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भए पनि नामको विषयमा सहमति भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell